महासंघमा राजनीतिक हस्तक्षेप हुँदा श्रमजीवी पत्रकार पलायन

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुले चुनाव जित्न र सत्ता हत्याउनको लागि गठबन्धनको सहारा लिने गरेका छन् । राजनीतिक दलले आ–आफ्नो पार्टी, सिद्धान्त र मर्मलाई बिर्सेर खाली सत्तामा पुग्नको लागि अन्य दलहरुसँग गठबन्धन गरेर चुनाव लड्ने र सत्तामा पुग्ने खेलोफड्को राजनीतिक दलमा भइरहेको छ । त्यसको सिको अहिले श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा पनि हुँदै आएको छ । पत्रकार महासंघमा राजनीतिक पार्टीको सिधैं हस्तक्षेप हुन थालेपछि व्यवसायी पत्रकारहरु पलायन हुँदै गएका छन् ।

पत्रकार महासंघको चुनावमा विभिन्न पार्टी निकट पत्रकारहरुले गठबन्धन गरेर चुनाव गर्न थालेपछि वास्तविक श्रमजीवी पत्रकारले चुनाव जित्न छाडेका छन् । दलका कार्यकर्ताहरु पत्रकार महासंघको नेतृत्वमा पुग्न थालेपछि गैरपेशाका मानिसहरुले पत्रकार महासंघको सदस्यता प्राप्त गर्ने क्रम बढेको छ । आफ्नो दल निकटको मान्छे भनेर गैरपेशाका व्यक्तिलाई सदस्यता दिएपछि पत्रकार महासंघको चुनावताका सधैं सदस्यता विवाद चर्किँदै आएको छ । सदस्यता विवादकै कारण पुरानाको नविकरण भएको पनि छैन ।

नविकरण भएका साधारण सदस्यले सदस्यता परिचय पत्र पनि पाएका छैनन् । नयाँ सदस्यता लिन चाहने पत्रकारले पनि विवादकै कारण सदस्यता पाएका छैनन् । किन कि त्यहाँ व्यवसायी पत्रकारकोभन्दा विभिन्न पार्टीका कार्यकर्ताको फारम बढी छ भन्ने विवाद छ । राजनीतिक हस्तक्षेपले गर्दा नयाँ सदस्यता लिन चाहने व्यवसायी पत्रकारहरु पनि सदस्यता लिनबाट बञ्चित भएका छन् । व्यवसायी पत्रकार र गैरव्यवसायी व्यक्ति छुट्याउन सक्ने हैसियत महासंघको नेतृत्वकर्ताले राख्न नसक्दा सदस्यता नविकरण र नयाँ सदस्यता वितरण विवादमा परिरहेको छ । विगत वर्षलाई हेर्दा प्रदेश र जिल्ला शाखाको अधिवेशन चैत मसान्तसम्म गराइसक्नुपर्ने हुन्छ ।

हुन त भरखरै सम्पन्न महासंघको केन्द्रीय बैठकले २०८१ वैशाख १ देखि १२ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने भनेको छ । त्यस अगाडि महासंघका सबै शाखा, प्रतिष्ठान शाखा र एसोसिएट संस्थाको अधिवेशन गरिसक्नुपर्ने उर्दी जारी गरेको छ । तर, महासंघका प्रदेश, शाखा, प्रतिष्ठान र एसोसिएट संस्थाहरुले त्यसको तयारी थालेको पाइँदैन । पत्रकार महासंघ केन्द्रले अधिवेशन तोकिइरहँदा अधिकांश जिल्ला शाखाहरुमा पुराना सदस्यता नविकरण र नयाँ सदस्यता विवाद कायमै छ ।

सदस्यता विवाद भइरहेको बेलामा कसरी अधिवेशन गर्छन् त्यो निश्चित छैन । सत्तागठबन्धन फेरिएसँगै नेपाल पत्रकार महासंघको गठबन्धन पनि फेरिने सम्भावना छ । फेरिने गठबन्धनमा कुन दल निकट पत्रकार कता मिल्ने हुन् त्यो पनि निश्चित छैन । श्रमजीवी पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको नेतृत्वमा व्यवसायिक पत्रकार नभएर विभिन्न पार्टीका टिपिकल कार्यकर्ताहरु भएकाले विवाद बढिरहेको छ ।

त्यो विवादले न पत्रकारको हितमा काम गर्छ न त राजनीतिक पार्टीकै हितमा काम गर्छ । त्यसकारण आगामी निर्वाचनमा राजनीतिक दलको नाममा गठबन्धन गरेर आउने उम्मेदवारभन्दा व्यवसायी पत्रकारलाई छान्नुपर्ने अवस्था आएको छ । यतिबेला नेपाल पत्रकार महासंघमा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको नाममा राजनीतिक हस्तक्षेप हुँदै आएको छ । यिनै राजनीतिक दल निकट पत्रकारहरुको संस्था हावी हुँदा पत्रकारिता क्षेत्रमा निरन्तर लागिरहेका अधिकांश पुराना पत्रकारहरुलाई सुद्धिकरणको नाममा सदस्यताबाट हटाउने काम हुँदै आएको छ ।

पत्रकारिता क्षेत्रमा नयाँ जोश, जाँगरसहित काम गर्दै आएका नयाँ सदस्यता लिन चाहनेहरुलाई पनि सदस्यता दिनबाट बञ्चित गरिँदै छ । पत्रकार महासंघ जस्तो संस्थामा व्यवसायी पत्रकारले सदस्यता नपाउनु भनेको दल निकट संगठनहरु हावी हुनु हो । दल निकट संगठनहरु हावी हुँदा वास्तविक व्यवसायी पत्रकारहरु यो क्षेत्रबाट पलायन हुँदै छन् । जिनतिन चलिरहेका सञ्चार माध्यमहरु पनि दिनप्रतिदिन धरासायी बन्दै गएका छन् ।

तर, पत्रकारको नाममा नेतृत्व गर्नेहरुले त्यसप्रति आवाज उठाउन नसक्नु यो जस्तो लाजमर्दो अवस्था के नै हुन्छ ? नेपाल पत्रकार महासंघको अहिलेको नेतृत्वले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रको हितमा काम गर्ने भन्दा पनि त्यसलाई भ¥याङ्ग बनाएर देश, विदेश घुम्ने, मोजमस्ती गर्ने, राजनीतिक नियुक्ति खाने, नेताको चाकडी गर्ने, आफन्तलाई जागिर खुवाउने, आसेपासेलाई काखी च्याप्ने काम गर्दै आएका छन् । त्यसकारणले पनि पत्रकारहरुको महाधिवेशन समयमा हुने सम्भावना क्षण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *