काठमाडौं । गठबन्धन सरकारले गर्नुपर्ने काम त गर्न सकेन , सरकारका साझेदार दलबाट बनेका मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा हुने विकृति, विसंगतिहरुलाई हटाउनुको साटो उल्टै कर्मचारीलाई प्रोत्साहन गरेर भ्रष्टाचारमा लिप्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका थिए । कतिपय मन्त्रालयको कामलाई बेवास्ता गरी भ्रष्टाचार गर्न मात्र लिप्त हुने मन्त्रीहरुलाई पद खुस्काइदिने चेतावनी दिएका थिए ।
तर, त्यो काम प्रधानमन्त्रीले अहिलेसम्म गर्न सकेका छैनन् । उल्टै तिनै भ्रष्टमन्त्रीहरुलाई पालनपोषण गर्ने काम गरिरहेका छन् । प्रधानमन्त्रीले देश र जनताको लागि दिनरात खटेर काम गर्छु, भ्रष्टाचारशून्य समाज निर्माण गर्छु भन्ने नारा दिएका थिए । तर, उनका ती नाराहरु अहिलेसम्म नारामै सीमित छन् । उल्टै भ्रष्टाचार, बेथिति र अनियमितताले देश डामाडोल हुँदै गएको छ । प्रधानमन्त्री प्रचण्डले सत्ता सम्हालेको पनि १४ महिना पुग्न लागेको छ । यो अवधिसम्म प्रचण्ड नेतृत्व सरकारमा सहभागी मन्त्रीहरुले देश र जनताको पक्षमा माखो मार्न सकेका छैनन् ।
शहरी विकास मन्त्री सीता गुरुङ, खानेपानीमन्त्री महिन्द्रराय यादव, वनमन्त्री डा. उपाधि भिरेका वीरेन्द्र महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, भूमि व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसाल, परराष्ट्रमन्त्री नारायण प्रसाद साउद, अर्थमन्त्री प्रकाश शरण महत र रक्षामन्त्री पूर्णबहादुर खड्कासमेत विवादमा तानिएका छन् ।
उता, सरकारको साझेदार ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच समन्वयकारी भूमिका नहुँदा पनि मन्त्रीहरुले काम गर्न नसकेका हुन् । तीनवटै पार्टीका सभापति र अध्यक्षहरुलाई विकास निर्माणको कामभन्दा पनि आफ्नो पार्टी कसरी सञ्चालन गर्ने भन्ने चिन्ताले गाँजिरहेको छ ।
यी पार्टीबाट मन्त्री बनेकाहरुले राम्रो काम त गर्न सकेनन् नै उल्टै पार्टी र मन्त्रालयको बदनाम हुँदै गएको छ । त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले पनि देश र जनताको लागि चित्तबुझ्दो काम गर्न सकेका छैनन् । सञ्चारमन्त्री रेखा शर्मा पनि पछिल्लो समय टेरामक्स, एनसेल काण्ड र पत्रकारलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको विषयलाई लिएर विवादमा तानिएकी छिन् । त्यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि दिनप्रतिदिन विभिन्न विवादित काण्डमा मुछिँदै गएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि धार्मिक स्थलदेखि पर्यटनको क्षेत्रमा विभिन्न फन्डा मच्चाएर विवादमा फस्दै गएका छन् । उता नेपाली कांग्रेसबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका मोहनबहादुर बस्नेत पनि स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछु भनेर बाहिर चर्चा कमाए तापनि भित्री रुपमा भने अरुमन्त्री जस्तै कमाउधन्दामा दिनरात निर्लिप्त हुने गरेका छन् ।
त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि उद्योगी, व्यवसायीलाई हायलकायल बनाएर उठ्तीपुठ्तीमा रमाउने गरेका छन् । त्यतिमात्रै होइन मन्त्री रिजालले उद्योग सचिव मुकुन्द निरौलालाई प्रयोग गरेर कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग र घरेलु तथा साना उद्योग र बालाजु औद्योगिक क्षेत्रमा आफ्ना मान्छे फिट गर्न लगाएका छन् । उता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कानुनको धज्जी उडाउँदै भावी प्रधान न्यायाधीश आफ्नो मान्छे बन्ने गरी सेटिङ मिलाएका छन् ।