सरकार फेरिएसँगै कर्मचारी फेरबदल सुरु

राजनीति समाचार

काठमाडौं । पुरानो सत्तागठबन्धन भत्किएपछि पाँच दलीय गठबन्धन गरेर नयाँ सरकार बनेको छ । यतिबेला नयाँ सरकार मात्रै बनेको छैन । त्योसँगै कर्मचारी फेरबदल गर्ने क्रम जारी छ । प्रधानमन्त्री कार्यालयमा रहेका एकनारायण अर्याललाई गृहमन्त्रालयमा पु¥याइएको छ भने गृहका सचिव दिनेश भट्टराई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ ।

त्यस्तै अर्थमन्त्री वर्षमान पुन बनेपछि नयाँ अर्थसचिवको खोजी गर्दैछन् । त्यसैगरी अन्य मन्त्रालयका सचिवहरुलाई पनि सरकारले फेरबदल गर्ने तयारी गरिराखेको छ । यतिबेला कांग्रेस निकट रहेका कर्मचारीहरुलाई छानीछानी पाखा लगाउने र आफ्नो दल निकट कर्मचारीहरुलाई आ–आफ्नो मन्त्रालयमा तान्ने क्रम अघि बढेको छ । तत्कालीन सरकारले एमाले निकट कर्मचारीहरुलाई छानीछानी हटाएर आफ्नो दलनिकट कर्मचारीहरुलाई अवसर दिएको थियो ।

त्यसैगरी अहिले बनेको नयाँ गठबन्धन सरकारले पनि कांग्रेस निकट कर्मचारीहरुलाई छानीछानी पाखा लगाउने क्रम चलेको छ । तर, राजनीतिक दलबाट बनेका मन्त्रीहरुले सोचेजस्तो कर्मचारीहरु कहिल्यै कुनै दल र व्यक्तिका पेवा हुँदैनन् । कुनै पार्टीमा आस्था राख्ने भएपनि दलका कार्यकर्ता जस्तो कर्मचारी हुँदैनन् । त्यसकारण कर्मचारीहरु जुनपार्टीको सरकार बने पनि मालदार अड्डामा सरुवा हुन वा त्यहीं ठाउँमा रहिरहन आफ्नो पार्टीभन्दा पनि अन्य पार्टीबाट आएका मन्त्रीहरुलाई रिझाउन लागिपर्ने गर्दछन् ।

यतिबेला गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्हालेका छन् । तर, रविको पार्टी रास्वपाले अहिलेसम्म कर्मचारी संगठन बनाउन सकेको छैन । आफ्नो पार्टी निकट कर्मचारी संगठन नभएको हुँदा गृहमन्त्री रविले कर्मचारीबाट कस्तो सहयोग पाउने हुन् त्यो पनि एकिन छैन । गृहमन्त्री रविको पार्टीलाई समर्थन गर्ने कर्मचारीहरु पनि देखिएका छैनन् । गृहमन्त्री रविले कर्मचारीहरु खोजीखोजी ल्याउनुपर्ने बताइन्छ । तर, प्रधानमन्त्री कार्यालयमा रहेका सविच एकनारायण अर्याल गृहमा पुगेका छन् ।

अर्याललाई गृहमन्त्रालयको अनुभव पनि छ । त्योसँगै अर्यालसँग सामान्य प्रशासन र श्रम तथा रोजगार मन्त्रालयको अनुभव पनि छन् । अर्याल सबैतिरबाट अनुभव बटुलेका सचिव भएका कारण गृहमन्त्री रविलाई काम गर्न सहज हुने देखिन्छ । प्रधानमन्त्री कार्यालय र गृहसँगै अन्य मन्त्रालयका सचिवहरु पनि फेरिने सम्भावना त्यत्तिकै छ ।

कर्मचारीहरु पनि पहिलाको सरकार गएसँगै नयाँ मन्त्रीहरु रिझाएर मालदार ठाउँमा सरुवा हुनको लागि भित्रभित्रै खेलिरहेका छन् । खासगरी कर्मचारीको रोजाईमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, नागरिक उड्डयन तथा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा सहकारी, सहरी विकास र भूमिव्यवस्था मन्त्रालय पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *