अहिले सहकारी अभियान वद्नाम भएको वा पार्ने कोशिस गरिएको छ । केही सञ्चालक र नियत खराव भएका पहुँचवाला शेयर सदस्यहरुको कारण यस्तो देखिएको हो । आर्थिक मन्दीले पनि बेला बेलामा असजिलो पारेको छ । कतिपयलाई यहि कुरा बाहाना पनि भएको छ । सहकारीको मर्म भनेको सहकार्य हो । सहकारीमा त्यो हराउँदै गएको भान परिरहेको छ । सहकार्य वा सहकारीता वाहेक सवै हुन्छ सहकारीमा भन्ने भाष्य निर्माण गरिँदैछ । यहि परिवेश भैरहेमा सहकारीको सञ्चालक समितिमा बस्ने शेयर सदस्य पनि नपाउने दिन पनि टाढा हुँदैन जस्तो भैरहेको छ । हरेक क्षेत्रमा असजिलो छ अनी सहकारीमात्र शुद्ध खोज्नु पनि सहि विषय होइन ।
पक्कै हो, सहकारी अभियानमा चुनौतीहरु छन् । केही थोपिरिएका हुन् भने कतिपय अभियानबाटै सिर्जना भएका पनि छन् । मूलुकभर ३० हजारको हाराहारीमा सहकारीहरु छरिएर क्रियाशिल छन् । ती सवैले पैसाको कारोवार धेरथोर गरेका नैं हुन्छन् । करोडका हाराहारीमा शेयर सदस्यहरु होलान् । ती मध्ये कति प्रतिशत खराव होलान् त ? यो आंकडा केलाउने हो भने १ प्रतिशत भन्दा कम नैं हुने छ । तथापी खरावलाई सहि मान्न सकिन्न । सहकारीको मर्म अनुसार सञ्चालन हुनु पर्ने तर यसमा केही असजिला पक्षहरु पनि देखा परेका छन् । सहकारीको यो फैलावट हुनुमा नागरिकहरुको नैं अहंम भुमिका देखिन्छ । राज्यले कानून वनाउने, दर्ता गर्ने र रिर्पोट लिने वाहेक अरु कुरामा भूमिका खेलेको देखिन्न ।
सहकारीको मर्म अनुसार धेरै सहकारीहरु चलेका छन् । प्राय जसो सहकारी गठन हुँदा असल नियत र मर्म केन्द्रीत भैं स्थापना भएका हुन्छन् तर सञ्चालन गरिरहँदा केही धरमराएको देखिन्छ । मर्म अनुसार सञ्चालन गर्नु गराउनु सवै सञ्चालक र शेयर सदस्यको भूमिका हुन जरुरी छ । यहि परिवेशमा आज भन्दा १४ वर्ष अघि एक सहकारी स्थापना भएको थियो । अलिक फरक पृष्ठभूमिमा स्थापना भएको थियो । त्यो सहकारीको नाम ‘ग्रिन डेभेलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ रहेको छ ।
वन क्षेत्रमा सहजिकरण गरिरहेका व्यक्तिहरुको एक संस्था थियो र छ । त्यसको नाम समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपाल अनी छोटकरीमा ‘कफ्सन नेपाल’बाट परिचित रहेको छ । यो संस्थाका गतिविधिलाई निरन्तर वनाइरहन र सदस्यको आर्थिक समृद्धिमा टेवा पु¥याउने उपाय खोज्ने क्रममा यो सहकारी स्थापना भएको हो । कुनै पनि संस्था वा अभियानले दिगो हुनकोलागि तिनवाट पक्षमा ख्याल गर्नु पर्दछ भन्ने सोच त्यो बेलाको नेतृत्वले आत्मसात गरेको थियो ।
पहिलो वैधानिकता, दोस्रो संगठित र तेस्रो चाँही नियमित आर्थिक स्रोत हो । कफ्सन नेपालसँग पहिलो र दोस्रो पक्ष थियो तर तेस्रो पक्षको ठेगान हुँदैनथ्यो । त्यही भएर आर्थिक क्षेत्रमा काम गर्नकालागि यो सहकारी स्थापना भएको थियो । कफ्सन नेपालका सदस्यहरु मात्र शेयर सदस्य हुने गरी सहकारी दर्ता भएको थियो । सहकारीको मर्म अनुसार नैंं सहकारितामा जोड दिइरहेको छ ।
ग्रिन डेभेलप्मेन्ट बचत तथा ऋण सहकारी शेयर सदस्य प्रति पूर्ण रुपले निर्भर छ । काठमाडौंमा कार्यालय छ तर पसल पसलमा गएर बचत रकम उठाउँदैन । अनी बचत रकमलाई सञ्चालकहरुले नैं ऋण लिएर जग्गा र शेयर कारोवारमा लगानी गरिएको पनि छैन । तथापी व्यवसाय थालनी गरेका कतिपयलाई केही असजिलो परिरहेको छ । यस सहकारीका शेयर सदस्यहरु वन क्षेत्रका व्यवसायिक व्यक्तिहरु रहेका छन् । हरेक वर्ष साधारण सभा बस्ने गर्दछ । ७ जनाको चुस्त दुरुस्त सञ्चालक समिति रहेको छ ।
यस वर्ष भरखरै चौधौं साधारण सभा भएको छ । वागमती प्रदेश सभाको माननीय उपसभामुख अप्सरा चापागाई प्रमुख अतिथी रहेको साधारण सभाबाट ४ जना महिलाको प्रतिनिधित्व सहितको ७ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ । त्यस समितिमा संयोजक सहित २ जना महिला रहेका छन् । सहकारीको व्यवस्थापकको भूमिका विना श्रेष्ठबाट नैं सम्पादन भैरहेको छ । साधारण सभामा प्रगती प्रतिवेदन वार्षिक कार्यक्रम सचिव सुनिता श्रेष्ठ, आर्थिक प्रतिवेदन तथा अनुमानित बजेट कोषाध्यक्ष यशोदा कार्की र लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक निर्मला वजगाईवाट प्रस्तुत भएको थियो । व्यवस्थापक विना श्रेष्ठबाट सञ्चालन भएको सभामा उपाध्यक्ष दिल वहादुर श्रेष्ठले स्वागत मन्तव्य गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनहरु माथि उपस्थीत शेयर सदस्यहरुले छलफल तथा सुझावहरु प्रदान गर्नु भएको थियो ।
ग्रिन डेभेलपमेन्ट बचत तथा ऋण सहकारीको कुल पुँजी पौने २ करोडको हाराहारीमा रहेको छ । त्यस मध्ये आधा करोड भन्दा वढि शेयर पुँजी रहेको छ । यस्मा केही व्यक्तिवाट मात्र शेयर पुँजी लगानी गरेको पनि हैन । अर्थात एक लाख भन्दा वढि शेयर लगानी गर्ने कोही पनि छैनन् । यस सहकारीमा डेढसयको हाराहारीमा सदस्यहरु रहेका छन् । शेयर सदस्य थोरै भएको हुँदा सहभागीतामूलक छलफल गर्न पनि सजिलो भएको छ । कुल पुँजीको ९ प्रतिशतको हाराहारीमा जगेडा कोष रहेको छ ।
हरेक वर्ष सहकारीले मुनाफा कमाउन सकेको छ । ऋण लगानी प्रभावकारी रुपमा भैरहेको छ । केही सिमित सदस्यहरुले ऋण भुक्तानीमा कहिले कांही आनाकानी पनि भैरहेको पाइन्छ तर सामुहिक सहकार्य र पहलको कारण सहजता आउने गरेको छ । विना झन्झट छिटो छरितो रुपमा ऋण प्रवाह गर्ने गरेको छ । ऋण लगानी गर्दा १२ देखि १३ प्रतिशत व्याजको व्यवस्था मिलाएको छ । नियमित बचतमा ६ देखि १० प्रतिशतसम्म दिने गरिएको छ । यस सहकारीले बचत रकम झिक्न खोज्दा विना झन्झट तत्काल उपलव्ध गराउने गरेको छ । कसैले शेयर रकम फिर्ता माग्दा पनि सञ्चालक समितिको निर्णय अनुसार सहज उपलव्ध गराउने गरेको छ ।
यस सहकारीमा बौद्धिक क्षेत्रका व्यक्तिहरु रहनु भएको छ । सामाजिक रुपमा पहिचान भएकाहरु शेयर सदस्यहरु रहनु भएकोले लगानी र असुलीमा धेरै चिन्ता लिनु परेको छैन । यस सहकारीले विद्यावारिधी उपाधी हासिल गर्ने शेयर सदस्यहरुलाई सम्मान गर्ने संस्थागत परिपाटी विकास भएको छ । यस बर्षको साधारण सभामा डा. बिष्णुहरी पौड्याल र डा. गोविन्द प्रसाद पौडेललाई सम्मान गरिएको थियो । हरेक बर्ष उत्कृष्ट बचतकर्ता र असल ऋणीलाई सम्मान गर्ने गरेको छ । यस वर्ष उत्कृष्ट बचतकर्तामा लक्ष्मी कोइराला र असल ऋणीमा दिनेश श्रेष्ठ सम्मानीत हुनु भएको छ । शेयर सदस्यहरु मध्ये सार्वजनिक पद हासिल गर्नेहरुलाई सम्मान गर्ने गरेको छ ।
कफ्सन नेपाल, यो सहकारीको मातृ संस्था हो । कार्यालय पनि सँगसँगै रहेको छ । मानविय स्रोत पनि दोहोरो सहकार्य हुने गरेको छ । कुनै बेला मातृसंस्थाले महत्वपूर्ण योगदानका साथ हुर्काएको थियो तर अहिले ग्रिन डेभेलपमेन्ट बचत तथा ऋण सहकारी आफैं सञ्चालन हुने तरखरमा छ । यद्यपी मातृसंस्थाको भूमिका सधैं आवश्यक पर्दछ । ग्रिन डेभेलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाले सवै शेयर सदस्यहरुसँग नियमित समन्वय, सहकार्य र सिर्जनात्मक पृष्ठपोषण र सहयोगको अपेक्षा गरेको छ ।
सहकारी कस्तो हुने भन्ने कुरा शेयर सदस्यमा निर्भर हुन्छ । अगुवाई गर्ने सञ्चालक र लेखा समितिको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसै गरी व्यवस्थापकीय कार्य गर्ने कर्मचारीको पनि उत्तीकै स्थान रहेको हुन्छ । सबैको सहकार्यमा मात्रै सहकारी अझै उचो हुन सक्नेछ । बजारमा देखिएको चुनौतीको सामाना गर्न सञ्चालक र शेयर सदस्यहरुको सवैको इमान्दारीता आवश्यक पर्दछ ।