काठमाडौं । अन्य देशहरुमा राजनीतिक दलनिकट कर्मचारी संगठनहरु हुँदैनन् । तर नेपालमा विभिन्न राजनीतिक दलनिकट कर्मचारी संगठनहरु बनाइएका छन् । अन्य देशहरुले आधिकारिक ट्रेड युनियनलाई मान्यता दिने चलन छ । तर, नेपालमा आधिकारिक ट्रेडयुनियन भए तापनि त्यसलाई खासै मान्यता नदिएर राजनीतिक दलनिकट कर्मचारी संगठनहरुलाई बलियो बनाइएको छ । कर्मचारी तन्त्रभित्र राजनीतिक दल निकट कर्मचारी हावी भएपछि सेवाग्राहीको काम चुस्तदुरुस्त हुन सकेको छैन ।
उल्टै कर्मचारी, मन्त्री र नेताको मिलेमतोमा भ्रष्टाचार, विकृति, विसंगति फैलिएको छ । लामो समयदेखि स्थिर सरकार बन्न नसकेको कारणले गर्दा कर्मचारीवृत्तमा व्यापक भ्रष्टाचार बढेको छ । कतिपय कर्मचारी संगठनकै कारण मन्त्रीहरुले काम गर्न सकेका छैनन् । किनकी कर्मचारी संगठनको दबाब मन्त्रीहरुले खेप्नुपर्ने हुन्छ । छिटोछिटो मन्त्रिमण्ड परिपर्वन भइरहँदा नयाँ बनेका मन्त्रीहरुले मन्त्रालयको अनुभव बटुल्नै नभ्याइ पद खुस्किइसकेको हुन्छ । नयाँ बनेको मन्त्रीलाई मन्त्रालयको अनुवभ बटुल्न कम्तिमा ६ महिना लाग्छ । तर, मन्त्री भएको ६ महिना नपुग्दै मन्त्री पद खुस्किन्छ ।
अनि कसरी हुन्छ देश र जनताको काम ? कर्मचारी र मन्त्रीको समन्वयकारी भूमिका नहुँदा कतिपय ठुलाठुला आयोजानको कामहरु फत्ते हुन सकेका छैन । कर्मचारी संगठनका नेताहरु राजनीतिक गर्नमै व्यस्त छन् । उता, विश्वले मान्यता प्राप्त गरेको आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७६ साल बैशाखा जेठमा गर्नुपर्ने थियो । कोरोनाको कारण देखाएर रोकिएको निर्वाचन अहिलेसम्म हुन सकेका छैन । २०७६ सालदेखि नेतृत्व बिहीन भएको आधिकारिक ट्रेडयुनियनको निर्वाचन २०८१ साल लाग्न थाल्दासमेत भएको छैन । कर्मचारी संगठनहरुले पनि आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने तरखर गरेका छैनन् । सरकारले पनि आधिकारिक ट्रेड युनियन निर्वाचन गर्न तदारुकता देखाउनुपर्ने थियो ।
तत्कालीन सरकारदेखि हालको सरकारले समेत आधिकारिक ट्रेड युनियन निर्वाचन गर्ने पहल गरेको छैन । ५ वर्षदेखि नेतृत्वबिहीन बनाएर आधिकारिक ट्रेड युनियनलाई कोमामा पु¥याइसकेको छ । आधिकारिक ट्रेड युनियन कोमामा पुगिसक्दा पनि पूर्व उपाध्यक्ष भोलानाथ पोख्रेल अझै आधिकारिक ट्रेड युनियनका कावा अध्यक्ष हुँ भन्दै देश विदेश भ्रमण गरिरहेका छन् । कावा अध्यक्ष पोखरेलले सरकारी कार्यालयमा काम गर्नु परेको छैन । उनी सरकारी गाडी चडेकै छन्, विदेश भ्रमण गरेकै छन्, कर्मचारी सरुवा बडुवामा खेलोफड्को गरेकै छन् । राजनीतिक दलका नेताहरुको चाकडी गरेकै छन्, तर उनले कार्यालयमा बसेर काम गर्नु परेको छैन ।
आधिकारिक ट्रेड युनियनका नेता भन्दै हिडेका छन् । राज्यको तलब सुविधा खाएकै छन् । छेपारोले रङ फेरेझै नेता फेरेकै छन् । उनी तत्कालीन नेकपा एमालेनिकट माधव नेपाल खेमाका कर्मचारी थिए । माधव नेपालले पार्टी फुटाएपछि एमाले अध्यक्ष केपी ओलीलाई सत्रोसराप गरेकै थिए । अहिले पोखरेल एकीकृत समाजवादी पार्टी छाडेर एमालेमै समाहित भएका छन् । एकीकृत समाजवादी छाडेपछि फेरि माधव नेपाललाई गाली गर्न थालेका छन् ।
हुनत पोखरेलले मात्र होइन अन्य कर्मचारी संगठनका अध्यक्षहरुमा पनि छेपारोले रङ फेरे जसरी नेता फेर्ने चलन छदैँछ । त्यो रोग नेपाली कांग्रेस निकट कर्मचारी युनियन, माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन र नेकपा एमाले निकटका कर्मचारी संगठनहरुमा पनि सरेको छ । उता, एकीकृत समाजवादी निकट राष्ट्रिय सहकारी संघका तत्कालीन अध्यक्ष मोहन घिमिरेको त कुरै नगरौं । मोहनले विभिन्न दलका नेतालाई तथानाम गाली गर्न भ्याएकै छन् ।
उनी कार्यालयमा बस्दैनन् । घिमिरे एकीकृत समाजवादीको नाम जप्छन्, स्वदेशदेखि विदेश भमणमा रमाउँछन्, महिना मरेपछि तलब सुविधा बुझ्छन् । उनी विगत १५ वर्ष भन्दा बढी पर्यटन मन्त्रालयमा बसेर हिमाल आरोहण गर्नेसँग मोटो रकम असुलेकै थिए । कर्मचारी सरुवा बडुमा पैसा असुलेकै थिए । उनी सरुवा गरेको ठाउँमा नगएर लामो समयदेखि सिंहदरबारमा घुमीफिरी बसेका थिए । अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी रहेका छन् । उनी एकीकृत समाजवादीका नेता हुन् । जोशी मन्त्री भएपछि मोहन घिमिरेलाई हाइसन्चो भएको छ । घिमिरे संघिय मन्त्रालयमै रमाइरहेका छन् ।
त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अमरदत्त भट्ट पनि काम गर्न छाडेर नेताको फुर्ती लगाउँदै हिँडिरहेका छन् । माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनलाई चलायमान बनाउन सकेका छैनन् । भट्टले आधिकारिक ट्रेडयुनियनको निर्वाचन गराउन पनि पहल गरेका छैनन् । त्यस्तै नेपाली कांग्रेस निकट कर्मचारी युनियनका नेताहरुले आधिकारिक ट्रेडयुनियनको निर्वाचन गराउन पहल गरेका छैनन् ।