यस साता दोलखा जिल्ला भीमेश्वर नगरपालिकाका केही जनप्रतिनिधि र नागरिकबीचको संवाद तथा छलफलका दृश्यमा देख्न पाइयो । वडा नं. ५ माटीमा सक्रिय केही युवाहरूको जमघट रहेछ । त्यस छलफलमा भीमेश्वर नगरपालिका प्रमुख र वडा अध्यक्षसमेतको सहभागिता रहेको थियो । उपस्थित युवाहरूले धारणा राख्ने क्रममा आफ्ना माग राख्नुभयो । वडा कार्यालय किन स्थायी रूपमा बनेन ? हाम्रो बाटो किन व्यवस्थित भएन ? कृषिमा दिएको अनुदानको सही सदुपयोग भएन ? यसको किन अनुगमन भएन ? बेरोजगारी बढेको छ के गर्ने ? यी र यस्ता प्रश्न आए । सँग–सँगै नगरपालिकाले प्याष्टिक पोखरी बनाइदिएमा कृषिमा व्यावसायिक काम गर्ने थियौँ भन्नेजस्ता प्रतिबद्धतासहितको विचारसमेत व्यक्त भए ।
यी नागरिकहरूको प्रश्न जिज्ञासा, गुनासा वा सवालप्रति वडा अध्यक्षको जवाफ रोचक थियो । यो युवाहरूको टोली वडास्तरको योजना तर्जुमा गर्दा कहिल्यै सहभागी गराउन सकिएन । बोलाउँदा आग्रह गर्दा पनि योजना तर्जुमा कार्यक्रमस्थलको छेउमा बस्ने, तर कार्यक्रममा सहभागी नहुने गरेको त्यसले आफूलाई पीडा परेको कुरा राख्नुभयो ।
नगरप्रमुखले पनि यो युवा दस्ताले आफ्नो ठाउँको विकास र युवाहरूको वृत्ति विकास केन्द्रित कुनै कार्यक्रमको तर्जुमा नगरेको र नगरपालिकामा त्यस विषयले प्रवेश नपाएको, तपाईंहरूको योजनामा नगरपालिकाले सहयोग तथा सहकार्य गर्न पाउँदा आफूलाई गौरव लाग्ने बताउनु भयो ।
यो संवाद वा अन्तक्र्रिया देख्दा एउटा भनाइ याद आयो । बिरामीले खोजेको पनि तातो पानी अनि डाक्टरले पनि खानु भनेको तातोपानी भनेजस्तो देखियो । दुवैको कुरा मिलेको छ । युवाले पनि केही गर्न चाहेको आफ्नो समुदाय र युवाहरूको क्षमता विकासका लागि जनप्रतिनिधिहरूले त्यस्तै केही योजना आए, युवाहरूकै नेतृत्वमा काम भइदिए हुन्थ्यो भन्ने चाहाना राखेको पाइयो । मात्र अभाव रहेछ संवादमुखी अन्तक्र्रियाको ।
त्यस कार्यक्रममा जाँदा बाटोमा सडक मर्मत तथा जाली लगाउने काम भइरहेको दृश्य देख्न पायौँ । काम भइरहेको थियो । जनप्रतिनिधिहरूले केही सुझाव पनि दिनुभयो, त्यहाँको विकास दिगो रूपमा चलोस् भनेर । त्यहाँ काम गर्ने व्यक्तिहरू स्थानीय वा आसपासका थिएनन् । तर, यहाँकै छलफलमा बेरोजगार बढेको वा रोजगारी पाइएन भन्ने गुनासो थियो । यो प्रकृया त कुनै घरको बाउ खेतीपातीमा काम गर्न भनी मान्छे खोज्दै हिँड्ने, छोरा–छोरी पनि बजारतिर काम खोज्दै हिँडेको दृश्य सम्झाइदिएको छ । हाम्रो विकास हामी नै गर्दछौँ, सरकारले उपलब्ध गराउने सहयोगको पनि सदुपयोग गर्दछौँ भन्ने अवधारणा विकास गर्न आवश्यक छ । बाहिर जिल्लाबाट आएका मान्छेले गरेको विकास निर्माण सम्बन्धी कामको कुनै पनि अपनत्व हुन सक्दैन, तर तपाईं–हामीले एउटा ढुंगा मात्रको जाली लगायौँ भने पनि त्यो मैले गरेको काम पनि सधैँ याद तथा झझल्को आइरहन्छ । आफ्ना सन्तानलाई पनि पछिसम्म गौरवका साथ भन्न सक्ने अवस्था हुन्छ । आफ्नो गाउँ–ठाउँको विकासमा सहभागी हुँदा सानो हुने विषय कदापी हैन । यी र यस्ता काममा गर्व गर्ने परिपाटी कसरी विकास गर्ने होला ? गम्भीर प्रश्न नै छ ।
भीमेश्वर नगरपालिका वडा नंं ६ को अध्यक्षको साथ एक विकास निर्माणको कार्य हेर्न जाने मौका मिल्यो । बाटोभरि नागरिकले अध्यक्षलाई गरेको सम्बोधन मनन्योग्य देखिन्थ्यो । अध्यक्षप्रति सबै नागरिकको सम्मान थियो । अपेक्षा पनि थिए । यो राम्रो कुरा हो । सामान्य बाटो बनाउने काम भइरहेको रहेछ । एक कान्ला भिरालो ठाउँमा पुगेर सम्बन्धित जग्गाधनीको कारण बाटो निर्माणको काम रोकिएको रहेछ । त्यहाँबाट लानुहुन्न भन्ने जग्गाधनीको कुरा रे, तर जग्गाधनी काठमाडौंमा । अध्यक्षले त्यहीबाट फोन गरेर के–के भनेर कुरा गर्नुभयो जग्गाधनीले मन्जुरी दिनुभयो । काम हुने भयो । मन्दिरमा जाने सिँढीसहितको बाटोको काम भइरहेको थियो । नगरपालिकाले रु. ७५ हजार रकम उपलब्ध गराएको थियो रे, त्यतिले नपुग्ने देखियो । त्यहाँका युवाहरू १० जना जति जम्मा हुनु भएको थियो । ‘हामी पैसा उठाउँदैछौँ । ५ टिप ढुंगा चाहिँ अध्यक्षज्यूले प्रबन्ध गराइदिनु प¥यो’ भन्ने कुरा राख्नुभयो । यो हो नि प्रतिबद्धतासहितको माग । खासगरी समुदायबाट म वा हामीले यति गर्दैछौँ त्यसको केही अंश मात्रै पालिका वा वडालाई व्यवस्था गरिदियोस् भन्ने उत्तम विचार हो । यस्तै अवधारणा नै ‘आफ्नो गाउँ आफै बनाउँ’ हो । २०५१ सालमा एमालेको अल्पमतको सरकारले ल्याएको अवधारणामा पनि यो कार्यक्रमअन्तर्गत हरेक गाविसलाई तीन लाख दिएको थियो । त्यसको पृष्ठभूमिमा अहिले बस्ती–बस्तीमा सडक पुगेको छ । त्यसकारण सरकार र नागरिक वा समुदायको सहकार्यमा हुने कामले दिगोपना वा प्रभावकारी हुन्छ भन्ने देखिएको छ ।
बाटोमा हिँड्दै थियौँ । प्राय हरेक घरबाट कुनै न कुनै माग अध्यक्षसँग आउने गर्दथ्यो । हुँदा–हुँदा त मेरो घर छेउमा उत्तिसको रुख छ, त्यो छिमेकीको जग्गामा पर्छ, त्यसको हाँगाबाट किरा आयो । त्यो हाँगा हटाउने व्यवस्था मिलाउनु प¥यो भन्नेसमेतका कुरा आए ।
यी दुवै वडाका प्रतिनिधिमूलक दृश्य हेर्दा जनप्रतिनिधिहरूसँग नागरिकको आड भरोसा र आसा देखिन्छ । नागरिक र जनप्रतिनिधिहरू दुई भाग हैनन् । एकै हुन् । एकै डुंगाका यात्रीहरू हुन् । उत्रे सबैलाई राम्रो हुन्छ । एक डुबे, दुवै डुब्छन् । समग्र विकासको हिस्सेदार नागरिक हुन् भन्ने देखाउँछ । स्थानीय तहका जनप्रतिनिधिहरू मर्दा र पर्दाका साथी हो भन्ने पनि देखाउँछ ।
स्थानीय तहका जनप्रतिनिधिहरूसँग नागरिकसँगको दोहोरो अन्तक्र्रियामा धेरैजसो गुनासो आउने भए पनि कतिपयले आफ्नो प्रतिबद्धता व्यक्त गरेको पाइयो । साथै स्थानीय सरकारसँगको सानो अपेक्षा पनि सँग–सँगै राखेका छन् । त्यो सकरात्मक पक्ष हो । उत्साहप्रद पनि हो ।
