गृहमन्त्रीले उपचार खर्च नपाउँदा विवाद

राजनीति समाचार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण,सुन काण्डदेखि सुराकी भत्ता कटौती गरेर वाहवाही कमाएका गृहमन्त्री नारायण काजी श्रेष्ठ र अर्थ मन्त्री प्रकाशशरण महतबीचको ‘टसल’ कुन तहमा छ भन्ने एउटा साना उदाहरण हेरौं । यी दुबै मन्त्री ‘रेड जोन’मा छन् । गृह काँग्रेसले लिने र अर्थ माओवादीले लिने भद्र सहमति छ भनिदैंछ नेतृत्वबीच । तर,एउटा मन्त्रीले पठाएको खर्च भुक्तानीसम्बन्धी फाइल अर्थले हप्तौंसम्म रोकिदिएपछि यी दुई मन्त्रीबीचको लफडा सतहमा आएको हो ।

नारायणकाजी श्रेष्ठ आफूलाई सादगी नेताका रुपमा अगाडि सार्दै आएका छन् तर नेपालले हो,सित्तैमा पाएसम्म अलकत्रा खाने,मट्टितेलले कुल्ला गर्न र बोराले मुख मुछ्न नेपालीहरु पछि पर्दैनन् । जसरी देखाउने र चपाउने दाँत फरक रहेको देखाए पूर्व राष्ट्रपति रामवरण यादवदेखि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसम्मले । उपचार खर्चका लागि राज्यसँग निर्भर रहेका देखिएकै हो । सादगीका रुपमा चिनिएका पौडेलले केही अघि दिल्लीमा उपचार गराएको ५५ लाख राज्यकोषबाट भराए ठीक उसैगरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत अर्थबाट उपचारको रकम लिने प्रक्रिया अगाडि बढाए तर अर्थले भुक्तानी रोकिएपछि हलचल छ गृहतिर ।

प्र्रेस्क्रिप्सन पेश नभएको भन्दै अर्थले उपप्रधान तथा गृहमन्त्रीलाई भुक्तानी दिनुपर्ने साढे दुई लाख रकम रोकिदिएको अर्थ स्रोतले जनाएको छ । गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या भएपछि दुई महिनाअघि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भए र उपचार गराए । त्यहाँ उपचार गराए वापत रकम भुक्तानीका लागि उनले विल पेश गरे,अर्थमा । उक्त विलको भुक्तानी नदिइ अर्थले रोकिदिएको हो । गृहमन्त्री श्रेष्ठले दुई लाख ५० हजार रकम भुक्तानीका लागि अर्थ भुक्तानी रोकिदिएको हो । मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०४९ अनुसार मन्त्रीहरुले स्वेदशमै उपचार गराउँदा बिल बराबरको रकम सरकारबाट पाउने व्यवस्था छ ।

बिलसँगै चिकित्सकले सिफारिस गरेको प्रेस्क्रिप्सनको प्रतिलिपि समेत आवश्यक हुने प्रावधान छ । प्रेस्क्रिप्सन पेश नगरेको भन्दै अर्थ मन्त्रालयले भुक्तानी अस्वीकार गरेको हो । प्रक्रिया पुरा गरेर भुक्तानीका लागि लेख्न अर्थले गृहलाई गत ९ माघमा निर्देशन दिएको थियो तर अर्थले यो समाचार तयार पार्दासम्म उनको रकम भुक्तानी गरिदिएको छैन ।

उता मनलाग्दी ढंगले आसेपासेलाई भुक्तानी गर्ने प्रक्रिया झन भन्दा झन बढेको छ । यस्को उदाहरण हो अर्थबाट पछिल्लो महिना दिनमा गएको भुक्तानी । पुस महिनामै सरकारले २७ जनालाई आर्थिक सहायता बाँढेको छ । पुस महिनामै २७ जनालाई एक करोड १७ लाख रुपैंया बाँढिएको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

अर्थले सार्वजनिक गरेको विवरण अनुसार बालकुमारी घटनामा मारिएका दैलेख नारायण नगरपालिका–७ का गणेशबहादुर खड्का, ललितपुर बालकुमारी घटनाका मृतकहरू अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवारलाई दश दश लाखको दरले आर्थिक सहयोग उपलव्ध गराएको छ ।यस्तै राज्यले पाँच लाख रुपैयाँ उपलब्ध गराएकामा भोजपुरका पदमबहादुर राई, बर्दियाका खेमराज भट्ट मायालु, अर्घाखाँचीका हरिकला खनाल, रामेछापका सुशीला कुमारी गौतम र कैलालीका वीरेन्द्र जैशी रहेका छन् ।

चार लाख आर्थिक सहयोग पाउनेमा सिन्धुपाल्चोकका लिलाध्वज स्वार, अर्घाखाँचीका बाबुराम अर्याल, बाजुराका रंगलाल जैशी, कञ्चनपुरका बलदेव बोहरा छन् । यस्तै राज्यबाट तीन लाख पाउनेमा काभ्रेपलाञ्चोकका भक्त राना मगर, बैतडीका भुवनराज भट्ट, बैतडीका वीरसिंह भण्डारी, सुर्खेतका ओमप्रकाश अधिकारी, बर्दियाका कान्ती चापागाईं, लम्जुङका रामचन्द्र विश्वकर्मा, दाङका महेश चौधरी, काभ्रेपलाञ्चोकका रामचन्द्र मैनाली, कालिकोटका परेकबहादुर साउद, बाराका विद्यानन्द ठाकुर र दार्चुलाका जयभनासिंह धामी रहेको विवरण अर्थले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *