छुट जग्गा दर्तामा नापी र मालपोतका कर्मचारी मालामाल

राजनीति समाचार

काठमाडौं । नयाँ सरकार बनेपछि सचिवहरु सरुवा हुन क्रम जारी छ । केही मन्त्रालयमा सचिव सरुवा नहुने भएका छन् । सरुवा नहुने सचिवहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विनोद सिंह र भूमि सहकारी तथा गरिवी निवारण मन्त्रालयका गोकर्णमणि दुवाडी छन् । अन्य मन्त्रालयमा पनि केही सचिवहरु सरुवा हुन बाँकी छन् । मालदार मन्त्रालय, भौतिक, श्रम, गृहमा सचिवहरु फेरबदल भइसकेका छन् । संघीय मालिला र भूमि सुधार मन्त्रालयका सचिवहरु शक्तिको आडमा सोही मन्त्रालयमा बस्न सफल भएका छन् । उनीहरुको सरुवा कहिले हुन्छ त्यो पनि निश्चित छैन ।

संघीय मालिला तथा सामान्य प्रशासनका सचिव विनोद सिंह कर्मचारी सरुवा, बढुवा गर्न पाइने, विभिन्न कर्मचारीहरुबाट कमिसन लिन पाइने भएकाले सोही मन्त्रालयमा टिकिरहको लागि हारगुहार गरिराखेका छन् । भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सोही मन्त्रालयमा बस्नको लागि राजनीति शक्तिको आडसँगै प्रधानमन्त्री प्रचण्डलाई रिझाउन सफल भएका छन् । किन कि यतिबेला भूमि व्यवस्था तथा गरिवी मन्त्रालयअन्तर्गत पर्ने मालपोत कार्यालयहरुमा छुट जग्गा दर्ता, स्ववासी जग्गा दर्ता खुलेको कारणले पनि त्यहाँबाट आउने कमिसनको लोभमा सचिव दुवाडी अन्य मन्त्रालयमा जान चाहेका छैनन् । धेरै जग्गा दर्ता गर्ने मालपोत कार्यालय साँखु मालपोत कार्यालय, मनमैजी मालपोत कार्यालय, टोखा मालपोत कार्यालय, ललितपुर मालपोत कार्यालय र भक्तपुर मालपोत कार्यालय पर्दछन् ।

डिल्ली बजार र चाबहिल मालपोत कार्यालयमा अन्य ठाउँको तुलनामा जग्गा दर्ताको काम कम छ । मालपोत कार्यालयका कर्मचारी र जग्गा दर्तावालाहरुको यतिबेला दशैं नै आएको छ । त्यस्ता जग्गा दर्ता गरेबापतको कमिसन भूमि मन्त्रालयका सचिव र जग्गा दर्ता फाँट हेर्ने कर्मचारीहरुलाई कमिसन आउने गरेको छ । त्यस्तै मालपोत विभागका महानिर्देशकदेखि अन्य अधिकृतसम्मलाई पनि रामै्र कमिसन आउने गरेको छ । विगतका वर्षमा डिल्ली बजार मालपोत कार्यालयमा बसेका लक्ष्मण भट्टराईलाई घुस लिँदालिँदै अख्तियारले रंगेहात समातेपछि उनी भ्रष्टाचारमा मुछिएका थिए । सोही कारण भट्टराईको जागिरसमेत गएको थियो ।

त्यसपछि भट्टराईले करोडौं खर्च गरेर अख्तियारदेखि न्यायालयका कर्मचारीलाई मिलाई भ्रष्टाचार मुद्दाबाट सफाइ पाएको आरोप उनीमाथि छ । उनै भट्टराई अहिले बढुवा भएर ललितपुर मालपोत कार्यालय पुगेका छन् । त्यहाँ उनी रजिष्ट्रेसन फाँटमा कार्यरत छन् । भट्टराईसँगै अर्का कर्मचारी भक्त विष्ट यातायात कार्यालयमा वर्षौं बसेर अर्बौं कमाइसकेपछि ललितपुर मालपोतमा कार्यरत रहेको बताइन्छ ।

भक्त र लक्ष्मणको दुई समूहले गर्दा ललितपुर मालपोत कार्यालय बदनाम हुँदै गएको छ । यी दुई भ्रष्ट कर्मचारीले लेखनदाससँग मिलेर स्ववासी जग्गा दर्ता, छुट जग्गा दर्ता र सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर मोटो रकम असुल्ने गरेको बताइन्छ । ललितपुर जिल्ला मालपोत र नापी कार्यालयका कर्मचारीबीच पोल खोलाखोल हुँदा केही कर्मचारीहरु भ्रष्टाचारको मुद्दामा डामिएका छन् । भ्रष्टाचारमा डामिनेमा नापीका राजन गिरी, मालपोतका युवराज कटवाल परेका छन् । त्यसैगरी ललितपुर मालपोत कार्यालयमै कार्यरत प्रदीप पौडेल र लेखनदासको कुरा नमिल्दा नासु पौडेललाई अख्तियारले छानविनको दायरामा ल्याएको छ ।

ललितपुर मालपोत कार्यालयमा यस्तो भ्रष्टाचार हुन्छ भने अन्य मालपोत कार्यालयको त कुरै नगरौं । मालपोत कार्यालयमा बस्नको लागि कर्मचारीहरु मरिमेटेर लाग्ने गर्दछन् । मालपोत र नापी कार्यालयमा केही वर्ष बसेपछि खरिदारदेखि उपसचिवसम्मले काठमाडौं उपत्यकाभित्र बंगला खडा गरिसकेका हुन्छन् । यातायात, मालपोत र नापी कार्यालयमा काम गर्ने कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने हो भने कहाली लाग्दो अवस्था छ । उनीहरुको छानविन कसले गर्ने ? कर्मचारीहरुले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । तर, उनीहरुले जति सम्पत्ति विवरण बुझाए पनि सही मूल्यांकन हुने गरेको छैन । कर्मचारीले सम्पत्ति विवरण बुझाए अनुसारको छानविन हुने गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *