मन्त्री गुरुङ नयाँ महानिर्देशकको खोजीमा

राजनीति समाचार

काठमाडौं । गठबन्धन सरकार बनेको एक वर्ष पुरा भइसकेको छ । गठबन्धन सरकारबाट सहरी विकासमन्त्री बनेकी सीता गुरुङ विवादै विवाको घेरामा बाँधिएकी छिन् । मन्त्री गुरुङले सहरी विकास मन्त्रालयको गर्नुपर्ने काममा भन्दा कमाउ धन्दामा दिन बिताउन थालेपछि विवाद चुलिँदै गएको हो । मन्त्री गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु देउवा राणालाई पनि रिझाउन नसकेको भनाइ छ ।

डा. आरजु देउवा राणा असन्तुष्ट भएपछि सहरी विकास मन्त्रीबाट सीता गुरुङलाई हटाएर अन्यलाई मन्त्री बनाउने हल्ला पनि चल्न थालेको छ । मन्त्री गुरुङले सहरी विकास मन्त्रालय अन्तर्गत पर्ने राष्ट्रिय आवास कम्पनीमा कार्यरत कर्मचारीलाई बिनाकारण जागिरबाट हटाएको आरोप छ । किन कि राष्ट्रिय आवास कम्पनीका तत्कालीन जीएम नारायणप्रसाद बास्तोलाले राखेका २७ जना विभिन्न पदमा कार्यरत कर्मचारीलाई मन्त्री गुरुङले हटाएकी हुन् ।

मन्त्री गुरुङले अहिले राष्ट्रिय आवास कम्पनीमा आफ्ना मान्छे भर्ती गर्न रामकृष्ण निरौलालाई जिएम बनाएर पठाएकी छिन् । गत दशैंको मुखमा आवास कम्पनीमा कार्यरत रहेका कर्मचारीलाई हटाउने काम गरेर मन्त्री गुरुङ विवादित बनेकी थिइन् । त्यसको विरुद्धमा कर्मचारीहरु श्रम अदालतसमेत पुगेका थिए । श्रम ऐन अनुसार रिट दायर गरेपछि उक्त रिटको सुनुवाइ दुवै पक्षलाई राखेर श्रम अदालतले छलफल गराएको थियो ।

त्यसरी हटाइएका २७ जना कर्मचारीहरुलाई गत माघ महिनासम्मको तलब र सेवा सुविधा दिएर बिदाइ गरिएको छ । उता, सहरी विकास मन्त्रालयमा रहेका ५ जना सिनियर सहसचिवलाई पाखा लगाएर कनिष्ट सहसचिव सुरेन्द्रमोहन श्रेष्ठलाई महानिर्देशक बनाएर मन्त्री गुरुङ विवादमा परेकी थिइन् । महानिर्देशक श्रेष्ठले पनि भवन विभागलाई चलायमान बनाउन सकेका छैनन् ।

अब उनले भवन विभाग चलाउने समय पनि सकिइसकेको छ । उनको जागिरे अवधि यही फागुन १९ गते सकिँदै छ । महानिर्देशक श्रेष्ठको कार्यकाल सकिन लागेपछि नयाँ महानिर्देशकको खोजी हुन थालेको छ । भवन विभागको महानिर्देशक को बन्ने हुन् अहिलेसम्म एकिन छैन । तर, मन्त्री गुरुङ भने जसले मोटो रकम कमिसन दिन सक्छन् उसैलाई महानिर्देशक बनाउने चक्करमा छिन् । विभाग अन्तर्गत रहेका ५ जना सहसचिवमध्ये सबै चल्तीफिर्ती गर्न सक्नेमा गनिन्छन् । तर, ती ५ जना सहसचिवमध्येबाट महानिर्देशकको पद कसले हात पार्ने हुन् त्यो भने एकिन भइसकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *