टेरामक्स काण्डमा को फस्ने, को जोगिने ?

राजनीति समाचार

काठमाडौं । टेरामक्स काण्डमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई पदबाट राजीनामा गराउने अथवा विदामा बस्ने भन्नेबारे विवाद चलिरहेको छ । अर्कोतिर मुख्यसचिवले राजीनामा दिएको खण्डमा जेष्ठताको आधारमा मुख्यसचिवको दाबी गर्नेहरुको लर्को नै थियो । त्यसमा स्वास्थ्य सचिव देवकुमारी गुरागाईं, श्रम सचिव केवल भण्डारी, शिक्षा सचिव सुरेश अधिकारी, रामकुमार सुवेदी र एकनारायण अर्याल मुख्यसचिव हुन पाइन्छ कि भनेर मुख मिठ्याइरहेका थिए ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी देवी कुमारी गुरागाईंको यही फागुन २६ गते जागिरे अवधि समाप्त हुँदै छ । त्यसैगरी श्रम तथा रोजगारमन्त्रालयका सचिव केवल भण्डारीको जागिरे अवधि आगामी चैत्र ११ गतेसम्म मात्रै छ । शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीको आगामी वैशाख १७ गते जागिरे अवधि सकिँदैछ । वन सचिव रेवतीरमण पौडेल आगामी वैशाख २७ गते अवकासमा जाँदैछन् ।

एकातिर मुख्यसचिव विवादमा परेका छन्, अन्य सचिवहरु पनि जागिरबाट अवकास पाउँदैछन् भने केही सचिवहरु भ्रष्टाचार मुद्दामा तानिँदैछन् । यी र यस्ता कारणले गर्दा अहिले कर्मचारीतन्त्रभित्र विभिन्न टिकाटिप्पणी हुन थालेको छ । टेरामक्स काण्डमा मुछिएका कारण मुख्यसचिवले राजीनामा दिने अथवा विदामा बस्ने सम्भावना बढे तापनि प्रधानमन्त्री प्रचण्डले उनलाई भित्री रुपमा तपाईंले राजीनामा पनि दिनुपर्दै र डराउनुपनि पर्दै भनी आश्वासन दिएका छन् ।

त्यसकारणले पनि मुख्यसचिव टेरामक्स काण्डमा जोगिने सम्भावना छ । उता, तत्कालीन सूचना तथा सञ्चारमन्त्री ज्ञानेबहादुर कार्की, मोहनबहादुर बस्नेत, तत्कालीन सचिव महेन्द्रमान गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका हालका सचिव विनोद सिंह र तत्कालीन दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाईसमेत अख्तियार विशेष अदालतमा मुद्दा दायर गर्ने सम्भावना बढेर गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *