शहरी विकास मन्त्रालयमा योजना माग्नेहरुको भीड

राजनीति समाचार

काठमाडौं । गठबन्धन सरकारमा एकीकृत समाजवादी पार्टीबाट शहरी विकास मन्त्री बनेका धनबहादुर बुढाले मन्त्रालय सम्हालेको एकमहिना भइसकेको छ । तर, मन्त्री बुढा मन्त्रालय आउने क्रम न्यून रहेको छ । किन कि शहरी विकास मन्त्रालयमा विकासको आयोजना माग्नेहरुको भीड लाग्न थालेको छ । तर, आयोजना दिनको लागि बजेट अभाव भएपछि मन्त्री बुढा मन्त्रालयमा कम आउने गरेका छन् । शहरी विकास मन्त्रालयले लगाएको ठेक्कापट्टाको काम पनि समयमा हुन सकेको छैन ।

भुक्तानीकै कारण अधिकांश निर्माण व्यवसायीहरु मर्कामा परिराखेका छन् । शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने विभिन्न आयोजना र विभागहरुमा पर्याप्त मात्रामा बजेट नहुँदा काममा ढिलासुस्ती भएको बताइन्छ । तर, हालका भवन विभागका महानिर्देशक कुमार घिमिरेले जसरी पनि ठेक्का लागेका निर्माणका कामहरु सम्पन्न गर्ने भनिरहेका छन् । पहिलेका महानिर्देशकभन्दा घिमिरेको काम गराई र व्यवहार छुट्टै छ । घिमिरेलाई सचिवको पनि राम्रो सहयोग छ ।

हुन त शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने भवन विभाग, एकीकृत बागमती सभ्यता र संघीय सचिवालयमा धेरै बजेट चाहिन्छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा बजेट अभावका कारण पर्याप्त मात्रामा काम हुन सकेको छैन । संघीय सचिवालयले मन्त्रीहरुको क्वाटरको साजसज्जादेखि रंगरोगनमा ठूलो खर्च गर्ने गरेको छ ।

पटक–पटक मन्त्रिमण्डल फेरबदल हुदाँ मन्त्री क्वाटर साजसज्जा र रंगरोगनमा ठूलो रकम खर्च हुने गरेको छ । त्यसको व्यवस्थापन पनि शहरी विकास मन्त्रालयले गर्न सकेको छैन । तर, मन्त्री बुढा निर्माण व्यवसायी हुन् । त्यसकारणले पनि मन्त्री बुढालाई विकास निर्माणको काम कसरी गर्नुपर्छ भन्ने अनुभव हुनुपर्छ । मन्त्री बुढाको अनुभव अनुसारका मन्त्रालय पाएपछि कत्तिको काम गरेर देखाउने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *