दोलखामा एमाले, नीति, नेतृत्व र युवाको आकर्षण

राजनीति लेख

नेकपा एमाले मुलुकको लोकप्रिय मतबाट पहिलो र सांसद संख्याको आधारमा दोस्रो ठुलो राजनीतिक दल हो । यो पार्टीलाई दक्षिण एसियामा नैं व्यवस्थीत पार्टी मान्ने गरिन्छ । यो दलका संरचनाहरुले नियमित अधिवेशनहरु गर्ने गर्दछ । भरखरै दोलखा जिल्लामा पनि दशौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । २०८० माघ २२ देखि २४ सम्म सञ्चालन भएको जिल्ला अधिवेशनले नीतिगत दस्तावेजहरु रुपी भारी तयार गरेको छ । सो भारी बोक्ने नेतृत्व समेत चयन गरेको छ । दोलखा एमालेको इतिहासमा पहिलो पटक लेखा कमिटी पनि अधिवेशनवाट चयन भएको छ । नेकपा एमालेले पारित गरेको दस्तावेज र नेतृत्वका स्वरुपको बारेमा चर्चा गर्ने कोशिस गरिएको छ ।

अधिवेशनको मूल मर्म
जीवन्त संरचनाको अधिवेशन नियमित प्रकृया हो । अधिवेशनको मूल मर्म सो संस्था वा संरचनाहरुले गरेका कामहरुको समिक्षा गर्ने र नयाँ अवधीकोलागि नीति तथा कार्यक्रमहरु तर्जुमा गर्ने हो । अनी त्यो नीति तथा कार्यक्रम रुपी भारी बोक्न सक्ने नेतृत्व चयन गर्नु पनि हो । तर पछिल्लो अवस्थामा यो मूल मर्म भन्दा बाहिर गएको हो की भन्ने लागि रहेको छ । नीति तथा कार्यक्रममा बहस कम हुने नयाँ नेतृत्व चयनमा सवैको ध्यान जाने गरेको पाइन्छ । यसमा नेकपा एमाले दोलखा पनि अछुतो हुन सकेन । विगतका कार्यक्रमको समिक्षा र आगामी समयकालागि नीति तथा कार्यक्रममा वहस कम भएता पनि आयोजक कमिटीले प्रस्तावको रुपमा अधिवेशन सत्रमा पेश गरेको थियो । सो कुरा पारित भएकोले वैधानिकता पाएको छ ।

दोलखा एमाले र नीतिरुपी दस्तावेज
नेकपा एमाले दोलखाले २ बर्ष अघि चयन गरेको जिल्ला कमिटीलाइ विघटन गरी अधिवेशन आयोजक कमिटी बनाएको थियो । हुनत जिल्ला कमिटीको कार्यावधी ३ वर्षको हुने गर्दछ तर पार्टी केन्द्रले सञ्चालन गरेको मिसन ग्रासरुट २०७९ अभियानबाट प्राप्त समिक्षा अनुसार सवै मातहतका कमिटीहरुले अवधी नपुगेको भएपनि अधिवेशन गर्नु पर्ने निर्णय गरेको थियो । सोही अनुसार दोलखामा पनि समय नपुग्दै अर्थात एक बर्ष अघी नैं अधिवेशन गरेको हो ।

अधिवेशन आयोजक कमिटीले मूख्य रुपमा २ खालका दस्तावेज तयार गरी अधिवेशनमा प्रस्तुत गरेको थियो । पहिलो प्रतिवेदनहरु थिए भने दोस्रो समृद्ध दोलखा सुखी दोलखाली भन्ने महत्वकांक्षी विकासमुखी दस्तावेज थियो । पहिलो दस्तावेज अन्तरगत विभिन्न प्रतिवेदनहरु समावेश थिए । आयोजक कमिटीका संयोजकबाट राजनीतिक, सहसंयोजकबाट सांगठनीक, वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखवाट आर्थिक प्रतिवेदन र केन्द्रीय लेखा आयोग सदस्यबाट लेखा परिक्षण सम्वन्धी प्रतिवेदन प्रस्तुत भएको थियो । यी प्रतिवेदनहरु अभिलेखको रुपमा प्रस्तुत भएको थियो । दोलखामा एमालेको उपस्थीति तथा पहिचानको अवस्था, वैठक तथा निर्णय कार्यान्वयन जस्ता अभिलेखहरु समेत समावेश थिए । दोलखामा रहेका अन्य दललाई एमालेले हेर्ने दृष्टिकोण उल्लेख गरेको छ । नेपाली कांग्रेसलाई दक्षिणपन्थी मानेको छ भने माओवादीलाई उग्रवामपन्थीको संज्ञा दिएको छ ।

दोलखा एमालेको चिरफार
संगठनको आकारको हिसावले जिल्ला कमिटी, ९ वटा पालिका कमिटी, ७४ वटै वडा कमिटी र ३ सय ६० भन्दा वढि टोल कमिटीहरु रहेको पाइयो । ७ हजार १ सय २६ पार्टी सदस्य रहेको देखिन्छ । यस जिल्लाबाट पार्टीको केन्द्रीय तहमा ३ जना पोलिट्व्युरो सहित ५ जना, वागमती प्रदेश कमिटीमा ५ जना महिला सहित १४ जनाले नेतृत्व गरेको पाइयो । नेकपा एमालेका २२ वटा जनसङ्गठनहरु मध्ये २१ वटा दोलखामा सांगठनिक रुपमा क्रियाशिल रहेको पाइयो । यी सङ्गठनहरु मध्ये केहीको वडा स्तरमा समेत गठन गरेको पाइयो ।

नेकपा एमाले दोलखाले दस्तावेजमा आफैले आफ्नो समिक्षा गरेको छ । सबल पक्षहरुको सूची बनाएको छ । अनी, कमजोरीहरु औंल्याएको छ । टोल देखिका पार्टी संरचनाहरु तयार, पार्टी केन्द्र देखि सबै तहमा नेतृत्व गर्न सक्षम हुनु, जिल्ला स्तरका सवै दलहरुलाई एकै ठाउँमा ल्याएर साझा सोच निर्माणकालागि अगुवाई गर्न सक्नु जस्ता विषयलाई सबल पक्ष भनेको छ । संगठन चुस्त नहुनु कमजोरीको रुपमा स्वीकार गरेको छ । यस्तो हुनुमा जिम्मेवार पार्टी नेता भुगोल केन्द्रीत नहुनु, शहरबजार केन्द्रीत पार्टी काममा मात्र चाख राख्नु, नेतृत्व लिन दौडादौड गर्नु तर जिम्मेवारी पूरा गर्ने समयमा आनाकानी गर्नु, नयाँ पुस्तालाई पार्टी अभियानमा आकर्षित गराउन नसक्नु जस्ता विषयलाई कमजोरी भनि औंल्याएको छ ।

त्यसै गरी सुधारकालागि केही वुँदाहरु समेत राजनीतिक दस्तावेजमा समावेश भएको छ । कमिटीहरुको प्रभावकारी क्रियाशिलताकालागि विभिन्न निर्वाचनमा उम्मेदवार छनौट गर्दा सम्वन्धीत तहगत कमिटीले नैं टुङ्गो लगाउनु पर्ने, निर्वाचनमा जारी प्रतिवद्धता पत्रको नियमित समिक्षा गरी सो प्राप्तीकालागि ध्यान केन्द्रीत गरिनु पर्ने, संख्यात्मक भन्दा पनि गुणात्मक पार्टी सदस्यहरु तयार गर्ने, सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारी अनुसार चल्ने, संवादमा आधारित वैठक प्रविधियुक्त दस्तावेजीकरणलाई जोड दिई आगामी कार्यभारको रुपमा चित्रण गरेको छ । एमाले दोलखाले तयार गरेको पार्टी कामलाई चुस्त वनाउन सवै नेताहरुको क्षमता अनुसारको भूमिका दिने र समृद्ध दोलखा सुखी दोलखाली भन्ने सोच कार्यान्वयनकालागि अगुवाइ गर्ने आगामी कार्यभारको रुपमा औंल्याएको छ ।

महत्वकांक्षी विकासमुखी सोच
नेकपा एमाले दोलखा अन्तरगत रहेका पालिका कमिटी, आफ्नो दलबाट उम्मेदवार भइ निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुसँग परामर्श गरी आयोजक कमिटीबाट समेत पारित गरेर एक दिर्घकालिन सोच अधिवेशनमा प्रस्तुत भएको थियो । समृद्ध दोलखा सुखी दोलखाली नाम दिएको रणनीतिक दस्तावेजमा एमाले दोलखाले अत्यन्त चाहना गरेको दूरदृष्टि ‘समृद्ध दोलखा, सुखी दोलखाली भएको समाजवाद उन्मुख दोलखा निर्माण’ निर्धारण गरेकोछ । सो प्राप्तीकोलागि ध्येय, लक्ष्य, उद्देश्य तथा कार्यनीति समेत दस्तावेजमा समावेश गरिएको छ । त्यसै गरी सो परिकल्पना प्राप्तीको उपायहरु समेत सुझाइएको छ ।

नेकपा एमालको दस्तावेजमा जनजिविकाको सवाल समेत समावेश गरिएको छ । खास गरी पार्टी सदस्य र उद्यमलाई परिपुरक मानेको छ । कृषि व्यवसायलाई सम्मानित पेशाको रुपमा स्थापित गर्ने, यसकालागि भुगोलमैत्री प्रविधिको खोजी गर्ने जस्ता विषयहरु समेत समावेश भएको छ । वाँदर नियन्त्रणको उपाय खोजीका विषयहरु समेत समावेश भएका छन् ।

समावेशी नेतृत्व
नेकपा एमाले दोलखा प्रविधि मैत्री पनि देखिएको छ । प्रतिनिधिहरुले अनलाइनबाट आफ्ना विवरणहरु भरेका थिए । त्यसैको आधारमा प्रतिनिधि परिचय पत्र तयार भएको थियो । मत माग्नकोलागि पनि प्रविधि प्रयोग भएको थियो तथापी प्रचार सामाग्रीकोलागि कागजमा छपाइ पनि नभएको होइन ।

दोलखा जिल्ला भरबाट चुनिएर आएका ६ सय भन्दा वढि प्रतिनिधिहरुले दस्तावेजलाई वैधानिकता दिएका छन् । त्यो नीतिगत दस्तावेजहरुलाई कार्यान्वयन गर्ने गरि नेतृत्व छनोटमा समेत प्रजातान्त्रीक अभ्यास मानिएको निर्वाचन भएको छ ।
समावेशी मर्म अनुसार महिला, जनजाती, दलित, यूवा, मजदुर, अपाङ्ग तथा अल्पसंख्यकलाई अलग अलग निर्वाचन क्षेत्र कायम गरिएको थियो । भुगोल अन्तरगत पनि स्थानीय तह अनुसार र पूरै जिल्ला भर पनि निर्वाचन क्षेत्र कायम गरिएको थियो । कुल ९० सदस्यीय कमिटीकोलागि निर्वाचन भएको थियो । त्यस मध्ये ८५ वटा सदस्य पद निर्धारण गरिएको थियो । सहमती हुन नसकी चुनाव भएका पदकालागि जिल्ला भरबाट आएका सबै प्रतिनिधिहरुले मत दिन पाउने व्यवस्था गरिएको थियो ।

एमालेका युवाको प्रतिनिधित्व
अहिले देखिएका दलहरु मध्ये नेकपा एमाले मात्र त्यस्तो पार्टी हो जस्ले ४० बर्ष मुनीका यूवालाई अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरेको छ । हरेक पालिकामा कम्तीमा १ जना र जिल्ला भरबाट कम्तीमा २ जना आरक्षित गराई निर्वाचन प्रकृया अपनाएको थियो । भीमेश्वर नगरपालिकामा एक पदकालागि ४ जना यूवा निर्वाचनको मैदानमा उत्रिएका थिए । आरक्षित कोटा वाहेक खुल्ला तथा अन्य निर्वाचन क्षेत्रहरुवाट पनि यूवाहरुको प्रतिनिधित्व भएको छ । एमालेमा यूवा छैनन्, यूवा आकर्षित हँुदैनन् भन्नेहरुकालागि गतिलो जवाफ भएको छ । नेकपा एमालेको विधान अनुसार ३३ प्रतिशत महिलाको प्रतिनिधित्व भएको छ । मूख्य पदाधिकारीहरु मध्ये एक उपसचिवमा महिलाको प्रतिनिधित्व भएको छ ।

अन्त्यमा, भीमेश्वर नगरपालिकामा नेकपा एमालेको नेतृत्व हुँदा निर्माण सुरु भएको जिल्लाकै एकमात्र कभर्ड हल निर्माण पूरा नहुँदै हतारहतार गरी यो अधिवेशन त्यही सञ्चालन भएको थियो । दोलखा जिल्लामा एक हजार भन्दा वढि सहभागी हुने गरी कार्यक्रम सञ्चालन गर्नु पर्दा स्थानको अभाव हुने गर्दथ्यो । दोलखामा अब त्यो अभाव खेप्नु पर्ने छैन । यसको जस पनि नेकपा एमालेलाई जान्छ । त्यसैले समृद्धिको सोच बनाउन र विकास गर्न नेकपा एमाले तुलनात्मक रुपमा अगाडी छ भन्दा कुनै फरक पर्दैन । दोलखामा भरपर्दो राजनीतिक दलको पहिचान बनाउन र समृद्ध दोलखा निर्माणको अगुवाई गर्न एमाले दोलखाको नवनिर्वाचित नेतृत्व सफल हुन सकोस् । शुभकामना ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *