सीमा तस्करीमा राजनीतिक दल र सुरक्षाकर्मीकै संरक्षण

राजनीति समाचार

काठमाडौं । सीमा सुरक्षाको लागि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा खटाउने गरेको छ । सीमा सुरक्षामा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाए तापनि उनीहरुसँग सीमा सुरक्षासम्बन्धी कुनै ज्ञान भएको पाइँदैन । अधिकांश सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु सीमाको सुरक्षा गर्नुभन्दा पनि कमाउधन्दातिर लाग्ने गरेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि यस्ता सीमा क्षेत्रमा सरुवा भएर जानको लागि मरिहत्ते गर्दछन् । त्यसरी मरिहत्ते गरेर सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु अधिकांश तस्करहरुसँग मिलेमतो गरी कमाउ धन्दातिर लिप्त हुने गरेका छन् ।

सीमा नाकाबाट चोरी तस्करी, अवैध लागु औषध ओसारपसार, भन्सार छली जस्ता कामहरु खुलमखुला रुपमा भइरहँदा त्यहाँ खटिएका सुरक्षाकर्मीहरु मुकदर्शक भएर बस्ने गरेका छन् । सीमा क्षेत्रमा खटिएका अधिकांश सुरक्षाकर्मीहरु छिमेकी मुलुक भारत चाइनाबाट हुने चोरी तस्करीसँग मिलेर कमिसन खानमा व्यस्त रहेका छन् । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी मात्रै नभएर भन्सारका कर्मचारीहरु समेत तस्करहरुसँग मिलेर अवैध धन्दामा संलग्न हुने गर्दछन् ।

भारत सरकारले विहारमा मधिरा निषेध गरेपछि नेपालबाट भारततर्फ ठूलो मात्रामा मदिरा सप्लाई हुने गर्दछ । त्यस्तै भारतबाट गुट्खा, खैनी, सूर्ती, पानपराग, गाडीका पार्टपूर्जा, विभिन्न विद्युतीय सामानहरु, लत्ताकपडाहरु, खाद्य सामग्रीलगायतका सामानहरु सीमा नाकाबाट भन्सार छली गरेर नेपाल भित्रिने गरेको छ । यस्ता विषयमा सीमानामा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीले ध्यान दिनुपर्नेमा उल्टै उनीहरुसँगै मिलेर सामान नेपाल भित्र्याउने र कमिसन खाने गर्दछन् ।

नेपालबाट पनि भारततर्फ गाँजा, सुन, मदिरा, सुपारी, विभिन्न जडीबुटीलगायतका समाग्रीहरु भन्सार छली गरेर चोरीनिकासी हुने गरेको छ । त्यसैगरी भारतबाट नेपालका धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, सिराहा, सप्तरीलगायतका जिल्लाहरुमा गोदाम खडा गरी विभिन्न अवैध सामानदेखि हातहतिर समेत भित्र्याएर भन्डारण गर्ने गरेको पाइन्छ । तर, सीमा नाकामा खटिएका सुरक्षाकर्मी र भन्सारका कर्मचारीहरुले यस्तो सम्वेदनशील विषयमा ध्यान दिएको पाइँदैन ।

उल्टै तिनै तस्कर, विचौलियाहरुसँग मिलेर कमिसन खाने र रातारात धनी हुनेको ताँती लाग्ने गरेको छ । राज्यका सम्बन्धित निकायले पनि त्यस्तो विषयमा अनुगमन गरेको छैन । उल्टै यस्ता तस्कर र विचौलियाहरुलाई राजनीतिक दलका नेता, कार्यकर्ता र सुरक्षा निकायले संरक्षण दिने गरेका छन् । ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *