०२३ सालमा जन्मिएका रामप्रसाद घिमिरे अहिले खानी तथा भूगर्भ विभागको महानिर्देशकको जिम्मेवारीमा छन् । २८ बर्ष अघि निजामती सेवामा प्रवेश गरेका घिमिरे विगत ४ बर्षदेखि विभागको महानिर्देशकको जिम्मेवारीमा छन् । घिमिरे खानी तथा भूगर्भ विभागको विज्ञ मानिन्छन् । उनैसँग विभिन्न सेरोफेरोमा तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंश :
० खानी तथा भूगर्भ विभागको मुख्य काम के के हुन् ?
यो विभागको प्रमुख काम भनेको खानी अनुमति, अनुगमन, नियन्त्रण र विवाद समाधान जस्ता खानी नियमन तथा प्रशासन सम्बन्धी कार्यहरू गर्ने गराउने। खनिज भण्डार मुल्याङ्कन, खनिज आर्थिक अध्ययन तथा प्रवर्द्धन, खनिज प्रशोधन जस्ता खनिज मुल्याङ्कन तथा प्रवर्द्धनात्मक कार्यहरू गर्ने गराउने। नेपालमा भौगर्भिक नक्सा, ईन्जिनियरिङ्ग तथा इन्भाईरण्मेन्टल जियोलोजी, रिमोट सेन्सिङ्ग, पेट्रोलोजी, मिनिरलोजी तथा जेमोलोजी जस्ता भू–वैज्ञानिक सर्भेक्षण तथा अनुसन्धान गर्ने गराउने।
राष्ट्रिय भूकम्प मापन केन्द्र मार्फत नेटवर्क संचालन गरी त्यसबाट प्राप्त तथ्यांक तथा जानकारीबाट नेपालको भूकम्प मापन नक्सा तयार गर्न लगाउने र भूकम्प मापन सम्बन्धी अध्ययन अनुसन्धान गर्ने गराउने। भूकम्प एवं अन्य भू–प्रकोप अध्ययन अनुसन्धान गरी विभिन्न हजार्ड नक्सा तयार गरी जोखिम पहिचान गर्ने गराउने। पेट्रोलियम तथा प्राकृतिक ग्याँस सम्बन्धी अन्वेषण विकास, प्रवर्द्धन तथा नियमन कार्यहरू गर्ने गराउने। धातु एवं अधातु खनिज अन्वेषण र औद्योगिक परिक्षण जस्ता खनिज अन्वेषण तथा अनुसन्धान सम्बन्धी कार्यहरू गर्ने गराउने नै यस विभागको मुख्य कार्य हो ।
० तपाइले यस विभागको नेतृत्व सम्हालेपछि के कस्ता सुधारका काम भएका छन् ?
यो नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको संघीय कानुन अनुसार स्थापना भएको विभाग हो । हामी मुख्यतयाः खनिजको अन्वेषण, त्यसको प्रवद्र्धन गर्ने र नेपालको भौगर्भिक अवस्थाको बारेमा विभिन्न प्रकारका सर्भेहरु गरेर कुन ठाउँको भौगोलिक अवस्था कस्तो प्रकारको रहेको छ भन्ने पत्ता लगाउँछौं । यसरी अध्ययन अनुसन्धान गरेपछि सरकारका विभिन्न निकायहरुले ठुलठूला पूर्वाधारहरु निर्माण गर्दा, पक्की मोटरेबल पूल बनाउँदा, ठूला प्रकारका हाइडो डयामहरु बनाउँदा ठुला बस्तीहरुको स्थापना गर्दा यस भूभागको अवस्था अनुसार यस्तो किसिमले संरचनाहरु बनाउनुपर्छ यस्तो पूर्व सावधानीहरु अपनाउनुपर्छ भनेर सल्लाह सुझाव दिने गर्दछ । अर्को कुरा भूकम्पीय अध्ययन गर्ने काम पनि यही विभागको हो ।
यसका लागि हामीले देशभर ४२ वटा भूकम्पीय स्टेसन र ५२ वटा जिपियस स्टेसन राखेर भूकम्पको गतिविधिलाई अध्ययन गर्दै ४ रेक्टरभन्दा बढीको भूकम्प गयो भने सरकारका सम्बन्धित निकायहरुलाई जानकारी गराउने गर्दछौं । भूकम्पका विभिन्न विश्लेषण गरेर भविष्यमा कुन क्षेत्रमा बढी जोखिम छ, कसरी पूर्व सावधानी अपनाउने भन्ने जानकारी दिने पनि हाम्रो जिम्मेवारी हो ।विभागले पछिल्ला दिनमा खनिज प्रबन्धन अन्तर्गत पहिलो चरणको खनिज प्रवर्द्धन कार्यका लागि ६ वटा खनिजहरुको सूचना मध्ये प्राप्त १ वटा प्रस्तावको मूल्याङ्कन सम्पन्न पश्चात सम्झौताको लागि पत्राचार गरेकोे छ।
यस्तै दोस्रो चरणको खनिज प्रवर्द्धन कार्यको लागि लगानी सम्मेलन पश्चात सूचना प्रकाशनको लागि तयारी अवस्थामा रहेको छ। खनिज अन्वेषण अन्तर्गत अर्घाखाँची जिल्लाको सब्दु क्षेत्रमा चुनढुङ्गाको लागि ३०० मि ड्रिलिङ्ग तथा ५० हे सर्भे कार्य भईरहेको बताइएको छ । यस्का अलवा रुकुम झुन्लावाङ्ग क्षेत्रमा विस्तृत अन्वेषण कार्यका लागि ११०० मि च्यानल स्याम्पिलङ्ग र ३२५ हे सर्भे सम्पन्न भई ११०४ वटा नमूना संकलन गरिएको छ। संकलित नमूना मध्ये २७० वटा नमूनाहरुको रसायनिक परिक्षण सम्पन्न भएको। टाईल्स, कलर लगायत अन्य प्रयोजनामा प्रयोग भइरहेको डोलोमाईट खनिजको सुनौला बजार, धादिङ्ग र तनहुँमा अन्वेषण कार्य सम्पन्न भएकोे छ ।
विभागका पछिल्ला उपलव्धीका रुपमा भूकम्पकीय मापन तथा सूचना प्रवाह अन्तर्गत बझाङ्ग, धादिङ्ग र जाजरकोटमा गएका ४ रेक्टर भन्दा माथिका ५६ वटा भूकम्पहरु मापन गरी संचार माध्यममा सूचना प्रवाह गरेको छ । भूकम्प तथा पहिरो सम्बन्धी गोरखाको बारपाकमा अभिमुखिकरण कार्यक्रम संचालन भएको छ। पेट्रोलियम अन्वेषण कार्य अन्तर्गत दैलेखमा रहेको पेट्रिलियम सम्भावित भण्डार क्षेत्रको अन्वेषणका लागि मित्र राष्ट्र चिनिया सरकारको सहयोगमा हुन लागेको ड्रिलिङ्ग कार्यको लागि जग्गा अधिग्रहण र पूर्वाधार सुधारको कार्य सम्पन्न भई ड्रिलिङ्ग उपकरण नेपाल आउन थालेको छ ।
नेपालको तराई र चुरे क्षेत्र समेटी पूर्वबाट पश्चिमसम्म विभाजित गरिएका १० वटा पेट्रोलियम अन्वेषण खण्ड मध्ये २ वटा खण्डमा ठेकेदारबाट पेट्रोलियम अन्वेषण कार्य गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयबाट स्वीकृति प्रदान भएको छ । भूईञ्जिनियरिङ तथा भूवातावरणिय अध्ययनका लागि मधेश प्रदेश अन्तर्गत रहेको जीतपुर सिमरा र आसपासका क्षेत्रको एसपीटी प्यारामिटरको अध्ययन फिल्ड कार्य (१०० वर्ग किमी) फिल्ड कार्य भईरहेको छ। सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्दैछ । तेस्रो लगानी सम्मेलन सम्पन्न भएको पाँच वर्षपछि चौथो लगानी सम्मेलन हुँदैछ आगामी वैशाख दोस्रो सातामा । लगानी सम्मेलनबाट विभागबाट निम्न खानीहरुको विवरण लगानी वोर्डमा उपलव्ध गराइसकेको छ ।
० पेट्रोलियम र प्राकृतिक ग्यास अन्वेषण विभागबाट अहिलेसम्म के कति खोज अनुसन्धान भएका छन् ?
त्यो अन्वेषण भनेको पेट्रोलियम ग्याससम्बन्धी हो । पेट्रोलियम पदार्थको अन्वेषण गर्ने काम पनि गरिरहेका छौं । त्यसका लागि १० वटा ब्लकमा विभाजन गरेर काम गर्दै आएका छौं । अहिले आएर दैलेख जिल्लाको नाभिस्थान, श्रेयसस्थान लगायतका क्षेत्रमा अन्वेषणको लागि हामीले चीन सरकासँग जिटुजी सम्झौता गरेर काम भइरहेको छ । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामले गति लिने भएको छ । पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तर्गत ‘ड्रिल’ गर्ने मेसिन दैलेखस्थित आयोजनाको साइटमा पु¥याउने क्रम सुरु भएको छ । दैलेखको भैरवी गाउँपालिकामा अन्वेषण साइट छनोट भएको छ । चीनबाट आएका यी उपकरण २ सयभन्दा धेरै ट्रकमा लोड गरिएको छ ।
उपकरण पुगिसकेपछि ड्रिल गर्ने काम सुरु हुने छ । काम सुरु भएको चार महिनामा ड्रिल गर्ने काम सम्पन्न हुने र यसले यो भेगमा कति मात्रामा पेट्रोलियम पदार्थको भण्डार रहेको छ भन्ने यकिन हुने छ । चैत २०७२ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । माघ २०७५ मा चीनलाई नेपालका दुई क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न २ अर्ब ४० करोड रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोग सम्झौता भएको थियो ।
यस समझदारीलाई कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त कार्ययोजना बनाएका थिए । पहिलो चरण (१० महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो । दोस्रो चरणमा ड्रिल गर्ने र तेस्रो चरणमा सर्भे प्रतिवेदन बुझाउने सहमति भएको थियो । कोभिड महामारीका कारण सम्झौता अनुसार काम अगाडि बढ्न सकेन । पछिल्लो समय कामले गति लिने देखिएको छ । चिनियाँ सरकारसँग जीटूजी सम्झौता अनुसार अगाडि भएको यो आयोजना नेपाली अर्थतन्त्रकै लागि कोसेढुंगा सावित हुनेछ । जमिनबाट ४ हजार ५ सय मिटरसम्म गहिराइमा पुगेर अन्वेषण गरिने भएको छ । यसअघि चीनले असोज २०७९ मै पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिल गर्ने स्थान छनोट गरिसकेको छ । चीनबाट आएको प्राविधिक टोलीले ड्रिलिङका लागि १५ मिटरसम्म लामा फलामे पाइप कन्टेनरमार्फत साइटमा लैजानुपर्ने बताएको थियो ।
० हालसम्म कतिवटा कम्पनीले खानी उत्खननको लागि लाइसेन्स लिएका छन् । उनीहरुको प्रगति विवरण कस्तो छ ?
अहिलेसम्मको आँकडा हेर्ने हो भने लगभग १६० वटा कम्पनीले खानी उत्खननको लागि लाइसेन्स लिएकोमा ६० वटा जति खानी सञ्चालनमा छन् । यसमा पनि ४३ वटा चुनढुंगामा आधारित खानी उद्योग छ । ती खानीबाट उत्पादन भएका चुनढुंगाबाट नेपाली सिमेन्ट उद्योगले क्लिंकर र सिमेन्ट उत्पादन गर्छन । पछिल्लो समय नेपालले क्लिंकर निर्यात समेत गरिरहेको छ । यसका साथै खरी (टल्क) सम्बन्धी उद्योगहरु पनि रहेका छन् । समग्रमा यस्ता उद्योगहरु क्रमशः बढ्दै गएका छन् । यसबाट राज्यलाई ठूलो मात्रामा राजस्वसमेत प्राप्त भइरहेको छ ।
० काम गर्ने क्रममा यस विभागले भोग्नु परेका मुख्य समस्या के के हुन् ?
विभागमा सिमित जनशक्तिबाट अन्वेषण, प्रवर्द्धन, अनुगमन, भौगर्भिक तथा विपद् अध्ययन, भुकम्पिय जोखिम अध्ययन जस्ता कार्य गर्नुपर्ने हुँदा विभागिय प्रगतिलाई समेत असर पर्न गई लक्ष्य अनुरुप कार्य सम्पादन गर्न नसकिएको तसर्थ औएम सर्भे गरी विभागको परिधि विस्तार गर्न आवश्यक रहेको छ । स्वीकृत मानव संसोधन विकास योजना २०७५ अनुसार २१६ बाट घटाई १४४ सीमित हुने गरी संघिय संरचनामा रही विभागले नेपालको विभिन्न स्थानमा भौगर्भिक अध्ययन, भूकम्प मापन र अनुसन्धान तथा खनिज सर्वेक्षण कार्यको लागि आवश्यक प्राविधिक टोलीलाई केन्द्रीय निकायबाट नै खटाई पठाउने व्यवस्था रहेको हुँदा समयमा नै तोकिएको जिम्मेवारी, अन्वेषण, अनुगमन विपद् अध्ययन जस्ता कार्यहरु सम्पन्न गर्न कठिनाई भईरहेको छ।
हाल विभागमा उपलब्ध ४ जना प्राविधिक जनशक्तिबाट विभागले विगत आ.व. २०७१।७२ देखि विभिन्न अन्वेषण कार्यवाट संकलित नमूनाहरुको परिक्षण गर्दै आएको र नमूनाहरुको सख्या प्रति वर्ष थपिदै आएकोले खनिज प्रवर्द्धन कार्य प्रभावित भइरहेको अवस्थामा विभागले अधातु खनिजका नमूना (चुनढूङ्गा, डोलोमाईट, म्याग्नेसाइट, फोस्फोराईट) का नमूनाहरुको परिक्षण बाह्य प्रयोगशालामा गराउने गरिएको र महत्त्वपूर्ण खनिज, धातु खनिजहरुको परिक्षण विभागबाटै हुने गरेको छ। यसरी विभागबाट लामो समय देखि संकलित नमूनाहरु समयमा नै परिक्षण नहुँदा खनिज प्रवर्द्धन कार्यमा कठिनाई भईरहेको छ। आइटी सम्बन्धी कार्यका लागि विज्ञ समयमा नै उपलब्ध नहुने हुँदा सो शिर्षकमा बजेट कार्यान्वयनमा समस्या देखापरेको हुँदा उद्यम आधारित जीआईएस खनन सूचना प्रणाली सफ्टवेयर अपग्रेड गरी संचालनमा आउन नसकेको अवस्था छ।
विगत ३० वर्ष भन्दा पुराना सवारी साधनमा सीमित भई फिल्ड कार्य संचालन भईरहेको छ। विभागमा रहेका सीमित सवारी साधनहरु निरन्तर मर्मत गर्नुपर्ने भएकोले समयमा फिल्ड संचालन गर्न कठिनाई भएको हुँदा फिल्ड कार्यक्रममा लागि आवश्यक सवारी साधन उपलब्ध हुनुपर्ने। यस विभागबाट हुने खनिज अन्वेषण, अनुसन्धान जस्ता कार्यहरुले प्रत्यक्ष रुपमा खनिजहरुको प्रवर्द्धन भई खनिजजन्य उद्योग स्थापना हुने तर खनिज श्रोतहरुको अध्ययन, अनुसन्धानमा प्राथमिकतामा पर्न नसकेको हुँदा बजेट समेत पर्याप्त मात्रामा उपलब्ध नहुने हुँदा खनिज क्षेत्रको विकासमा कमी आएको छ ।