माओवादी नेताहरु सुन तस्करीदेखि कमाउधन्दामा लिप्त

राजनीति लेख

रामचन्द्र बस्नेत
काठमाडौं । राजनीतिक दलहरुले देश र जनताको हितमा काम गर्नुपर्नेमा त्यो नगरी आफ्नै स्वार्थ र परिवारवादतिर उन्मुख हुँदा नेपाल हरिकंगाल हुँदै गएको छ । कांग्रेस र एमालेले देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्न नसकेको भन्दै २०५१ सालबाट माओवादी नामक पार्टीले जनयुद्ध छेडेको थियो । कांग्रेस र एमालेले देश र जनताको लागि केही राम्रो काम गर्न खोजे तापनि माओवादीयुद्धले नेपालका अधिकांश भूभागहरुमा व्यक्तिगत र सरकारी सम्पत्ति नष्ट गरेको थियो ।

त्योसँगै बैंक, वित्तिय संस्था, उद्योगी व्यापारीहरुसँग मोटो रकम चन्दा माग्ने नदिएको खण्डमा लुटपाट गरी व्यक्ति हत्या गर्नेसम्मको काम माओवादी पार्टीले गर्दै आएको थियो । माओवादीको हत्या, हिंसा र लुटपाटको धन्दा १० वर्षसम्म चलिनै रह्यो । माओवादीले चलाएको १० वर्षसम्मको आतंकले नेपाली जनता आजित भएका थिए । बल्लतल्ल शान्तिवार्तामा आएपछि सर्वसाधारणले शान्तिको सास फेर्न पाएका थिए । जनयुद्धबाट शान्तिवार्तामा आएर चुनावमा होमिएपछि माओवादीलाई नेपाली जनताले एकलौटी सरकार बनाउने गरी मत दिएका थिए । नभन्दै माओवादीले बहुमतको एकलौटी सरकार पनि बनायो ।

माओवादीको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेपछि ९ महिनामै सरकार ढल्न पुग्यो । त्यसपछि कहिले कांग्रेससँग मिलेर कहिले एमालेसँग मिलेर पटकपटक सरकारमा बसिरहँदा पनि माओवादीले देश र जनतालाई कुनै नयाँ काम गरेर देखाउन सकेको छैन । उल्टै सुन तस्करीदेखि विभिन्न अनियमितताको धन्दामा लागेर सम्पत्ति आर्जन गर्नेभन्दा अन्य काम माओवादीले गर्न सकेन । अहिलेपनि माओवादीले सरकारको नेतृत्व गरिराखेको छ । तर, माओवादीका उच्च तहका नेताका छोराछोरीदेखि नेताहरु आफै विभिन्न अवैध धन्दामा धमाधम मुछिन थालेका छन् । पहिला राजा, कांग्रेस र एमालेले केही गर्न सकेनन् ।

हामीले मात्रै देश र जनताको हितमा काम गर्न सक्छौं भनेर जनयुद्ध नामक हिंसात्मक गतिविधिमा होमिएको माओवादी सत्तामा पुगेपछि तिनै राजा, कांग्रेस र एमालेभन्दा गएगुज्रिएको अवस्थामा पुगेको छ । माओवादीका नेता मात्रै बिग्रिएका छैनन् पार्टी नै सकिने अवस्थातिर धकेलिँदै छ । किन कि माओवादीका नेताहरुको गतिविधिले त्यस्तै देखाउँछ ।

अधिकांश माओवादीका ठूला नेताहरु कुनै न कुनै काण्डमा मुछिएकै छन् । कृष्णबहादुर महरा रोसनी काण्डमा मुछिएका छन् भने टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका छन् । त्यस्तै माओवादी नेता तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सन तस्करी काण्डमा पक्राउ परिसकेका छन् । उता पूर्वमाओवादी नेता तथा युद्धकमाण्डर रामबहादुर थापा बादलका छोरा प्रतिक थापा नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएर फरार रहेका छन् । अन्य नेताहरुले गरेको अनियमितताको फर्दाफास हुने देखिन्छ । सबैभन्दा क्रान्तिकारी पार्टी माओवादी नेताहरुकै क्रियाकलापका कारण दिनप्रतिदिन जनताबाट टाढिँदै गएको छ । त्यसकारण पनि माओवादी पार्टी अस्तित्वबाट नामेट हुने देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *