भूमिसुधार कि भुँडीसुधार मन्त्रालयमा ? सचिव दुवाडीको मनपरीले मालपोत र नापी अस्तव्यस्त

राजनीति समाचार

काठमाडौं । यतिबेला भूमि तथा सहकारी मन्त्रालयमा सचिव गोकर्णमणि दुवाडीको चर्चापरिचर्चा सुरु हुन थालेको छ । सचिव दुवाडीले महत्वपूर्ण मालपोत र नापी कार्यालयमा आफ्नो मान्छे फिट गरेर कमाउधन्दामा लिप्त हुन थालेको आरोप छ । दुवाडीले जग्गा कित्ताकाट र जग्गादर्ता पनि खुल्ला गरे । त्यसैको आडमा कमाउधन्दा सुरु गरेका छन् । यसो गरेर दुवाडीले कमाउधन्दा मात्रै थालेका छैनन्, उनले आफ्ना मान्छेहरु मालदार ठाउँमा फिट पनि गरेका छन् ।

दुवाडीको जागिरे अवधि पनि धेरै लामो छैन । आफ्नो जागिरे अवधि सकिन लागेकाले पनि उनी कामभन्दा कमाउधन्दातिर व्यस्त रहेका छन् । उनले काठमाडौंस्थित डिल्लीबजार मालपोत र नापी कार्यालयमा आफ्ना वरिपरि घुम्ने कर्मचारीलाई फिट गरेका छन् । डिल्लीबजारका मालपोत अधिकृतले पनि सेवाग्राहीलाई राम्रोसँग सेवा दिन नसकेको गुवासो आइरहेको छ । नापी कार्यालयको अवस्था पनि त्यस्तै छ । कलंकीको मालपोतमा नयाँ जीवन पाएका एक कर्मचारी कार्यरत छन् । उनको शरिरको कारण मालपोतलाई चलायमान र चुस्तदुरुस्त बनाउन सकेका छैनन् । चाबहिल नापी कार्यालय र मालपोत कार्यालयमा पनि दुवाडीले आफ्नै वरिपरिका आशेपासे फिट गरेका छन् ।

उनीहरुले सेवाग्राहीलाई सन्तुष्टि नदिएर पैसा असुल्ने बाटो खाज्ने गरेको बताइन्छ । ललितपुर मालपोत र नापी कार्यालयमा यस्ता कर्मचारीहरुको हालीमुहाली चल्ने गरेको छ । दुवाडीले भक्तपुर नापी कार्यालयमा आफ्ना आसेपासेलाई फिट गरिसकेका छन् । यी मालदार ठाउँमा आफ्ना मान्छे फिट गराएपछि जागिर सकिएपछि कमिसन आउने पनि चाँजोपाजो मिलाएका छन् । उता, ललितपुर मालपोत र नापी कार्यालयमा सधै भ्रष्टाचारको काण्ड लागिनै रहन्छ । मुद्दा फाँटका डम्बर कार्कीबीचको विवादले उग्र रुप लिएको छ । किन कि काकीले मुद्दा फाँटमा बसेर अकुत अकुत कमाएको बताइन्छ ।

डम्मर कार्की र अन्य कर्मचारीबीच लिनदिनकै विषयमा मनमुटाव हुँदा सेवाग्राहीको काम ओझेलमा पर्दै आएको छ । ललितपुर मालपोत कार्यालय सधैं विवादमा परिरहने संस्था हो । मुद्दा फाँटमा कार्यरत डम्बर कार्कीले करिव २० करोडभन्दा बढी असुलेको बताइन्छ । ललितपुर मालपोतमा धेरैजसो मुद्दा फाँटमा कमाइ हुने गर्दछ । त्यो मुद्दा फाँटमा आफ्नो मान्छे राख्नको लागि पनि कार्यालय प्रमुख र मुद्दा फाँट प्रमुखबीच वादविवाद हुने गरेको पाइन्छ ।

ललितपुर मालपोत र नापीका अधिकांश कर्मचारीहरुमाथि मुद्दा पर्ने र अदालत धाउनेहरु पनि त्यत्तिकै छन् । मालपोत र नापीका कर्मचारीबीचको मिलेमतोमा सरकारी जग्गाहरु मोटो रकम असुलेर व्यक्तिको नाममा ल्याउने काम हुन्छ । त्योसँगै कित्ताकाटमा पनि मोटो रकम असुल्ने गरिएको छ । त्यसैगरी जग्गाको फिल्ड भिजिटमा जाँदा पनि रकम असुल्ने गरिन्छ । यहाँका अधिकांश कर्मचारीहरुले लेखनदास र भूमाफियाहरुलाई प्रयोग गरी रातारात अर्बपति बन्ने गरेका छन् । त्यसकारण पनि मालपोत र नापी कार्यालयमा बस्ने कर्मचारीहरुबीच सधैं विवाद हुने गर्दछ ।

उता काठमाडौंको टोखा नगरपालिकास्थित मालपोत र नापी कार्यालयमा पनि जनप्रतिनिधि, कर्मचारी र भूमाफियाहरुको मिलेमतोमा अधिकांश सरकारी जग्गाहरु हडप्ने काम भएका छन् । राज्यका जिम्मेवार निकायहरुबाट सरकारी जग्गा हिनामिना हुँदा पनि नियमक निकायहरु मुकदर्शक हुनु लाजमर्दो विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *