ananta gurung

विभाजित नेपालको दुष्प्रभाव देखिन थाल्यो

राजनीति लेख

दलहरुले नेपाल राष्ट्रलाई विभाजित तुल्याएको छ । नेपाल प्रहरीको संगठन भित्र दलहरुले आफ्ना राजनीतिक कार्यकर्ताहरुलाई भर्ना गरेको हुँदा राजनीतिक आस्था अनुसार नेपाल प्रहरीका अधिकारीहरु र जवानहरु बिभाजित भएका छन । बिभाजित मनस्थितिमा भएका एक दलकाले अर्का दलकालाई देखीनसहने स्थिति अहिले नेपालमा बिद्यमान छ ।

नेपालका निजामती कर्मचारीहरु पनि त्यसरी नै बिभाजित भएका छन । कुनै एउटा राजनीतिक दलमा आस्था भएका निजामती कर्मचारीहरुले अर्का दलमा आस्था भएका वा आस्था राख्नेहरु जोकोहिलाई पनि खेदा गर्ने अवस्था नेपालमा श्रृजना भएका छन । यस्तो अवस्थामा आम नेपाली जनतालाई सरकारी सेवा लिनको लागि पनि निकै धाउधाउ पर्ने गरेको छ । कुनै न कुनै राजनीतिक दलका नेताहरुलाई नसमाई वा पछाडि नलागि मामुली सरकारी काम गर्न वा गराउन पनि नसकिने भएको छ ।

दलका नेताहरुले आफ्नो प्रभाव बढाउनको लागि निजामती कर्मचारी संगठनहरु बनाएका छन जस्ले गर्दा नेपालका निजामती कर्मचारीहरु बिभिन्न राजनीतिक दलका निजामती कर्मचारी संगठनहरु खोलेर बिभक्त भएकाछन । नेपाल प्रहरी भित्र त्यस्तो दलगत संगठनहरु नखोलिएको भएतापनि कुनै पनि राजनीतिक दलले आफु सत्तामा भएको बेलामा आफ्ना झोलेहरुलाई नेपाल प्रहरी सेवामा छिराएर नियुक्ती दिल्याउन कुनै कसर बाँकी राखेका छैनन् । राष्ट्रिय अनुसन्धान बिभाग जस्तोमा त झन आफ्नालाई सुराकीमा नियुक्त गरी बिरोधी दलकाहरुलाई तह लगाउने कामहरु बिगत देखि हुँदै आएको छ ।

हिजोअस्ति लालितपुर जिल्लाको बालकुमारीमा भएको गोली काण्ड पनि त्यसैको परिणाम हो । साधा पोशाकका नेपाल प्रहरीले गोली हानेको भन्ने चर्चा एकातिर चलेको छ भने प्रमुख जिल्ला अधिकारीले गोली हान्ने आदेश नदिएको जनाएका छन । यस्तोमा किन कसले गोली चलायो र दुई बिद्यार्थीको हत्या भयो भन्ने कुराले नेपाली जनताको मनस्थितिलाई पिरोलीरहेको छ । सत्यता जेसुकै भएतापनि त्यो नेपालको दलिय राजनीतिले फैलिएको बिभाजन कै परिणाम हुन । एकले अर्का राजनीतिक दलमा लागेकाहरुलाई घृणा गर्ने र हेर्नै नसक्ने भएकाले नेपालको परिस्थिति झनझन जटिल बन्दै गएको छ ।

काम कुरा अब भित्रभित्रै एकले अर्का दलमा आस्था राख्नेहरुलाई मार्ने वा सफाय गर्ने सम्मको अवस्थामा पुगीसकेको कुरा ललितपुरको बालकमारीमा भएको गोली काण्डबाट पुष्टी भएको छ । पहिले नेपालमा राजतंत्र हुँदा राजा र राजमुकूटलाई नेपाली जनताले एकताको प्रतिक मानेर चल्ने गरेको थियो । त्यो बेला नेपालमा भएको अनेकता भित्र पनि एकता कायम रहेको थियो । नेपाल राष्ट्रलाई चार जात छत्तिसवर्णको फुलवारी हो भन्ने कुरामा सबै नेपाली जनताको आस्था र बिश्वास टिकेको थियो ।

नेपालका तत्कालिन राजाले पनि राजा सबको साझा हो भन्ने जनभावनाको ठुलो कदर गरेका थिए । कसैलाई लाखा र कसैलाई पाखा गर्ने राजनीति त्यो बेला नेपालमा चलेको थिएन । अहिले नेपालबाट राजतंत्र हटीसकेपछि राजाको ठाउँमा दलहरुले नै अप्रत्येक्ष मतदानबाट चुनेका कुनै एक दलका नेता नै नेपालको राष्ट्रपति बन्ने गरेको छ । त्यस्तो राष्ट्रपति माथि नेपाली जनताको आस्था र बिश्वास पटक्कै छैन । त्यसरी चुनिएर आएको राष्ट्रपतिले पनि राजाले जस्तो तथस्ट भूमिका कहिले पनि निर्वाह गर्न सकेको देखिएको छैन ।

नेपालमा भ्रष्टाचारका अनेक काण्डहरु सत्तामा बसेका दलका नेताहरुबाटै भएकाछन तर नेपालको राष्ट्रपतिले तिनीहरुकाविरुद्ध कार्यबाही चलाउन त परैजावास चुईक्क बोल्न समेत सकीरहेका छैन । स्वयम राष्ट्रपतिले नै सत्तामा बसेका दलहरुको भरिया जस्तो बन्दै जघण्य अपराध गरी जेल परेका सत्तासिन दलहरुको झोलेहरुलाई आम माफी दिएर जेलमुक्त गर्ने काम गरेकाछन ।

यसबाट के प्रामाणित भएको छ भने अहिलेको राष्ट्रपति पहिलेको राजा जस्तो तथस्ट छैन र नेपाली जनताको एकताको प्रतिक पनि बन्न सक्दैन । ललितपुर बालकुमारीमा सरकारी पक्षबाट भएको नेपाली जनता माथिको ज्यादती र गोली काण्डबारे राष्ट्रपति मौन बस्नुले पनि स्थितिलाई झनै नाजुक तुल्याइदिएको छ । यस्तो कुरा गर्दा केही विद्वानहरुले भारतमा पनि त्यसरी नै राष्ट्रपति चुनिन्छ र भारतलाई एकढिक्का बनाएर अगाडि बढाउन सफल छ भन्छन । भारत महासगर झै बिशाल देश भएको हुँदा त्यसमा एक दुई गाग्रोबाट पानी खन्याउँदैमा कुनै फरक पार्दैन । तर नेपाल भने सानो मुलुक भएको हुँदा सानातिना घटनाहरुले पनि निकै फरक पार्ने गरेको छ ।

लगभग तीन करोड जनसंख्या भएको नेपाल देशमा एक करोड भन्दा बढी नेपाली युवाहरु वैदेशिक रोजगारीमा गएका छन् । बाँकी बसेका दुई करोड नेपालीको व्यवस्थापन पनि राजनीतिक दलका नेताहरुले राम्रो सित गर्न सकीरहेका छैनन् । भागबण्डाको राजनीति र हानाथापले नेपालमा ठुलो प्राथमिकता पाईरहेको छ । स्वतन्त्र रहनु पर्ने नेपाल प्रहरीको राजनीतिकरण पनि त्यसैको परिणाम हो । निजामती कर्मचारीहरु ट्रेडयुनियन खोलेर नै बिभाजित भएर बसेका छन र नेपाली जनतालाई दिनुपर्ने सेवामा उहाँहरुको कुनै ध्यान पुगेको छैन ।

जहिले पनि निजामती कर्मचारीहरुले दलहरुको राजनीतिक संगठनको रुपमा संगठित भएर नेपाली जनताले एक नागरिको रुपमा स्वतः स्फूर्त पाउनु पर्ने सेवाहरुलाई बाँधित तुल्याउँदै आएका छन् । नेपालको यस्तो अवस्थालाई सुधार गरी परिवर्तन गर्न वा ल्याउनमा दलका नेताहरुको कुनै चासो र प्रतिबद्धता अहिले सम्म आएको छैन । नेपाली जनता त्यस्ता नेताहरुलाई देखेर आजित भइसकेका छन । धमिलो पानीमा माछा मारी खान पल्केका दलका नेताहरुले आफैलाई सुधारेर नेपालको अवस्थालाई पनि सुधार्ने प्रयास गर्न तिर ध्यान दिन सकीरहेका छैनन् ।

दलहरुले आफ्नो कुप्रभावमा नेपालको स्वतंत्र न्यायपालिकालाई पनि पारीसकेका छन । स्वतंत्र र निष्पक्ष बनेर निसाफ दिनु पर्ने श्रीमानहरुलाई नै राजनीतिक भागबण्डाको आधारमा नियुक्त गरी न्यायको क्षेत्रमा पनि दुषित अवस्था श्रृजना गरीसकेका छन । यो हुँदा न्यायपालिका प्रति नेपाली जनताले राजतंत्रको पाला देखि नै राख्दै आएको भरोसा र विश्वासहरु खण्डित भएकाछन । नेपालको न्यायपालिका भित्र पनि दलहरुको काम कारबाहीले गर्दा भ्रष्टाचारको दुर्गन्ध फैलिसकेको छ ।

अहिले सम्म नेपाली सेना भित्र भने दलहरुले राजनीतिक घुषपैठ गर्नसकेको छैन । तर त्यसको लागि दलहरुले निरन्तर प्रयास जारी राखेको हुँदा ढिलो चाँडो नेपाली सेना भित्र पनि दलहरु आफ्नो कुप्रभाव फैलाउन सक्ने संभावना बढेको छ । दलहरुले नेपाली सेनालाई बिकास निर्माणको काममा लगाएर पहिले जर्नेलहरुलाई भ्रष्ट पारी त्यसपछि आफ्ना कुत्सित सोचलाई कार्यान्वयन गर्दै लाने रणनीति अनुसार नै अगाडि बढेकाछन । अहिले नेपाली सेना शान्ति स्थापना र बिकास निर्माणको काममा निरन्तर लागि परेको छ ।

नेपालको परिपेच्छमा उहिलेको जस्तो अहिले नेपाली सेनाले युद्ध लडीरहनु पर्ने अवस्था छैन । तैपनि शान्ति स्थापना कार्य युद्ध भन्दा पनि कठिन हुने भएको हुँदा शान्ति स्थापनाको लागि बिकास निर्माण कार्यको पनि उत्तिकै महत्व रहेको छ । नेपाली सेनाको नेतृत्वलाई प्रभावित तुल्याएर नेपाली सेनाको राजनीतिकरण गर्ने कार्य त्यति सजिलो त छैन तैपनि विकसित घटनाक्रमले त्यसतर्फ पनि नेपाली जनता सजक भएर बस्नु पर्ने देखिन्छ । नेपाली सेनाले राष्ट्रिय चरित्र गुमाउन पुगेको खण्डमा नेपालमा ललितपुर जिल्लाको बालकुमारीमा भएको हत्या काण्ड जस्तो काण्डहरु नेपालमा धेरे हुन सक्ने सम्भावना बढेर जाने निश्चित नै छ ।

दलहरुले राजतंत्र कालमा स्थापित राम्रा प्रणालीहरु सबै भत्काईसकेका छन तर त्यसको ठाउँमा नयाँ प्रणाली बनाउन सकेका छैनन् । दलहरु आफै अनुशासनहिन भएको हुँदा नेपाली जनतालाई अनुशासित बनाएर मुलुकलाई अगाडि बढाउन सक्ने क्षमता छैन । आफ्नो दलिया स्वर्थहरु पुरा गर्नको लागि मात्रै तीन ठुला दलहरु नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र एक ढिक्का हुन्छन तर बिकासको कुरामा तिनीहरु नदीका दुई किनारा झै कहिले मिल्दैनन् ।

दलहरुको यस्तो चालामाला देखी भोगी सकेपछि नेपाली जनता वाक्कदिक्क भएकाछन त्यसैले पुरानो राजतंत्र राम्रो भन्दै राजतन्त्र र वैदिक सनातनी हिन्दूराष्ट्रको वापसीको लागि आवाज बुलन्द तुल्याएका छन । दलका नेताहरु केवल दलका मात्रै भएर सीमित हुन पुग्यो र राजा जस्तो सबै नेपाली जनताको साझा दलका नेताहरु कहिले पनि बन्न सकेनन् । आफ्नो निजी परिवारिक स्वार्थ पुरा गर्नको लागि लिप्त भएर दलका नेताहरु जुका झै सत्तामा टाँसिएर बसेका छन । ईमान्दारी पूर्वक काम गरी कमाएर खाने नेपाली जनताको लागि दलहरुले ल्याएको संघियता र गणतंत्र साह्रै नै बोझिलो सावित भएको छ । अनुशासनहीन दलका नेताहरुले आफ्नो स्वार्थ पुरा गर्नको खातिर नेपाली जनताको गाँस, बास र कपासलाई हडपेका छन् ।

अपराध प्रवृत्तिमा नलागेका आम नेपाली जनताले सहरका घर घरेटीहरु किन्नै नसक्ने हुनुमा दलका नेताहरु सित मिलेर घरजग्गाको कारोवारी चलाउने दलालहरु कै कारण हो । भ्रष्टाचारीहरु र अपराधीहरुको कमाई खाँदै मोटाएको दलका नेताहरु पनि तिनीहरु सरह नै अपराधी हुन । नेपाली जनताको सुःख, शान्ति र अमन चयन दलका नेताहरुकै कारण हरन भएकाछन । नेपाली जनतालाई खरबौंको ऋणमा डुबाउने संघियता र गणतंत्रले नेपाली जनतालाई झन दुखी बनाउँदै लगेको छ । नेपाली जनता राष्ट्रिय ऋण, बिदेशी हस्तक्षेप, भ्रष्टाचारीहरु, अपराधीहरु, मानव तस्करहरु, सुन तस्करहरु अदिबाट असुरक्षित भएका छन ।

नेपाली जनताको धर्म र संस्कार दुबै जोखिममा परेका छन भने दलहरुकै कारण बिभाजित मनस्थितिमा भएकाहरुले नेपाली नागरिकलाई असुरक्षित तुल्याएका छन । बिभाजित नेपालको कारण दलहरुकै लागि पनि सत्ता गुमाउनु पर्ने अवस्था श्रृजना भएको छ भने नेपाली जनता आफ्नो राष्ट्रिय पहिचानको सुरक्षा दलहरुबाट नहुने देखेपछि राजतन्त्रलाई गुहार्न पुगेकाछन । दलका नेताहरुले बिभाजन गरी शसान गर्ने आफ्नो रणनीतिलाई त्यागी वैदिक सनातनी हिन्दूधर्मले निर्देशित सत्यको मार्गमा लाग्नै पर्छ अन्यथा पछि पश्चताप गर्नु बाहेक उहाँहरुको साथ केहि बाँकी बच्ने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *