प्रधानमन्त्री र अर्थमन्त्रीको सम्बन्ध चिसिँदै, मुख्यसचिवकै कारण कर्मचारीभित्र भद्रगोल

राजनीति समाचार

काठमाडौं । गठबन्धन सरकारका मन्त्रीहरुले भनेजस्तो काम नगरेको आरोप एकातिर छ भने अर्कोतिर आर्थिक समस्याले विकास निर्माणका काम हुन सकेका छैनन् । यतिबेला गठबन्धन सरकार विस्तारै बद्नाम हुँदै गएको छ । प्रधानमन्त्री प्रचण्डले पनि सत्तासाझेदार ठूलो दल कांग्रेसबाट धोका भएको अभिव्यक्ति दिन थालेका छन् । मन्त्रिमण्डल परिवर्तन गर्ने भनिरहँदा प्रधानमन्त्री प्रचण्डले काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाउन पनि सकेका छैनन् ।

कांग्रेसबाट अर्थमन्त्री बनेका डा. प्रकाश शरण महतले देशको अर्थतन्त्रलाई चलायमान बनाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि जनाइरहेका छन् । निर्माण व्यावसायीलाई दिनुपर्ने भुक्तानी प्रधानमन्त्रीले चाँडै दिनुभन्दा पनि अर्थमन्त्री महतले आलटाल गरिरहेका छन् । प्रधानमन्त्रीले भनेको अर्थमन्त्रीले नमानेपछि प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्दै गएको गएको छ । प्रधानमन्त्री र अर्थमन्त्री एउटै दलको हुँदा त काम हुन सकेको थिएन भने अहिलेका प्रधानमन्त्री माओवादीका छन् भने अर्थमन्त्री कांग्रेसका छन् । त्यसकारणले पनि अर्थतन्त्र चलायमान हुन सकेको छैन ।

उल्टै अर्थमन्त्री डा. महतले बजेटको आकार घटाएर अर्थतन्त्रलाई साँघुरो बनाइदिएका छन् । अर्कोतर्फ स्थायी सरकार भनेर चिनिने कर्मचारीतन्त्रभित्र मुख्य सचिव बैकुण्ठ अर्यालले कर्मचारीतन्त्रलाई चलायमान बनाउन सकेका छैनन् । यतिबेला कर्मचारी वृत्तमा मुख्यसचिवले राम्रो भूमिका खेल्न नसकेको आरोप पनि त्यत्तिकै छ । सरकारले तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल नै नसकिई जिम्मेवारीबाट हटाएर सुरक्षा परिषद्मा पठाएको थियो । रेग्मीलाई सुरक्षा परिषद्मा पठाएपछि बैकुण्ठ अर्यालयलाई मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । मुख्यसचिव अर्याल थपनाको रुपमा मात्रै गनिएका छन् ।

अर्यालले उप–सचिवबाट सह–सचिवमा बढुवा भएका २७ जना सह–सचिवहरुलाई कार्य क्षेत्रमा खटाउन पनि सकेका छैनन् । उनीहरु सिंहदरबारभित्र घाम तापेर बसिरहेका छन् । कतिपय वरिष्ठ सचिवहरुलाई पाखा लगाएर कनिष्ट सचिवहरुलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरुसँग न त कार्यदक्ष र क्षमता छ, न त अनुभव नै छ । सरकारले २८ जना सह–सचिवहरुको सरुवा गरेर विभिन्न स्थानमा खटाउँदा पनि कार्यक्षेत्रमा नबसेर भनसुन र लेनदेनको आडमा निर्णय उल्टाइएको थियो । अधिकांश क्षमता, योग्यता र अनुभव भएका सचिवहरुले त्यो अनुसारको जिम्मेवारी नपाएको गुनासो गरिरहेका छन् ।

त्यसैमध्येका एक जना सचिवले नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, ‘अहिले नेपालमा सरकार छ कि छैन ? सरकारको उपस्थिति पनि कहीँकतै देखिँदैन, जता जाऊँ खाली पैसाको चलखेल भएको समाचार पाइन्छ । कर्मचारीतन्त्र पनि त्यस्तै छ । म त जागिरै छोडौं कि जस्तो दोधारमा परेको छु । एउटै पार्टीको सरकार हुँदा त भनेजस्तो काम हुँदैनथ्यो । काम पनि गर्न दिइँदैन थियो । अहिले झन् ६, ७ दलको सरकार छ । मन्त्रीहरुको मुख दश तिर फर्किएको छ । अनि कसरी पाउँछ देशले निकासा ।’ हुन पनि सरकारको अवस्था हेर्दा त्यस्तै देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *