कांग्रेस महासमिति बैठक ‘हात्ती आयो, हात्ती आयो’ फुस्सा !

राजनीति लेख

रामचन्द्र बस्नेत
प्रजातन्त्रसँगै लोकतन्त्रको मियो भनेर चिनिने नेपाली कांग्रेसको विधान महाधिवेशन (महासमिति) बैठक यही फागुन ७ गतेदेखि गोदावरीमा चलिरहेको छ । कांग्रेसको सो महासमिति बैठकमा महामन्त्रीले पेश गर्ने प्रस्तावलाई सभापतिले अस्वीकार गरेपछि सभापति र महामन्त्रीबीच ठूलै घम्साघम्सी चलेको थियो । महामन्त्री गगनकुमार थापाले उठाएको चुनावी तालमेल (गठबन्धन) गर्ने कि नगर्ने भन्ने सम्बन्धमा उठाइएको सन्दर्भलाई लिएर सभापति शेरबहादुृर देउवा र महामन्त्री गगन थापाबीच रस्साकस्सी चलेको थियो । सभापति र महामन्त्रीको रस्साकस्सी उद्घाटन सत्रमा छताछुल्ल भएको थियो ।

महामन्त्री थापाले आगामी निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने कि नगर्ने भन्ने सम्बन्धमा उठाएको विषयलाई लिएर सभापति शेरबहादुर देउवाले आपत्ति प्रकट गरेका थिए । महामन्त्रीको प्रस्तावलाई लिएर सभापति देउवाले अधिकांश विषयवस्तु सच्याउन आग्रह समेत गरेका थिए । उता, इतरपक्षका अधिकांश नेताहरुले महामन्त्रीले उठाएको विषय पास हुनुपर्नेमा जोड दिइरहेका थिए । विधि र विधानमा महामन्त्री र सभापतिबीच नै घम्साघम्सी भएपछि कांग्रेसको विधान महाधिवेशन (महासमिति) बैठकको अधिकांश समय विवाद र चर्काचर्कीमा बितेको थियो ।

धेरैजसो विवाद आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गरेर जाने कि एक्लै चुनाव लड्ने क्षमता राख्ने भन्ने सम्बन्धमा ठूलो बहस चलेको थियो । सभापति देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरुले समय परिस्थिति अनुसार चल्नुपर्ने हुन्छ भनिरहेका थिए भने इतरपक्षका नेताहरुले कांग्रेसका कार्यकर्तालाई गठबन्धनको नाममा अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्न बाध्य नपारियोस् भनेर आवाज उठाइरहेका थिए । संस्थापन पक्ष र इतरपक्षसँगै विभिन्न गुट उपगुटहरुले पनि आआफ्नो अडान छाडेका थिएनन् । उता, केन्द्रीय सदस्य चन्द्र भण्डारी समूहले नेपाललाई सनातन हिन्दू राष्ट्र बनाउनुपर्ने अडान लिइरहेका थिए ।

चन्द्र भण्डारीको हिन्दू राष्ट्रको एजेण्डाले महासमिति बैठकमा ठूलो ठाउँ लिएको छ । यसले कांग्रेसभित्र सनातन हिन्दू राष्ट्र राख्ने कि नराख्ने विषयमा महासमिति बैठकपछि पनि बहस, छलफल चलिरहने देखिन्छ । त्यसकारण पनि कांग्रेसभित्र संस्थापन पक्ष र इतरपक्षसँगै नेतैपिच्छे गुट, उपगुट झाँगिने क्रम जारी छ । कांग्रेसँगै अन्य राजनीतिक दलहरुमा पनि नेतैपिच्छे गुट, उपगुट भएको कारण निर्वाचनमा दलहरुले पराजय भोग्नुपरेको छ । कांग्रेस, एमाले, माओवादी जस्ता दलका शीर्ष नेताहरु सधैं सत्ता र शक्तिको आडमा पार्टी नेतृत्व हत्याइरहने खेलले गर्दा राजनीतिक दलहरुप्रति सर्वसाधारण जनताको विश्वास गुम्दै गएको छ ।

यतिबेला कांग्रेसले महासमिति बैठक गरिरहँदा पार्टीका नेता, कार्यकर्ता एक ढिक्का भएर अगाडि बढ्ने अवस्था देखिँदैन । त्यस्तो हुनुमा शीर्ष नेताहरुको छुट्टै खेमा छ भने अन्य नेताहरुको छुट्टै टिम छ । कार्यकर्ताहरु टिमैपिच्छेका छन् । त्यसकारण पनि कांग्रेस एक ढिक्का भएर अगाडि बढ्ला भन्ने अवस्था छैन । त्यसैले पनि जारी कांग्रेसको विधान महाधिवेशन (महासमिति) बैठक हात्ती आयो, हात्ती आयो’ फुस्सा जस्तै हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *