स्वास्थ्य क्षेत्रमा दाताले दिएको सहयोगा, मन्त्री र कर्मचारीको हालीमुहाली

राजनीति समाचार

काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रलाई सरकारले वर्षेनी सबैभन्दा बढी बजेट छुट्याउने गरेको छ । स्वास्थ्य क्षेत्रलाई सरकारले मात्रै बढी बजेट छुट्याउँदैन विभिन्न विदेशी दाता राष्ट्रहरुले पनि सहयोग दिने गरेका छन् । दाता राष्ट्रहरुले एड्स रोग नियन्त्रण, क्यान्सर न्यूनिकरण, क्षय रोग निययन्त्रण, हात्तीपाइले रोग नियन्त्रणय, महिलाको पाठेघर खस्ने समस्या समाधान र अन्य विभिन्न सरुवा रोग नियन्त्रण गर्ने नाममा ठूलो सहयोग गर्ने गरेका छन् ।

तर, स्वास्थ्य मन्त्रालय र विभागका कर्मचारीहरुले सहयोग स्वरुप आएको रकम जनतामा जनचेतना जाउने नाममा सेमिनार, गोष्ठी, पर्चा पम्लेट र देश भ्रमणमा खर्च गरेर सिध्याउने गरेका छन् । मन्त्रालय र विभागले यस्ता सेमिनार र गोष्ठी गर्दा सर्वसाधारणको पहुँचभन्दा बाहिर ठूला–ठूला होटेल, रेष्टुरेन्ट र रिसोर्टहरुमा बसेर कर्मचारीहरुले मोजमस्ती गर्ने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जुनसुकै पार्टीको मन्त्री बनेपनि मन्त्रालयका कर्मचारीहरुको भ्रष्ट चरित्रका कारण सफल हुने गरेका छैनन् । स्वास्थ्य मन्त्रीले जतिसुकै राम्रो काम गर्छु भनेर भाषण गरे तापनि कर्मचारी र विचौलियाको चंगुलमा परेर कमाउधन्दातिर व्यस्त हुन थाल्छन् ।

विदेशी दाताले दिएको सहयोग विभिन्न रोग नियन्त्रणको दिवस मनाउने नाममा सिध्याउने काम गरिन्छ । कहिले एडस् दिवस, क्यान्सर नियन्त्रण दिवस मनाउने गरिन्छ । तर, लक्षित वर्ग समुदायलाई त्यो दिवसको कुनै जानकारी हुँदैन । न त सञ्चारमाध्यमले सर्वसाधारणको पहुँचमा समाचार लेखेका हुन्छन् न त सम्बन्धित निकायले उनीहरुको पहुँचमा पुगेर सचेतना जगाउने काम गरेको हुन्छ । बिरामीहरुको पैसामा स्वास्थ्य क्षेत्रका कर्मचारी, राजनीतिक दलका आसेपासे र मन्त्रीले मोजमस्ती गरिराखेका हुन्छन् ।

कर्मचारीसँगै सरकारी अस्पतालका डाक्टरहरुले पनि प्राइभेट अस्पतालसँग मिलेमतो गरी औषधि र स्वास्थ्य उपकरणहरुमा कमिसन खाने गरेका छन् । स्वास्थ्य मन्त्रालयले जिम्मेवार ढंगले काम गर्न नसक्दा अधिकांश सरकारी अस्पतालहरु थलालिङ अवस्थामा पुगेका छन् । सरकारी अस्पतालमा भनेजस्तो उपचार नभएपछि सर्वसाधारणहरु प्राइभेट अस्पतालमा ठूलो धनराशी खर्च गर्न वाध्य छन् । त्यसप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यान दिएको छैन । उल्टै कर्मचारी र विचौलियाको लहैलहैमा लागेर स्वास्थ्य मन्त्री पनि कमाउधन्दातिर व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *