दोलखा महोत्सवको सामाजिक, आर्थिक र राजनीतिक महत्व

राजनीति लेख

दोलखा महोत्सव, २०८० सकिएको छ । दश दिने भनिए पनि पछि २ दिन थपेर एक दर्जन दिनसम्म चलेको थियो । पौष १३ गते विशेष समारोह विच प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन भएको थियो । १५० वटा स्टलहरुको व्यवस्थापन भएको थियो । सुस्ताएको दोलखाको अर्थतन्त्रलाई चलायमान वनाउने अपेक्षा गरिएको थियो । जिल्ला भर प्रचलित झांकीहरुको प्रदर्शन गरिएको थियो । स्टलहरुमा दोलखाका स्थानीय उत्पादन देखि वाह्य सामाग्रीहरु पनि विक्रि तथा प्रदर्शनलागि राखिएका थिए । आर्थिक रुपमा यस महोत्सवमा २ करोडको कारोवार भएको अनुमान गरिएको छ । महोत्सवबाट आर्थिक पक्षको अलावा सामाजिक, सांस्कृतिक तथा राजनीतिक महत्व समेत बोकेको पाइयो ।

सांस्कृतिक तथा सामाजिक पक्ष
महोत्सवको तयारीको क्रममा मूख्य आयोजकले विभिन्न अभियानहरु सञ्चालन गरेको थियो । चरिकोट वजारलाई रङ्गीचङ्गी ध्वजापताकावाट सजाइएको थियो । महोत्सवको मूख्य आयोजक दोलखा उद्योग वाणिज्य संघले काठमाडौं र चरिकोटमा समेत पत्रकार सम्मेलन गरी प्रचारप्रसारमा जोड दिएको थियो । छिमेकी लगायतका जिल्लाका उद्योग वाणिज्य संघलाई औपचारिक रुपमा आमन्त्रण गरेको थियो । यस मौकामा दोलखाका विभिन्न पर्यटकिय स्थलहरुको प्रचार समेत भएको थियो । भीमेश्वर र कालिञ्चोक मन्दिरमा पक्कै पनि दर्शालु वढे होलान् ।

उद्घाटन समारोहमा सातदोवाटो देखि विभिन्न जातीय तथा सांस्कृतिक पहिचान सहितको झाँकीहरु प्रस्तुत भएका थिए । पञ्चेवाजा, सुनुवार, धामी, कुसुले वाजागाजा सहितको नाच प्रर्दशन गरिएको थियो । धार्मिक संघसंस्थाहरुले पनि आफ्नो पहिचान सहितको उपस्थीति जनाएका थिए । खैजडी भजन समूहको प्रस्तुती रहेको थियो । यस महोत्सवले सामाजिक तथा सांस्कृतिक पक्षलाई केही हदसम्म प्रवद्र्धन गर्ने कोशिस गरेको थियो ।

आर्थिक पक्ष
यस्ता महोत्सवको मूख्य ध्येय भनेकै. आर्थिक पक्षसँग जोडिएको हुन्छ । चरिकोट सुस्ताएको छ । आर्थिक रुपमा चलाएमान गराउने दावी आयोजक तथा समद्ध पक्षको थियो । अपेक्षाकृत उपलव्धी नभए पनि कारोवारको अंक सुन्दा नराम्रो मान्नु हुँदैन । यस महोत्सवमा स्टलहरुवाट भएको व्यापार समेत जोड्दा २ करोडको कारोवार भएको अनुमान गरिएको छ । मान्छेको उपस्थीति बाक्लो थियो तर प्रवेश शुल्क तिरेर महोत्सव हेर्ने कमै देखिए । प्रवेश शुल्क तिर्ने ४२ हजार जना मात्र भएछन् । तर महोत्सवमा झण्डै ८० हजार मानिस सहभागी भए होलान् भन्ने अनुमान छ । प्रवेश शुल्क प्रति व्यक्ति प्रति पटक रु ६० निर्धारण गरिएको थियो ।

दोलखा महोत्सव २०८० मा भएका १ सय ५० वटा स्टलहरु मध्ये अधिकांश स्टलहरु दोलखाली व्यवसायीहरुले लिएका थिए । रेष्टुरेन्ट खाल्का स्टलहरुका धेरै झुम्मेको पाइयो । त्यसै गरी काठवाट निर्माण गरेका भाँडाकुँडाको स्टल हेर्न लायक थियो । किवीको जुस, जाम, क्याण्डी यसपालकाको फरक सामाग्री स्टलमा राखिएको थियो । रुखको जरासमेतबाट तयार गरेको कला अनी दोलखाको विभिन्न स्थानको तस्वीर प्रदर्शन यस पटकका आकर्षण थिए ।

केही स्टलहरुवाट व्यापार पनि राम्रो भएको पाइयो । किस्मत होटलका सञ्चालक शान्त जिरेलले महोत्सव स्थलमा नैं बँदेलको सेकुवाको प्रवन्ध गर्नु भएको थियो । महोत्सव अवधी भरमा ६ वटा वँदेल खपत गरि ६ लाख भन्दा वढिको कारोवार गर्नु भएछ । सातदोवाटो चोकमा रहेको किस्मत होटलको प्रचार महोत्सवबाट भए पनि बजार क्षेत्रमा रहेको होटल व्यवसायमा चाँही चाप नपरेको जिरेलको भोगाइ रहेको छ । यसको मतलव वजार क्षेत्रमा मानिसको भिडभाड त वढ्यो तर कारोबार वढेन भनेर वुझ्न कुनै कठिन छैन ।

महोत्सवमा भएको कारोवारको ८० प्रतिशत भन्दा वढि रकम दोलखा वाहिर जान्छ भन्ने विगतको अनुमान गलत देखियो । व्यापार कति भयो फरक विषय भयो तर यहाँको स्थानीय उत्पादनको प्रदर्शन चाँहि भएको पाइयो । यसबाट स्थानीय उत्पादन छ भन्ने सन्देश दियो तर व्यवसायिक उत्पादन छैन भन्ने देखायो । यो दबाव स्थानीय सरकार माथि पनि पर्ने देखियो ।

कलाकारहरुको प्रस्तुतीहरुमा दोलखालीहरु झुमेका थिए । दिनदिनै नयाँ नयाँ र ख्याती प्राप्त कलाकारको प्रस्तुती रहेको थियो । कुनै एक दुई कलाकारले त पौने एक लाख भन्दा वढि पनि लगेरे । राष्ट्रिय पहिचान पाइसकेका दोलखाका कलाकारहरुको प्रस्तुतीमा दोलखालीले राम्रो उत्साह थपिदिए । दोलखामा जन्मीएका वा दोलखासँग प्रत्यक्ष साइनो गाँसिएका कलाकारहरुले निशुल्क नभए पनि सशुल्कमा प्रदर्शन गर्लान भन्ने आयोजकको अपेक्षा थियो होला । केहीबाट सो अपेक्षा पूरा पनि भयो रे । तर केही नाम चलेका भनिएका कलाकारले दोलखालीको भिड र उत्साहबाट हौसिएर जिद्धी गरेर सहमती भन्दा पनि वढि रकम थप्न लगाए भन्ने चर्चा पनि छ ।

महोत्सवको मूख्य आयोजक दोलखा उद्योग वाणिज्य संघलाई रु १५ लाख दिने गरि मेला सञ्चालकले जिम्मा लिएको रहेछ । तर प्रवेश शुल्कमा कमी र पिङ्ग लगायतका रमाइलो मेला केन्द्रीत कार्यहरु कारोवार खासै भएन । त्यसैले उसलाई घाटा परेको प्रारम्भिक अनुमान छ । त्यसैले मूख्य आयोजकले २ लाख ५० हजार रुपैया छुट गरेको भन्ने कुरा सुन्नमा आएको छ ।

राजनीतिक पक्ष
हरेक महोत्सवको आर्थिक तथा सामाजिक महत्व हुन्छ नैं तर यस पटक राजनीतिक महत्व पनि देखिएको छ । जुन दोलखाको समृद्धिसँग सम्वन्धीत छ । दोलखाका ठुला ४ दलहरुको विचमा १६ वुँदे साझा सहमती भएको छ । हुनत यसलाई सहमती वा अठोट पत्र नभनेर ज्ञापन पत्र भनिएको छ । तथापी हस्ताक्षरकर्ता दलहरु र जिससको साझा चाहाना हो । त्यसैले यस्लाई प्रतिवद्धता हो भनेर वुझ्न सकिन्छ ।

ज्ञापन पत्रमा नेपाली कांग्रेस दोलखाका सभापती वर्मा लामा, नेकपा एमाले दोलखाका अध्यक्ष नर वहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुल वहादुर केसी ‘रोशन’, नेकपा एकिकृत समाजवादी दोलखा अध्यक्ष भीम दाहाल र जिल्ला समन्वय समिति दोलखा प्रमुख बर्जुकुमार घतानीले हस्ताक्षर गरी सामुहिक रुपमा प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको थियो । जिससका प्रमुखले महोत्सवको उद्घाटन समारोहमा वाचन गर्नु भएको थियो । ज्ञापन पत्रमा उल्लेख भएका केही विषयमा प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा समेत चर्चा गर्नु भएको थियो । ज्ञापन पत्र तयार गर्न पटक पटक छलफल भयो होला । यस्ले राजनीतिक दलहरु विचमा सहकार्यको वातावरण वनेको होला भन्ने अपेक्षा गर्न सकिन्छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गलाई पुनरेखांकन गरी दोलखालाई समेट्नु पर्ने कुरा ज्ञापन पत्रमा उल्लेख छ । लामावगर– फलाक सडक निर्माण गर्नु पर्ने, तामाकोसी तेस्रो जलविधुत् आयोजनालाई दोलखाबासीको स्वामित्व समेत हुने गरी पूर्ण क्षमतामा यथासिघ्र निर्माण गर्नु पर्ने, झोलामा खोला राख्ने कार्यलाई तत्काल खारेज गर्नु पर्ने, निर्माणाधिन र संभावना रहेका जलविधुत् आयोजनाहरुमा दोलखालीको स्वामित्व हुने गरी पूर्ण रुपमा सञ्चालन गरिनु पर्ने विषय समावेश गरिएको छ ।

माउन्टेन फ्लाइट र हवाइ कनेक्टीभिटीकोलागि चरिकोटमा विमानस्थलको वनाउनु पर्नेमा जोड दिएको छ । जिरी ताल लगायतका पर्यटनमा आधारित पूर्वाधार वनाउने र दोलखालाई पर्यटकीय जिल्ला घोषणा गर्न ४ दल र जिससको मतएैक्यता देखिएको छ । फिल्म सिटीलाई अविलम्व सञ्चालन गर्न नेपाल सरकारको समक्ष आग्रह गरिएकोछ । बन्द भएको म्याग्नेसाइट र खरिखानी अविलम्व सूचारु गर्नकालागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । त्यसै गरी विगुमा रहेको स्लेटढुँगा खानी स्थानीय थामी जातीको परम्परागत जिवीकोपार्जनसँग जोडिएकोले त्यसलाई उनीहरुकै सिप अभिवृद्धि गरी ढुँगा खानीलाई व्यवसायिक गराउने कुरा उल्लेख गरेको छ ।

आलु, किवी, केरा, सुन्तला र चौरी तथा पशुपालन दोलखाको पहिचान भएको उल्लेख गर्दै कृषि क्षेत्रमा नीजि, सार्वजनिक साझेदारी हुने गरी राष्ट्रिय लगानी गर्नु पर्ने माग गरिएको छ । खेतीपातिलाई विनास गर्ने वाँदर, भालु, दुम्सी, हरिन लगायतका वन्यजन्तुको व्यवस्थापन गर्ने कानून निर्माण गरि अविलम्व कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

दोलखा भीमेश्वर, कालिञ्चोक मन्दिर, शैलुङ्ग, विगु तथा लप्ची गुम्वा, पवित्र गौरीशंकर र च्छोरोल्पा हिमताल समेतलार्ई एकै कोरीडोरमा समेटी धार्मिक तथा पर्यटकीय गन्तव्य निर्माणकालागि दोलखाका ४ दल सहमत भएका छन् । दोलखामा रहेको सांस्कृतिक, ऐतिहासिक, धार्मिक, प्राकृतिक रुपमा अति महत्व रहेको भीमेश्वर मन्दिर, विश्वकैं उच्च स्थानमा रहेको कुण्ड सहितको कालिञ्चोक मन्दिर, शैलुङ्ग क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतकालागि पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।

सामाजिक न्यायका सवाललाई नीतिगत व्यवस्था गर्न राजनीतिक दल तथा सरकारले महत्वपूर्ण भूमिका खेलेको छ तर महिला, दलित, विपन्न लगायतका कमजोरवर्ग केन्द्रीत सकरात्मक विभेदलाई व्यवहारिक कार्यान्वयन हुन नसकेको स्मरण गराउँदै पूर्ण कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिएकोछ ।

दोलखालाई विकास वजेट विनियोजन गर्दा अन्याय भएको, स्थानीय सरकारको सुझावलाई वेवास्ता गरेकोमा आपत्ति प्रकट गरिएको छ । संविधानले परिकल्पना गरेको तिनैं तहको सरकारको अधिकार क्षेत्रको कार्यान्वयन नभएकोले संवैधानीक मर्म अनुसार आवश्यक कानून वनाउन माग गरिएकोछ ।

अन्तिम बुँदामा दोलखाको प्रतिवद्धता समेत उल्लेख छ । विधुत् संकटलाई सम्वोधन गर्न दोलखालीको मेहनतले राष्ट्रिय गौरवको माथिल्लो तामकोशी जलविधुत् आयोजना स्वदेशी लगानी र प्रविधिमा संभव भएको स्मरण गराउँदै अहिलेको आर्थिक निराशालाई चिरेर स्थानीय साधन, स्रोत र प्रविधिको समुचित प्रयोग गरि समृद्धिको आधारकालागि दोलखाकाले नयाँ मोडेल तयार गर्ने दावी गरिएको छ । ती ‘दोलखा मोडेल’का परियोजनाहरु सञ्चालनको लागि सहयोग गर्न सङ्घीय सरकारसँग आग्रह गरिएको छ ।

दोलखाका प्रमुख दल र जिससको सहकार्यवाट समृद्ध दोलखाकोलागि साझा आवश्यकता पहिचान गरी सो प्रतिवद्धताको महत्व अवश्य रहनेछ । त्यो भन्दा पनि महत्वपूर्ण विषय भनेको यी अठोटलाई निरन्तर वोक्नु र कार्यान्वयनमा ल्याउनु पनि हस्ताक्षरकर्ता व्यक्ति, दल र निकायको जिम्मेवारी हो । आफुले गरेको अठोट र जिम्मेवारीवाट पछाडी हट्दैनन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

अन्त्यमा, दोलखा महोत्सव उल्लासमय तरिकाले सुरुवात र्भै सम्पन्न भएको छ । सुरुवातमा राजनीतिक दलहरुको उत्साह रहेको देखिए पनि समापनसम्म आईपुग्दा त्यो अवस्था कायम रहेको पाइएन । दोलखाका जनप्रतिनिधिहरुले सहज महशुस गरेको देखिएन । खास गरी उद्घाटन सत्रमा वहालवाला जनप्रतिनिधिहरु र स्थानीय सरकारलाई वेवास्ता गरेको गुनासो सुनियो ।

जेहोस्, दोलखा उद्योग बाणिज्य संघले पहिलो पटक महोत्सव आयोजना गरेकोले अनुभवको खाँचो देखियो होला । तर पनि कोशिस गर्नु महत्वपूर्ण कुरा हो । यस महोत्सवमा देखिएका सामाजिक, आर्थिक र राजनीतिक रुपमा केही उपलव्धी हासिल भएकै छ । यी उपलव्धी निरन्तर कार्यमुलक हुन सकोस् शुभकामना ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *