भूमि मन्त्रालयमा मन्त्री र सचिवको मनोमानी

राजनीति समाचार

काठमाडौं । भूमि, सहकारी तथा गरिवी निवारण मन्त्री बनेकी रञ्जिता श्रेष्ठ चौधरी यतिबेला विवादमा तानिन थालेकी छिन् । किन कि भूमि, सहकारी गरिवी निवारण मन्त्रालयले भूमि सुधार क्षेत्रमा भनेजस्तो काम गर्न नसकेको आरोप मन्त्री चौधरीमाथि लागेको छ । यतिबेला अधिकांश सहकारीहरु पनि सर्वसाधारणको पैसा हिनामिना गरी भाग्ने क्रम बढिरहेको छ । त्यसको रोकथाम गरी सर्वसाधारणको निक्षेप सुरक्षित गर्न नसकेको आरोप पनि मन्त्री चौधरीमाथि लागिरहेको छ ।

त्यस्तै देशभरका सरकारी जग्गा व्यक्तिले कब्जा गरेर भोगचल गर्ने, प्लटिङग गरेर कित्ताकाट गरी विक्रीवितरण गर्ने काम भइरहेका छन् । यसरी सरकारी जग्गा जथाभावी हिनामिना हुने क्रम बढिरहँदा त्यसप्रति मन्त्रीले ध्यान नदिएको गुनासो पनि त्यत्तिकै छ ।

उता, भूमि तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले मालपोत, नापी जस्ता मालदार ठाउँमा कर्मचारीहरु काजमा खटाउने र दाम असुली गर्ने गरेको आरोप पनि छ । उदाहरणको लागि कास्की मालपोत कार्यालयका अधिकृत रामचन्द्र अधिकारीलाई लिन सकिन्छ । अधिकारी गत मंसिर १३ गते कास्कीबाट बाग्लुङ मालपोतमा सरुवा भएका थिए ।

बाग्लुङका तत्कालीन मालपोत अधिकृत चिरञ्जीवी सापकोटा कास्कीमा सरुवा भएका थिए । तर, बाग्लुङ सरुवा भएका अधिकारीले मन्त्री र सचिवलाई नजराना टक्र्याएपछि फेरि कास्कीमै थमौती हुन पुगेको बताइन्छ । उता बाग्लुङबाट सरुवा भएर कास्की आएका चिरञ्जिवी सापकोटालाई फेरि बाग्लुङ नै पठाइएको बताइन्छ । कर्मचारीहरुको सरुवा र थमौतीले गर्दा मन्त्रालयअन्तर्गतको भूमि सुधारसम्बन्धी कामहरु अलपत्र अवस्थामा छन् । उता, नागरिक उन्मुक्ति पार्टीको खाँटी कार्यकर्ता भन्दै केही व्यक्तिले विभिन्न मालपोत र नापी कार्यालयबाट पैसा असुली गर्नेको ताँती पनि त्यत्तिकै छ ।

यसरी आफ्नो पार्टीको कार्यकर्ता हुँ भन्दै विभिन्न नापी, तथा मालपोत कार्यालयबाट पैसा उठाएको थाहा पाएपछि मन्त्री चौधरीले त्यो व्यक्ति नागरिक उन्मुक्ति पार्टीको कार्यकर्ता नभएको भन्दै व्यज्ञप्ति प्रकाशित गर्न लगाएकी छिन् । त्यसो गर्नु राम्रंो काम पनि हो । तर, मालपोत र नापी कार्यालय जस्ता ठाउँमा भएका विकृति, विसंगति र भ्रष्टाचारलाई रोक्ने कदम भने चाल्न सकेकी छैनन् ।

हुन त मन्त्री चौधरीको सचिवालयमा नागरिक उन्मुक्ति पार्टी निकट कुनै सहयोगी पनि छैनन् । अन्य दल निकट कर्मचारीहरु आफ्नो सचिवालयमा भएका कारण पनि मन्त्री चौधरीलाई काम गर्न कठिन भएको हुनुपर्छ । आफ्नो दल निकट कर्मचारी नभएपछि मन्त्री चौधरी अन्य कर्मचारीलाई हात लिएर काम गर्न वाध्य भएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *