समृद्धिको लागि दोलखाका सामुदायिक वनहरुको कोशिस

राजनीति लेख

सामुदायिक वन अभियानको ४ दशकको अवधीमा वन क्षेत्र वृद्धि भएर ४५ प्रतिशत नाघिसक्यो । उजाड हुन लागेका पाखा पखेरा, डाँडाहरु हरियाली भए तर यसवाट उपभोक्ताको समृद्धिमा अपेक्षाकृत उपलव्धी हासिल हुन सकेन । वन जोगाउन उत्कृष्टता हासिल भयो तर सदुपयोग तिर ध्यान जान सकेन । यस परिवेशमा दोलखाका केही सामुदायिक वनहरुले सामुहिक अठोट गरेका छन् । सामुदायिक वनका मूख्य पदाधिकारीहरुलाई आफु नेतृत्व भएकै बेलामा आर्थिक समृद्धिसँग जोडिएन भने सामुदायिक वन अभियान नैं संकट पर्छ कि भनेर चिन्ता लाग्न थालेको छ । अनी सामुहिक पहलमा वन स्रोतलाई आर्थिक समृद्धिकालागि प्रयोग गर्ने कोशिस गरेका छन् ।
मर्ममा विचलित

संसारमा सवै भन्दा वुद्धि भएको प्राणी कुन हो ? सजिलै आउने उत्तर हो ‘मान्छे’ । तर बुद्धि भएको मान्छे नामक प्राणी खान नपाएर मरेको छ तर जङ्गली जनावरहरु त्यस्तो भएको भेटिन्न । किन होला ? यस प्रश्नमा उत्तर विभिन्न आउन सक्छ । त्यस मध्येको एक उत्तर पशुमा भण्डारणको पद्धती हुन्न तर मान्छेमा हुन्छ । मान्छेले चाँही सात पुस्तालाई पुग्ने सम्पत्ति भए पनि आठौं पुस्ता भोकै मर्छ भन्ने चिन्ता लिन्छ । जनावरले त्यता वास्ता गर्दैन । तथापी मुसा, कमिला र मौरीले भण्डारण गरेको देखिन्छ । जनावरहरुका चाँही शक्तिशालीले भण्डारण गर्दो रहेनछ, बाघ, हात्ति, सिंहले सञ्चीतिमा ध्यान दिंदैनन् । तर मानिसमा चाँही उल्टो हुने गर्दछ । बलियोले सञ्चय गर्दछ । विपन्नलाई छाक टार्न नैं हम्मेहम्मे पर्दछ ।

जनावरको कुरा छाडौं, मानिसको चर्चा गरौं । स्रोत हत्याएर सबल हुने धनीहरु हुन् विपन्न हैनन् । सुगमका हुन् दुर्गमका होइनन् । सिमित छन् आममानिस हैनन् । संख्यामा धेरै भएका विपन्नहरुले स्रोतलाई सम्पत्ति रुपमा प्रयोग गरि समृद्ध हुनु सामाजिक न्याय हो । यहि सोचका साथ प्राकृतिक स्रोतमा आधारित सामुदायिक अभियानहरु चलिरहेका छन् । त्यस मध्ये एक हो सामुदायिक वन अभियान ।
सामुदायिक वनको मूल मर्म भनेकैं वन जोगाउने, सदुपयोग गर्ने र विपन्नलाई सशक्तिकरण गर्ने हो । वन जोगाउने काममा विशिष्ट श्रेणीको सफलता मिल्यो । अर्थात मुलुकको वन क्षेत्र वढेर ४५ प्रतिशत नाघि सक्यो । तर सदुपयोगमा सफलता आएन । विपन्नको सशक्तिकरण त धेरै परको विषय भएको छ ।

संरक्षणमा सफल उपयोगमा अलमल
वन स्रोतको सदुपयोग गर्न सामुदायिक वन अभियान अलमलियो । यो अन्यौलताबाट निकाश खोज्न सामुदायिक वनहरुको छाता संगठन फेकोफन दोलखाले संवादको थालनी गरिरहेको छ । वन स्रोत छ तर सदुपयोग हुन सकेन । उद्यममा जान सकिएन भनेर पालिका स्तरमा केही संवादको थालनी गरेको छ । भीमेश्वर नगरपालिका भित्र रहेका ५ दर्जन भन्दा वढि सामुदायिक वनहरु मध्ये ५० हेक्टर भन्दा वढि क्षेत्र अँठ्याएर वसेका सामुदायिक वनहरुका मूख्य पदाधिकारीहरुको अर्थपूर्ण संवादको आयोजना ग¥यो । वन स्रोतलाई सम्पत्तिमा रुपान्तरण गर्न गरेको काम र गर्न नसक्नुको कारण सुनाए । सामुदायिक वनका पदाधिकारीहरु घोत्लीए केही संभावनाको तान्द्रो पहिल्याए ।

सामुदायिक वनहरुका पदाधिकारीहरुले प्रदेश सरकारको वन सम्वन्धी काम गर्ने जिल्लाको इकाई डिभिजन वन कार्यालयका प्रमुख र स्थानीय सरकारका सामु उद्यम विकासका संभावना औल्याए । सामुदायिक वनलाई परेको कठिनाई पनि सुनाए । भीमेश्वर नगरपालिकाको तल्लो भुभागमा रहेका वनमा खोटे सल्लाहरु प्रशस्तै रहेकोले खोटो संकलनको योजना अघि सारे । माथिल्लो भागमा रहेका सामुदायिक वनहरुले जडिवुटी संकलन र ग्रेडिङ्ग गरी विक्रि गर्ने चाहाना राखे । त्यसै गरी भीमेश्वर नगरपालिका वडा नं. १ मा रहेको दमार थामी सामुदायिक वनले विभिन्न वनस्पतीको पातवाट तेल निकाल्ने कामको अगुवाई गर्ने त्यसकालागि अरु समूहहरुवाट कच्चा पदार्थ उपलव्ध गराउन आग्रह गरे । अरु समूहले सहमती जनाए ।

भीमेश्वर नगरपालिका वडा नं. ९ मा रहेको शंखदेवी सामुदायिक वनले धसिंगरेको पातबाट तेल निकाल्ने कुरा राखे । छिमेकी सामुदायिक वनवाट धसिंगरेको पात उपलव्ध हुने आशा गरे । त्यही समूहले कुनै समूह वा उपभोक्ताले फर्निचर कारखाना चलाउने भए हामी काठ उपलव्ध गराउन सक्ने बताए । भीमेश्वर नगरपालिका वडा नं. २ मा रहेको एक सामुदायिक वनले पर्यटन विकासमा काम गरी आयआर्जनको सोच रहेको सुनाए । त्यसै गरी चरिकोट बजारसँगै जोडिएको खोर्थली सामुदायिक वनले विरुवा उत्पादन गर्ने र सहज मूल्य विक्रि गर्ने योजना अनुसार काम थालेको बताए । सामुदायिक वन क्षेत्र र नीजि जमिनमा पनि छिटो आयआर्जन हुने कुनै विरुवा माग भएमा त्यही अनुसार उत्पादन गर्ने प्रतिवद्धता समेत जनाए ।

स्रोतमा आधारित सञ्जाल
भीमेश्वर नगरपालिका भित्र पनि स्रोतमा आधारित सामुदायिक वन र नीजिक उद्यमीहरुको सञ्जाल पनि तयार भएको छ । स्रोतको समुचित व्यवस्थापन गरी उपभोक्ताको आर्थिक समृद्धिमा टेवा पु¥याउने मूख्य ध्येय रहेको छ । यस्तै खाले संवाद अन्य पालिकाहरुमा पनि भैरहेको छ । जिरी नगरपालिकामा रहेको कालोभिर सामुदायिक वनबाट अर्गेली, दाउरा, छिनछिने विक्रि भैरहेको पाइयो । त्यसै गरी ठुलनागी सामुदायिक वनमा भएका झिजामिजाबाट कोल बनाई प्रतिभारी रु ५० मा बेच्ने गर्दो रहेछ ।

विगतमा ७ वटा सामुदायिक वन उपभोक्ता समूहहरु समेतले मिलेर एभरेष्ट गेट वे नामक उत्पादनमूलक कम्पनी बनाएको रहेछ । अहिले वन्द छ । पुनः सञ्चालनमा सामुदायिक वनका पदाधिकारीहरु एकमत भएका छन् । यसकालागि थप गृह कार्यकालागि जिरी नगर फेकोफनले संयोजन, सहजिकरण र नेतृत्व गर्ने भएको छ ।

संवादबाट वन स्रोतलाई उद्यम विकास गर्न सामुहिक अठोट आएको छ । सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारी अवधारणा सुरु भएको छ । सामुहिक सहकार्यको संभावना वढेको छ । वन स्रोतलाई सम्पत्ति वनाउने कोशिस हो । आम्दानी भएमा मात्र विपन्नको सशक्तिकरण गर्न सकिन्छ । अब गफ मात्रै होइन, स्रोतलाई सम्पत्ति वनाउने खेती गर्न जरुरी छ । अनी मात्र हुन सक्ला ‘सामुदायिक वन सबैकालागि सधैंकालागि’ । त्यती मात्रै होइन सामुदायिक वन निमुखाको धन मर्म स्थापित हुन जरुरी छ । यसकोलागि गफले मात्र पुग्दैन कामै चाहिन्छ ।

अन्त्यमा, वन स्रोतको अधिकतम् र दिगो व्यवस्थापनकालागि आवश्यकता अनुसारको सञ्जाल वनाई काम गर्न जरुरी छ । यसकोलागि ससाना उद्यम विकास गर्नु पर्दछ । सामुदायिक वनका उपभोक्ताहरु जोसँग उद्यम प्रति चासो तथा अनुभव छ भने उनीहरुको नेतृत्वमा वनमा आधारित उद्यम सञ्चालनको अभियान थालनी गर्नु पर्दछ । उत्पादनमा नजोडिने मानिस वा उपभोक्ता असल हुन सक्दैन भन्ने अभियान छेड्नु पर्दछ । यस्तो सदुपयोगमुखी सोचमा आधारित योजनामा वन कार्यालय, स्थानीय सरकार लगायतले आवश्यक समन्वय र सहकार्य गर्न पनि जरुरी देखिन्छ । धन्यवाद ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *