मधेसी दललाई सिके राउत र रेशम चौधरी काउसो

राजनीति समाचार

काठमाडौं । मधेसी दलमा फेरि भित्रभित्रै नयाँ खिचडी पाक्दैछ । पछिल्लो समय एमाले, माओवादी,काँग्रेस लगायतका दलहरुलाई रवि लामिछाने,बालेन साहहरु चुनौती भइरहेको समयमा मधेशका दलहरुलाई काउसो सावित भएका छन् सिके राउत,रेशम चौधरीहरु ।
मिसन ८४ मा मधेशबाटै बडारिने र अस्तित्व रक्षा नहुने भयमा पुगेका छन् अहिले मधेसका शीर्षस्थ नेतृत्वहरु । मधेशका शक्तिका रुपमा चिनिएका उपेन्द्र यादव,राजेन्द्र महत्तो,महन्थ ठाकुर,हृदयेश त्रिपाठीहरु हुन ।

सिके राउतहरुको उदयबाट झस्किएका मधेसी दलहरु फेरि एकीकरणको तयारी गर्दैछन् । महन्थ ठाकुरसँग विद्रोह गरिरहेका राजेन्द्र महत्तो फरक पार्टी खोल्ने लहडमा लागेका छन् । उनी केही अघिमात्र दक्षिणतिर पुगेर आर्शिवाद बटुलेर फर्किएसँगै महन्थ र हृदयेश त्रिपाठीबीच लगनगाँठो कस्ने सुरसार हुँदैछ । हृदयेशलाई पिध नभएको लोटाका रुपमा मधेसी नेताहरुले चित्रित गर्ने गरेका छन् । कारण जतिखेर मधेशका ६ दल मिलेर राजपा बन्यो । हृदयेश त्यहाँ अटाएनन् ।

हृदयेश नअट्नुको कारण अनिल झा हुन भनिन्छ । आफूभन्दा धेरै जुनियर अनिल झालाई राजपाको अध्यक्ष मण्डलमा राखेपछि पटक पटक मन्त्री खाएका,पूराना र पाका संसदीय खेलाडी हृदयेशले विद्रोह गरे । एमालेको झण्डामा चुनाव लडे । संघीय मामिला मन्त्री खाए । अहिले फेरि अलग पार्टीको दोकान थापे । दोकान सुके पटिछ उनी अहिले नयाँ एजेण्डामा लागेका छन्,महन्थ र हृदयेशबीच पार्टी एकीकरण गर्ने तयारी चल्दैछ । त्यसका लागि राजेन्द्र महत्तो र अनिल झा पार्टीबाट निस्कनुपर्ने बताइएको छ । राजेन्द्र आफैं पाखा लाग्दैछन्,अनिललाई पनि बिस्तारै पाखा लगाउने तयारी भइरहेको छ । यी दुईलाई पाखा लगाए पछि हृदयेश र महन्थको पार्टीबीच एकीकरण हुने बताइएको छ । राजेन्द्र महत्तो र अनिल झाको स्कुलिङ एउटै भएका कारण यी दुबै बाहिरिएपछि महन्थ ठाकुर र हृदयेश त्रिपाठीबीच पार्टी एक हुने चर्चा छ मधेसी दलहरुभित्र ।

महन्थको पार्टी पनि उनी रहुन्जेलमात्र टिक्ने विश्लेषण गरिँदैछ । महन्थपछि त्यो पार्टीको लिगेसी बोक्ने कोही नभएका कारण त्यहाँका अधिकांश नेता काँग्रेसमै फर्कन्छनु भनिँदैछ जसरी चन्दा चौधरीहरु काँग्रेसी बनिन् । उता मधेसी दलहरुबीच उपेन्द्रलाई एक्ल्याउने गरी तयारी चलिरहँदा उपेन्द्र यादवले भने मधेशमै यादवहरुमात्र समेटेर पार्टी गठन गरेका छन् । सोमबारमात्र उनले त्यहाँका हर्ताकर्ता रामबाबु यादवलाई थाङ्नामा सुताएर सरकारी जागिरे कर्मचारीलाई राजीनामा दिन लगाएर पार्टीको हर्ताकर्ता बनाएका छन् ।

उपेन्द्रले सोमबार रामबाबु यादवलाई एक्कासी बर्खास्त गरेर स्वास्थ्यकर्मी बालकुमार यादवलाई जागिरबाटै राजीनामा गर्न लगाएर मधेश प्रदेशको अध्यक्ष बनाएका छन् । आफूहरुलाई बाहुनहरुले हेपे,जातीय दबाबमा प¥र्यौ भनेर अलग पार्टी बनाएका उपेन्द्रले अस्ति विस्तार गरेको नयाँ कार्यसमितिमा ९० प्रतिशत यादवहरुको बाहुल्यता छ ।

बाँकी १० प्रतिशत मात्र अन्य जातका छन् । अरुलाई जातीय राजनीति गरेको आरोप लगाउने मधेशका अधिकांश दलहरुमा हेर्ने हो भने मधेशका उपल्ला भनिएका जातका दलहरुकै बोलबोला देखिन्छ । हरेक मधेसी पार्टीको केन्द्रीय कार्यसमिति हेर्ने हो भने अधिकांश मधेसी दलमा तल्ला जातीहरु उत्पीडन र पेलानमै छन् । मधेसीहरुको जातीय राजनीति पनि हात्तीको देखाउने दाँतजस्तै हो भन्छन्, विश्लेशकहरु चाहिँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *