संसद भवनसँगै अन्य क्षेत्र पनि असुरक्षित बन्दै

राजनीति समाचार

काठमाडौं । कर्मचारी प्रशासन त फितलो छँदैथियो, हुँदाहुँदा सुरक्षा निकाय पनि कमजोर बन्दै गएको छ । त्यसको उदाहरण बनेको छ नयाँबानेश्वरस्थित संसद भवन । जब कि संसद् भवन वरपरलाई निषेधित क्षेत्र तोकिएको छ । बानेश्वर भित्रका क्षेत्रमा जुलुस, धर्ना, सभासम्मेलन गर्न निषेध गरिएको छ भने संसद भवनभित्रै लुघुवित्त र मिटरब्याजी पीडितहरु कसरी प्रवेश गरे ? कडा सुरक्षा घेरा तोडेर ती पीडितहरु संसद् भवनभित्र प्रवेश गरेर सुरक्षा निकायलाई चुनौती दिएका छन् ।

जब कि संसद भवनभित्र सांसद, कर्मचारी र संसदीय रिपोर्टरको परिचयपत्र भएका पत्रकारहरु मात्रै छिर्न पाउने व्यवस्था छ । संसदीय रिपोर्टिङ परिचयपत्र नभएका अन्य पत्रकारले पनि संसद् भवनभित्र प्रवेश पाउँदैनन् । सुरक्षाकर्मीले अनुमति नदिईकन कुनै पनि व्यक्तिहरु संसद् भवनभित्र प्रवेश गर्न पाइँदैन । त्यस्तो कडा सुरक्षा भएको सम्वेदनशील ठाउँमा कसरी एकाएक लघुवित्त र मिटरब्याजी पीडितहरु प्रवेश गर्न सफल भए ? त्यो पनि एक÷दुई जनामात्रै नभएर ४०, ५० जनाको हुल ।

यो घटनाले नेपालको सुरक्षा निकाय कतिसम्म कमजोर रहेछ भन्ने प्रष्ट हुन्छ । यसले भोलिका दिनमा राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, सर्वोच्च अदालत, राष्ट्र बैंक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठाउँपनि असुरक्षित बन्ने देखिन्छ । सशस्त्र प्रहरी र जनपथ प्रहरीको कडा सुरक्षा घेरा तोडेर दिनदहाडै सर्वसाधारण पीडितहरु संसद् भवनभित्र प्रवेश गर्दा पनि सुरक्षाकर्मीले रोक्न नसक्नु कतिसम्म लाजमर्दो अवस्था हो ।

राजनीतिक दलका नेताहरुले सुरक्षा निकाय र कर्मचारीभित्र व्यापक राजनीतिकरण गरेका कारण पनि यस्ता घटनाहरु हुन थालेका छन् । उता, गृहमन्त्री र गृहसचिवबीचको टसलले सुरक्षा निकायभित्र असन्तुष्टी बढ्दै गएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीभित्र आइजीपी र एआईजीहरु बीचको बेमेलका कारण पनि सुरक्षा निकाय फितलो बन्दै गएको छ । आइजीपी र एआईजीहरु बीच बेमेल हुनुको मुख्य कारण सुरक्षाकर्मीको सरुवा, बढुवामा दक्ष, योग्य र अनुभवीलाई अवसर दिनुको सट्टा भनसुन र लेनदेनमा अयोग्य व्यक्तिलाई जिम्मेवार ठाउँमा पु¥याउनु हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *