अध्यागमनका फरार कर्मचारी कहिले पक्राउ पर्ने ?

राजनीति समाचार

काठमाडौं । नेपालबाट भारतको बाटोहुँदै विचौलियाले भिजिट भिसामा लुकीछिपी नेपालीहरुलाई अवैध रुपमा विदेश पाउँदै आएका थिए । भारतसँगै नेपालको अध्यागमन कार्यालय एयरपोर्टबाट पनि कर्मचारी र विचौलियाहरुको मिलेमतोमा भिजिट भिसाबाटै नेपालीहरुलाई विदेश पठाएको समाचार तामाकोशी सन्देश डटकमले गत मंसिर २० गते र तामाकोशी सन्देश साप्ताहिकले मंसिर २७ गते प्रकाशित गरेको थियो । त्यही समाचारको विषयलाई लिएर सीआईबीले अध्यागमन कार्यालय एयरपोर्टमा व्यापक रुपमा छानविन अगाडि बढाएको थियो ।

एयरपोर्टमा सीआईवीको निगरानी कडा हुँदै गएपछि प्रहरीसँग अध्यागमन कार्यालयका भ्रष्ट कर्मचारीहरु रुस्ट हुँदै गएका थिए । त्यसैको निहुमा कर्मचारी र प्रहरीबीच कुटाकुटको स्थितिसम्म सिर्जना भएको थियो । उक्त घटनापछि तामाकोशी सन्देशले ‘अध्यागमनका कर्मचारी भागाभाग’ शीर्षकमा माघ १० गते फेरि समाचार प्रकाशित गरेको थियो । त्यसबेला सीआईबीले एयरपोर्टमा कार्यरत केही कर्मचारीलाई पक्राउ पनि गरेको थियो । केही कर्मचारी फरार र केही कर्मचारी पक्राउ परेपछि पोलखोला खोल भएको थियो । त्यो पोल खुलेपछि पक्राउ परेका कर्मचारीविरुद्ध अदालमा मुद्दा परेको थियो ।

मुद्दा परेकामध्ये नरवीर खड्का, मनोज तामाङ, अरुण दाहाल र सरोज यादव जेल परिसकेका छन् । उता, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिजाल, सैलेश ढकाल, विमल पौडेल, विष्णुप्रसाद आचार्य, ताराबहादुर कुँवर र कुशल बराल भने अझै फरार रहेका छन् । फरारमध्येका कुशल बराल वैदेशिक रोजगारको अनुगमन विभागमा रहँदा प्रत्येक मेनपावर कम्पनीबाट एक लाखको दरले पैसा उठाउने गरेका थिए । त्यसरी मेनपावर कम्पनीबाट उठाएको पैसा विभिन्न शक्तिकेन्द्रमा बुझाएर विभिन्न मालदार अड्डाहुँदै अध्यागमन कार्यालय एयरपोर्टमा पुग्न बराल सफल भएका थिए ।

बरालकै डिजाइनअनुसार भिजिट भिसामा सेटिङ मिलाएर नेपालीहरुलाई एयरपोर्टबाट विदेश पठाउँदै आएका थिए । यतिबेला एयरपोर्ट अध्यागमन कार्यालयका फरार कर्मचारीको सम्पत्ति राज्यले छानबिन गर्ने हो कहाली लाग्दो अवस्था देखिन्छ । तर, राज्यले त्यो आँट गर्न सक्छ कि सक्दैन प्रतिक्षाको विषय बनेको छ । अध्यागमन कार्यालय एयरपोर्टमा बाँकी रहेका कर्मचारी पनि अन्यत्र सरुवा भएर जान विभिन्न शक्तिकेन्द्रदेखि कर्मचारी नेताहरुको घरदैलो धाउन थालेका छन् ।

सरुवा हुन चाहने कर्मचारीलाई कर्मचारी नेताहरुको यस्तो सुझाव रहने गरेको छ, ‘मुद्दा किनारा नलाग्दासम्म तपाईंहरु अन्यत्र सरुवा हुने कुरा नगर्नुहोस् । यतिबेला सरुवा हुनुभयो भने यो केसमा तपार्इंंहरु पनि फस्न सक्नुहुन्छ ।’ कर्मचारी नेताहरुको यस्तो सुझाव दिइरहँदा उनीहरु चाँडोभन्दा चाँडो अध्यागमन कार्यालय एयरपोर्टबाट अन्यत्र सरुवा हुनको लागि ज्यान फालेर लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *