काठमाडौं । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अधिवेशन आगामी फागुन २५ देखि २७ गते सम्पन्न हुदैँछ । प्रेस चौतारीको सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । प्रेस चौतारीले नयाँ नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत गर्ने प्रयास गरिरहेको छ । तर, अध्यक्षलगायत विभिन्न पदाधिकारीका अध्यक्षहरु धेरै देखिएकाले निर्वाचन हुने सम्भावना पनि त्यत्तिकै छ । अहिलेसम्म प्रेस चौतारी नेपालको अध्यक्षमा दावी गर्नेहरु माधव नेपाल, गणेश पाण्डे, राजेश राई र हिरामान लामाको नाम चर्चा छ ।
चर्चामा रहेका यी चारजना प्रतिस्पर्धीमध्येबाट कसलाई सर्वसम्मत चयन गर्ने भन्ने प्रयास पनि भइरहेको छ । त्यसैगरी एकीकृत समाजवादी प्रेस संगठन परित्याग गरी प्रेस चौतरी नेपालमा फर्किएका विश्वमणि सुवेदीले पनि अध्यक्षमा दावी गर्ने सम्भावना देखिन्छ । सुवेदीले अध्यक्ष दावी गरेको खण्डमा समाजवादी प्रेस संगठनको अध्यक्ष नै छाडेर दलबलसहित आएका व्यक्तिलाई पार्टीले अध्यक्ष नदेला भन्न सकिँदैन । हुन त सुवेदीले ‘मलाई पार्टीले जुन पदको जिम्मेवारी दिन उचित ठान्छ, त्यसैमा बसेर काम गर्नेछु’ भन्ने प्रतिवद्धता जनाएका छन् । त्यसैगरी महासचिवको लागि पनि धेरै जना आकांक्षी देखिएका छन् ।
अहिलेसम्म प्रेस चौतारीको महासचिवमा दावी गर्नेहरु सुरोजंग पाण्डे, हरिबल्लभ नेपाल, नरेश भण्डारी, राजु सुवेदी र लोकसरी कुँवर रहेका छन् । यिनैमध्येबाट कसलाई महासचिव बनाउने हो त्यो निश्चित भइसकेको छैन । अन्य पदाधिकारी र सदस्यहरुको लागि अहिलेसम्म चर्चा छैन । हुन त प्रेस चौतारीमा जेष्ठता, क्षमतावान र संगठनलाई बलियो बनाउन सक्ने व्यक्तिलाई पाखा लगाएर नेताका खल्तीका व्यक्तिहरुलाई पदाधिकारी बनाउने चलन विगत लामो समयदेखि चन्दै आएको छ । यसपालिको अधिवेशनमा पनि नेताका खल्तीका व्यक्ति टपक्क टिपेर संगठनको नेतृत्वमा नपु¥याउलान् भन्न सकिँदैन ।