स्थानीय सरकारले केन्द्रीय सरकारको मुख ताक्दै

राजनीति समाचार

सावित्री खत्री
काठमाडौं । स्थानीय सरकार बने तापनि अधिकांश महानगर, नगर, गाउँपालिका र वडा कार्यालयहरुले केन्द्रीय सरकारको मुख ताकिरहेका छन् । प्रदेश सरकार र स्थानीय सरकारको समन्वयकारी भूमिका छैन । प्रदेश सरकार बनेता पनि राजनीतिक दलहरुको लडाइँले भत्काउने र नयाँ बनाउने खेलले प्रदेशस्तरमा विकासका काम हुन सकेका छैनन् ।

बजेट जति तलब, भत्ता र सेवा सुविधामै सकिने गरेको छ । दलका कार्यकर्ताहरु राजनीतिसँगै ठेक्कापट्टा गर्ने काम गर्दछन् । जनताको लागि कुनै पनि काम गर्न सकेका छैनन् । दलका कार्यकर्ताहरु मिलेर सर्वसाधारण जनतालाई कामको जिम्मेवारी दिन सकेका छैनन् । बजेट नभएको बहाना पारेर स्थानीय स्तरमा काम हुन सकेको छैन । स्थानीय विकासको लागि बजेटसँगै विभिन्न योजना हालिदिनुप¥यो भन्दै केन्द्रमा हारगुहार गरिराखेका छन् ।

उता केन्द्रीय मन्त्रालयहरुमा बजेट नभएर तलब खान नपाएको गुनासो आइरहेको छ । गत असोजदेखि हालसम्म नेपाल सरकारका अस्थी, ज्यालादारी र करार सेवामा काम गर्ने कर्मचारीहरुले तलब नपाएको बताइन्छ । अवकास प्राप्त कर्मचारीहरुले पाउनुपर्ने पेन्सन पनि समयमा नपाएको गुनासो गरिराखेका छन् ।

यी सबै क्षेत्रलाई हेर्दा सरकारले बजेटको व्यवस्थापन राम्रोसँग गर्न सकेको देखिँदैन । सरकारले आगामी वैशाख १७ गतेबाट लगानी सम्मेलन गर्ने भनिरहेको छ । सो लगानी सम्मेलनले सार्थकता पाउने देखिँदैन । भएको बजेट जति संघ, प्रदेश र स्थानीय जनप्रतिनिधिलाई सेवा, सुविधा दिने र कर्मचारीलाई तलब भत्ता दिँदैमा सकिएको छ । अधिकांश स्थायी कर्मचारीहरुले सरकारले तलबसमेत खुवाउन नसक्ने भयो भन्ने गुनासो गर्दै छन् । उता सरकारले राजश्व उठेन भनिरहेको छ ।

व्यापारीहरुले आम्दानी भए पो राजश्व तिर्ने हुन् । व्यापार नै छैन कसरी राजश्व तिर्छन् । काठमाडौं उपत्यका भित्रका अधिकांश उद्योगी व्यापारीहरुले राजश्व बुझाए तापनि आम्दानीकै कारण राजश्व उठ्नमा कमी भएको छ । आयातभन्दा निर्यात कम भएपछि राजश्वमा कमी आएनु स्वाभाविकै हो । यसलाई सरकारले व्यवस्थापन गर्न सकेको छैन । अर्थमन्त्री नयाँ आएका छन् । यतिबेला सबैतिर बजेट अभावले विकास निर्माणका काम हुन सकेको छैन ।

आर्थिक वर्ष २०८१÷८२ बजेट निर्माण गर्नको लागि कर्मचारीहरु लागिपरेका छन् । आगामी बजेट कस्तो आकारको र कुन क्षेत्रलाई फोकस गरेर बन्ने हो त्यो पनि निश्चित छैन । राजनीतिक दलहरु देश र जनताका आवश्यकताप्रति ध्यान दिनुको सट्टा राजनीतिक चलखेल र सत्ता लिप्सामै रमाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *