काठमाडौं । राजनीतिक दलहरुले एकल बहुमत ल्याउन नसकेपछि जुनसुकै चुनावमा पनि अन्य दलहरुसँग गठबन्धनको सहारा लिनुपर्ने स्थिति सिर्जना भएको छ । जुनसुकै गठबन्धनबाट बनेका सरकार भए तापनि देशलाई भ्रष्टाचारमुक्त बनाइ विकासतर्फ उन्मुख गराउनुपर्नेमा त्यो नगरी खाली कहाँबाट र कसरी हुन्छ आफू सत्तामा पुग्ने र कमाउनेतिर मात्रै ध्यान दिएका छन् । नेपाली जनताहरु दिनप्रतिदिन महंगी, भ्रष्टाचार र बेथितिले विरक्तिएका छन् । यति बेला नेपालका राजनीतिक दलहरु बिना मियोको दाईँ जस्तै बनेका छन् । त्यसको उदाहरण लिन सकिन्छ, नेपाली कांग्रेसबाट शहरी विकास मन्त्री बनेकी सीता गुरुङलाई ।
गुरुङ सहरी विकास मन्त्री भए तापनि त्यस मन्त्रालयले गर्नुपर्ने अधिकांश कामहरु यतिबेला लथालिङ्ग बनेका छन् । एकातिर बजेटको अभाव देखाइएको छ भने अर्कोतिर तत्कालीन अवकास प्राप्त सचिव रविन्द्रनाथ श्रेष्ठलाई सहरी विकास मन्त्रालयमा ल्याएर काम गराइराखेकी छिन् । हालका सहरी विकासका सचिव सरुज वैद्येलाई थपनाको रुपमा राखिएको छ । वैद्य पनि रविन्द्र श्रेष्ठकै डिजाइनमा चल्ने गरेको आरोप छ । सहरी तथा भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ पनि मन्त्रीका दाहिने हात रहेको बताइन्छ । उनी पनि रविन्द्र श्रेष्ठकै लाइनमा काम गरिरहेका छन् । भवन विभागले पनि अधिकांश निर्माणका कामहरु गर्न सकेको छैन । किन कि त्यहाँ पनि बजेट अभाव र ठेक्कापट्टादेखि विभिन्न कमिसनको खेल हुने गरेको छ ।
उता, शहरी विकास मन्त्रालयमा यतिबेला कर्मचारीबीच कुटाकुटको स्थिति सिर्जना भएको छ । भवन निर्माण तथा सहरी विकास विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ र सहसचिव रविन्द्र बोहोराबीच कटाकुटको स्थिति सिर्जना भएको हो । उनीहरुबीच मन्त्री सीता गुरुङको कार्यकक्ष अगाडि मालदार शाखामा सरुवा हुने विषयलाई लिएर विवाद सुरु भएको थियो । सहसचिव रविन्द्र बोहोरा सहरी विकास मन्त्रालयको आकर्षक ठाउँमा बस्दै आएका थिए । केही समय पहिला उनीलाई सहरीबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको थियो । बोहोरा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट राजनीतिक सोर्सफोर्स लगाएर फेरि सहरी विकास मन्त्रालयमै सरुवा भएर आएका थिए । बोहोरा मन्त्रालयको आकर्षक शाखामा बस्न नपाएपछि महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ र उनीबीच मनमुटाव सुरु भएको थियो ।
उनीहरबीच मनमुटाव हुनुको कारण सुरेन्द्रमोहन श्रेष्ठले मन्त्रीलाई कुरा लगाएर आफूलाई आकर्षक ठाउँमा नराखेको भन्दै बोहोरा असन्तुष्ट भएका थिए । सुन्द्रमोहन श्रेष्ठको जागिरे अवधि पनि करिव एक महिना मात्रै बाँकी छ । तर, बोहोराकोे अझै ५, ६ वर्ष बाँकी छ । रविन्द्र बोहोरा शक्ति र पैसाको पावरमा मालदार शाखामा रहने गरेका छन् । बोहोरा खुवाउन र खानलाई एकदमै माहिर व्यक्ति हुन् । त्यसै विषयलाई लिएर विवाद हुँदा श्रेष्ठ र बोहोराबीच हातहालाहालको अवस्था सिर्जना भएको थियो । श्रेष्ठ र बोहोराबीचको कुस्ती हेर्ने दर्शकहरुको ठूलै भीडा लागेको देखिन्थ्यो । यता, भवन विभागले गर्नुपर्ने कामहरु भने अलपत्र परेका छन् ।
मन्त्री गुरुङले त्यसप्रति ध्यान दिएकी छैनन् । झन् सरकारले मन्त्रिमण्डल फेरबदल गर्ने हल्ला चलाएपछि न त मन्त्रीले भनेको कर्मचारीले मान्छन् न मन्त्री आफैमा काम गर्ने क्षमता छ । उल्टै अवकास प्राप्त भइसकेका पूर्व सचिवलाई ल्याएर काम लगाउने र हालका सचिवलाई पाखा लगाउने कामले मन्त्री आफै आलोचित बनेकी छिन् । बहालवाला सचिवले गर्नुपर्ने काम अवकास प्राप्त पूर्व सचिवको डिजाइनमा चल्नुपरेपछि मन्त्रालयका अधिकांश कामहरु अलपत्र पर्ने गरेका छन् ।
मन्त्रालयको नेत्वले सही काम गर्न नसक्दा कर्मचारीहरु घाम तापेर दिन बिताउन वाध्य भएका छन् । उता, अधिकार सम्पन्न बागमती, एकीकृत विकास समितिले गर्नुपर्ने कामहरु पनि अलपत्र अवस्थामा छन् । बागमती र त्यस आसपासका दीनमा हरियाल बढाई सरसफाइ गरेर दुषित वातावरणमुक्त सहर बनाउनु पर्नेमा उल्टै आफ्ना आसेपासेलाई जागिर खुवाउने नाममा गर्नुपर्ने कामहरु अलपत्रमा परेका छन् । त्यतिमात्रै होइन, बागमती सभ्याताले ठेक्कामा लगाएको काम पनि समयमा सम्पन्न हुन सकेको छैन । मन्त्री गुरुङ भने कहाँबाट कसरी कमिसन आउँछ भन्दै हिँडेकी छिन् ।
अधिकार सम्पन्न बागमती, एकीकृत विकास समितिका कर्मचारीहरु पनि कमिसन खानेमै व्यस्त छन् । कार्यालयमा काम गर्ने वातावरण नभएपछि कर्मचारीहरु हाजिर गर्ने र चौरमा घाम तापेर दिन बिताउने गरिरहेका छन् । अर्कोतिर अधिकार सम्पन्न बागमती, एकीकृत विकास समिति अन्तर्गत बागमती सभ्यतामा राम्रो काम गरेको भनेर हल्ला गरिए तापनि सरकार फेरिएसँगै त्यो काम अलपत्र पर्दै गएको छ ।