अख्तियारलाई अटेरी गर्दै सचिव र सदस्य सचिव इन्स्टिच्यूटमा पढाउँदै

राजनीति समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी बहालवाला कर्मचारीहरुलाई लोकसेवा क्लास पढाउनमा रोक लगाएको छ । तर अख्तियारको निर्देशनको अवज्ञा गर्दै सरकारका केही सहसचिव,उपसचिवदेखि अधिकृतहरुसम्म कार्यकक्षमा कम र सरकारी सवारी,इन्धनको दोहन गर्दै लोकसेवा तयारी कक्षामा बढी व्यस्त भेटिन्छन् । एपेक्स, चैतन्य र नेमजस्ता प्राइभेट इन्स्टिच्यूडहरुमा कतिपय प्रशासकहरु क्लास लिइरहेको भेटिन्छन्,त्यो पनि कार्यालय समयमा ।

यी इन्स्टिच्यूडहरुले बहालवाला सरकारी कर्मचारीको फोटै टाँसेर सरकारको आदेशलाई सिधै धज्जी उडाइरहेका छन् । अनि केही अटेरी कर्मचारीले सरकारको निर्देशनलाइ वेवास्ता गर्दै सरकारी सवारी साधन,इन्धनको चरम दुरुपयोग गर्दै लोकसेवाको कक्षातिर रमाइरहेका छन् । जस्तो चैतन्यले हालै मात्र उप सचिव तयारी कक्षा संचालन भन्दै बहालवाला उपसचिव देवराज जोशीको फोटो सहितको विज्ञापन गरेको छ । यसरी कार्यालयमा कम र लोकसेवा तयारी कक्षामा बढी भेटिने प्रशासकहरुको सूची नै तयार गरिरहेको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ।

प्रम कार्यालय स्रोतले दिएका विवरण अनुसार, यस्ता अटेरी लोकसेवा गुरुहरुको संख्या ३ सय ६७ जना रहेका छन् । जसमध्ये काठमाण्डौ उपत्यकामा मात्र १ सय ९२ जना रहेको प्रम कार्यालय स्रोतले जनाएको छ । यसरी सरकारी गाडी,ड्राइभर,इन्धनको दुरुपयोग गर्दै लोकसेवा तयारी कक्षामा रमाउनेमा नेपाल सरकारका बहालवाला सचिव १२ जना रहेका छन् । सह सचिव ५२, उपसचिव ९८ र वांकी शाखा अधिकृत रहेको प्रम कार्यालयले जनाएको छ । सहसचिवहरु हेमराज तमाङ,कुमार दाहाल,प्रकाश दाहाल,सुमन दाहाल,डा टोकराज पाण्डेहरुको नाम चर्चामा आउने गर्दछ लोकसेवा गुरुको रुपमा ।

उनीहरु सरकारी कार्यालयमा कम र लोकसेवा तयारी कक्षामा बढी व्यस्त हुने गरेको बताइन्छ । प्रम कार्यालयले संकलन गरेको विवरण अनुसार,सहसचिव हेमराज तामाङदेखि सहसचिव प्रकाश दाहाल, देवराज जोशीदेखि मित्र घिमिरे र सुमन प्रसाद दाहाल लगायतले चैतन्य नेम र एपेक्स लगायतका नीजि इन्स्टिच्यूडमा पढाइरहेका छन् । चैतन्यले त देवराज जोशीको फोटो नै छापेर प्रचार प्रसार गरिरहेको छ । यस अघि नै यी सहितका पाँच दर्जन बढी प्रशासकहरुलाई अख्तियारले पत्र नै काटेको भए पनि उनीहरुले चेतेनन् ।

यस अघि अख्तियार दुरुपयोग अनुसन्त्धान आयोगले लोकसेवा तयारी कक्षामा रमाउने ६२ जनालाइ पत्र काटेर छानबिन समेत गरिसकेको छ । प्रधानमन्त्री कार्यालयको विशेष टोलीले यी सवैको सूचना लिइ सुक्ष्म निगरानी गरिरहेको छ । अर्थ मन्त्रालयदेखि संघीय मामिला मन्त्रालय र योजना आयोगकै कर्मचारीहरु नै लोकसेवा तयारी कक्षामा रमाउने गरेका कारण यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव एकनारायण अर्याल हुँदा लोकसेवा तयारी कक्षा पढाउनका लागि प्रशासकहरुलाई बन्देज लगाइएको भए पनि अझैंसम्म कार्यन्वयनमा जान सकेको छैन ।

पछिल्लो समयमा लोकसेवा तयारी कक्षामा बढी व्यस्त हुने र सरकारको निर्णय कार्यान्वयनमा असहयोग गर्दै आएका अटेरी कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनमा र सरुवा तथा पदस्थापनमा नकारात्मक सूचीमा राख्ने निष्कर्ष टोलीले निकालेको छ । यस आधारमा ३६७ जनाकै वैयक्तिक विवरण तयार गरिएको छ ।

यी ३६७ बहालवाला कर्मचारीको पढाउने कामको अतिरिक्त अन्य क्रियाकलाप, हाजिरी, कार्यालयमा रहने अवधि, कार्यालय वाहिर जाँदाको लोकेशन ट्याकिंग, कार्यालय समय वाहिर पढाउन जादा सरकारी गाडी प्रयोग गरिएको वारेमा पनि निगरानी गरिरहेको प्रम कार्यालयले जनाएको छ । यी प्रशासकहरुले कर समेत छलि गरिरहेको बिषयमा गम्भीर रुपमा अनुसन्धान भइरहेको उक्त स्रोतले जनाएको छ ।

उसो त कर्मचारीहरु भ्रष्टाचार मुद्धामा डामिए,उनीहरुलाई विशेष अदालतले चोख्याउने । यौनजन्य क्रियाकलापमा मुछिँदा सम्म उनीहरुलाई कुनै कारवाही नहुने,एक वा डेढ महिना सामान्य प्रशासनको बरण्डामा राखेर फेरि जिम्मेवारी दिएर पठाउने हुँदा कर्मचारीहरुमा यौनजन्य क्रियाकलाप बढ्दै गएको,घुस र भ्रष्टाचारमा मुछिन हिच्किचाउन छाडेको कतिपय प्रशासकहरु टिप्पणी गर्दछन् । त्यसमाथि कर्मचारीको प्रवृत्ति खुलेआम रुपमा राजनीतिक दलको सदस्यता लिने,ताक परे तिवारी नत्र गोतामे भनेझैं सत्ता र शक्तिमा जो छ,उसैको चाकडी गर्ने ।

बसेरा, इन्द्रणी, दरवार मार्गमा महंगा होटलमा बसेर कर्मचारी कमरेड र जय नेपालको वैठक बस्ने गर्दछन तर सुशासन कायम गर्नुपर्ने,यस्ता बदमासी रोक्न क्रियासिल रहनुपर्ने अख्तियार,सतर्कता केन्द्रदेखि संघीय मामिला मन्त्रालय तै चुप मैं चुप हुँदा वेथिती बढिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *