शहरी विकास मन्त्रीले कसलाई बनाउँलान् महानिर्देशक ?

राजनीति समाचार

काठमाडौं । शहरी विकास मन्त्रालय यतिबेला सबैभन्दा कमजोर अवस्थामा गुज्रिइरहेको छ । तत्कालीन मन्त्री सीता गुरुङले यस मन्त्रालयलाई चलायमान बनाउन नसकेको आरोप उनीमाथि लागिरहेको थियो ।

उनलाई आरोप लागे तापनि मन्त्री गुरुङले आफ्नो १२ महिने कार्यकाल बिनाकाम गुजारेर बिदा भइन् । हालै ५ दलीय गठबन्धन सरकारमा सामेल एकीकृत समाजवादी दलबाट सहरी विकासमन्त्री बनेका धनबहादुर बुढा । बुढाले सहरी विकास मन्त्रालयलाई कसरी चलायमान बनाउँछन् त्यो निश्चित भइसकेको छैन ।

मन्त्री बुढा पेशाले निर्माण व्यवसायी हुन् । आफै निर्माण व्यवसायी भएपछि उनले सहरी विकास मन्त्रालयअन्तर्गतको निर्माणको काम आफ्नै कम्पनीलाई दिन्छन् या अन्यलाई दिन्छन् त्यो पनि यकिन भइसकेको छैन । सहरी विकास मन्त्रालय निकम्मा बनिरहेको बेला निर्माण व्यवसायी नै मन्त्री भएपछि चलायमान हुने आशा कतिपय बुद्धिजीवीहरुले गरेका छन् । तर, मन्त्री बुढा भने कसरी अगाडि बढ्ने हुन् त्यो निश्चित छैन ।

उता, भवन विभागमा महानिर्देशक पद खाली भएको छ । सो पद खाली भएको पनि १५ दिन बितेको छ । सहरी विकासका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ उमेरहदको कारण अवकास भइसकेका छन् । भवन विभागको महानिर्देशकको पद अहिले खाली भएको छ । सो विभागका महानिर्देशक को बन्छ भन्नेबारे अहिलेसम्म निश्चित छैन । तर, जेष्ठता, योग्यता, क्षमता र अनुभवको आधारमा बनाउने हो भने कुमार घिमिरे बन्नुपर्ने देखिन्छ । घिमिरेमाथि अहिलेसम्म योग्यता र क्षमता भए तापनि कुनै सरकारले उनलाई अवसर दिएको छैन ।

उनीसँगै दिलिप भण्डारी, चक्रवर्ती कण्ठ र पदम मैनाली पनि महानिर्देशक बन्ने लाइनमै छन् । यीमध्ये मन्त्री र सचिव रिझाउन पदम मैनाली माहिर छन् । तर, कुमार घिमिरे भने सोझा र इमानदार कर्मचारीमा गनिन्छन् । उता, रामचन्द्र दंगाल र नवराज प्याकुरेल विभागका महानिर्देशक भइसकेका छन् । यीमध्ये माथि उल्लेख गरिएका सहसचिवहरुमध्ये कसलाई महानिर्देशक बनाउने हुन् प्रतिक्षाको विषय बनेको छ । मन्त्री बुढाले नयाँ जोश र जागरको साथ काम गर्ने अपेक्षा गरिएको छ । त्यसकारणले विभागको महानिर्देशक इमान्दारी र काम गर्न सक्ने क्षमता भएका सहसचिवहरुमध्येबाट छानेर एकजनालाई महानिर्देशक बनाउन उपयुक्त देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *