विदेशीले नेपालमा प्रभाव जमाउँदै, राजनीतिक दलहरु आ–आफ्नै दाउपेजमा

राजनीति समाचार

काठमाडौं । सरकारले एक वर्षे कार्यकाल पुरा गरिसक्दा पनि सत्तासाझेदार दलहरुबीच विवाद कायमै छ । विवादको बाबजुत पनि प्रधानमन्त्री प्रचण्डले आफ्ना केही सकारात्मक कामलाई अगाडि बढाइरहेका छन् । नेपाली कांग्रेसभित्रै संस्थापन र इतरपक्षबीच वाकयुद्ध चुलिइरहेको छ । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका रक्षमन्त्री पूर्णबहादुर खड्कालाई काम गर्न नसकेको आरोप त छँदै छ । खड्का मन्त्री बनेदेखि आफ्नै पार्टीका इतरपक्ष नेताहरुले विरोध गर्दै आएका छन् ।

तर, प्रतिपक्ष दलहरुले खड्काको कामप्रति खासै टिकाटिप्पणी गरेका छैनन् । उता प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त कांग्रेस इतरपक्ष नेता डा. शेखर कोइराललाई पटक–पटक भेटेर उचाल्ने काम गर्दै आएका छन् । डा. कोइराला पनि एमालेको उक्साहटमा लागेर आफ्नो पार्टी कांग्रेसबाट मन्त्री बनेकाहरुको विरोध गरिराखेका छन् । यतिबेला कांग्रेसभित्र आफ्नो पार्टीबाट मन्त्री बनेका नेताहरुले मन्त्रालयको काम गर्न नसकेको आरोप शेखर पक्षले लगाइरहेको छ ।

उता प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल फेरबदल गर्ने भने तापनि अहिलेसम्म मन्त्रिमण्डल फेरबदल गर्न सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले कुनै पनि मन्त्रीले आफ्नो मन्त्रालयको काम जिम्मेवार ढंगले नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए । त्योसँगै आफ्नो मन्त्रालयको प्रगति गर्न नसक्ने मन्त्रीलाई पदबाट हटाउने भने तापनि त्यो गर्नसकेका छैनन् । आर्थिकमन्दीले गर्दा विकास निर्माणका कामहरु हुन सकेका छैनन् । रक्षामन्त्री खड्काले पनि आफ्नो मन्त्रालयलाई चलायमान बनाउन नसकेको आरोप लागेकै छ ।

त्यसैगरी कांग्रेसबाट अर्थमन्त्री बनेका डा. प्रकाश शरण महत, शहरी विकास मन्त्री बनेकी सीता गुरुङ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका रमेश रिजाल, एकीकृत समाजवादीबाट भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बनेका प्रकाश ज्वाला, कृषिमन्त्री बनेका मन्त्री वेदुराम भुसाल, माओवादीबाट गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोतमन्त्री बनेका शक्ति बहादुर बस्नेतलाई हटाउने हल्ला चले तापनि प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म हटाउन सकेका छैनन् ।

आफ्नो वचन पूरा गर्न नसक्नु नै प्रधानमन्त्रीको असफल बन्नु हो । एकातिर सत्तासाझेदार ठूलो दल नेपाली कांग्रेसभित्र आन्तरिक कलह झागिँदै जानु अर्कोतिर गठबन्धनका अन्य दलहरु पनि सरकारको क्रियाकलापबाट सन्तुष्ट नहुनुले प्रधानमन्त्री दिनप्रतिदिन असफल बन्दै गएका छन् । त्यसमा प्रतिपक्ष दल नेकपा एमालेले खेलिरहेको छ । उता, पछिल्लो समय उत्तरी छिमेकी मुलुक चीनले पनि नेपालमा चलखेल बढाएर वामपन्थी एकतालाई अगाडि बढाउन खोजिरहेको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागु गरेपछि चीनले नेपाललाई हेर्ने दृष्टिकोण फरक बनाएको छ ।

नेपालमा एमसीसी लागु भएपछि चीनले पनि ‘एक चीन नीति लागु गर्न जोड दिँदै आएको छ । त्यसको लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अनतर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयानले नेपालमा आएर राजनीतिक भेटघाट गरेकी छिन् । त्यसले पनि नेपालमा छिमेकी मुलुक चिनले चासो देखाएको प्रष्ट हुन्छ । अर्कोतिर अमेरिकीले नेपालमा आफ्नो प्रभाव बढाउन विभिन्न प्रयासहरु गरिरहेको छ । अमेरिका र चीनको प्रभाव बढ्दै गएपछि अर्को छिमेकी मुलुक भारतले पनि नेपाललाई हिन्दू राज्य बनाउन जोड बल गरिरहेको देखिन्छ । छिमेकी मुलुक भारतले पनि नेपालमा खेल्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *