अधिकांश नयाँ मन्त्री सचिवको खोजीमा

राजनीति समाचार

काठमाडौं । पाँच दलीय गठबन्धनबाट नयाँ सरकार गठन भएसँगै अधिकांश मन्त्रालयमा सचिव फेरबदल गर्ने क्रम जारी छ । श्रम तथा रोजगार मन्त्रालयका सचिव केवल भण्डारीको जागिरे अवधि पनि यही साताभित्र समाप्त हुँदै छ । त्यसपछि श्रम सचिवमा कसलाई लगिने हो त्यो पनि एकिन छैन । उता, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी बनेका छन् । अधिकारी एमालेबाट मन्त्री बनेका हुन् । सचिव गोकर्णमणि दुवाडी कांग्रेस निकट कर्मचारी भनेर चिनिन्छन् ।

सचिव दुवाडीलाई तत्कालीन सरकारको पालामा जग्गा कित्ताकाट खुलाएर भ्रष्टाचार गरी मोटो रकम असुलेको आरोप छ । सो आरोप लागेसँगै दुवाडी अन्य मन्त्रालयतिर सरुवा हुन खोजिरहेका छन् । तर, मन्त्री अधिकारीले सचिवमा उनैलाई निरन्तरता दिन्छन् कि अन्यलाई ल्याउँछन् त्यो निश्चित छैन । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रास्वपाबाट डोलप्रसाद अर्याल बनेका छन् । सो मन्त्रालयका सचिव केवल भण्डारीको जागिरे अवधि समाप्त हुन लागेको छ । भण्डारीपछि मन्त्री अर्यालले कसलाई सचिवमा ल्याउँछन् त्यो एकिन छैन । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छिन् सुमना श्रेष्ठ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्री बनेकी विदेशी नागरिक सुमना श्रेष्ठले नेपालको शिक्षा क्षेत्रलाई चुस्तदुरुस्त र चलायमान बनाउँछु, शिक्षकलाई राजनीति गर्न दिन्न, विदेशमा पढ्न जाने विद्यार्थीलाई छिटोछरितो तरिकाले ‘नो अब्जेक्सन लेटर’ एनओसी उपलब्ध गराउने, मेनपावर नपुगे थप्ने भनिरहँदा शिक्षा, विज्ञान तथा प्रविधि सचिवमा कसलाई ल्याउने हुन् त्यो पनि एकिन छैन । मन्त्री श्रेष्ठलाई विदेशी नागरिकसँग विवाह गरेको आरोप छ ।

महिलाले जुन देशको नागरिकसँग विवाह गर्दछन् स्वतः त्यही देशको नागरिक हुने परम्परा छ । तर, रास्वपाकी सुमना श्रेष्ठ विदेशी नागरिकसँग विवाह गरेर नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छिन् । मन्त्री श्रेष्ठले विदेशी नागरिकसँग विवाह गरेको छ भन्ने हल्ला चलेपछि उनको सबैतिरबाट विरोध हुन थालेको छ । उता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका भानुभक्त जोसी एकीकृत समाजवादी पार्टीका हुन् । मन्त्री जोशीले पनि कसलाई सचिवमा ल्याउँछन् त्यो पनि एकिन छैन ।

हालका सचिव विनोद सिंह र मन्त्री जोशीबीच टसल सुरु भएको बताइन्छ । सचिव सिंह कांग्रेस निकट कर्मचारी हुन् । सिंह टेरामक्स काण्डमा मुछिएका व्यक्ति हुन् । त्यसकारणले पनि मन्त्री जोशी सचिवको खोजीमा रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *