अघिल्लो श्रृखला देखि क्याराभान सिनेमाका नायक थिन्लेको संझनामा लेख्ने प्रयास भैरहेको छ । २०६३ सालमा डोल्पाको सदरमुकाम दुनैं बजारमा थिन्लेमा भेट गर्ने तथा गफ गर्ने मौका मिलेको थियो । सो स्मरणलाई विगतमा लेख्ने कोशिस गरिएको थियो ।
थिन्लेसँगको बातचित स्मरणीय रहेकोले पुनः छाप्ने कोशिस गरिएको छ । उनीसँगको भेटघाटको संझनाले मात्र पनि मलाई रोमान्चित गराउने गर्दछ । उनी डोल्पालाई मात्र नभई नेपाललाई विश्वमा परिचित गराउने एक पात्र हुन् । उनले क्याराभान मात्र होइन अरु पनि नेपाली सिनेमामा अभिनय गरेका छन् । आजको यस श्रृखलामा अघिल्लोको निरन्तर दोस्रो भागको रुपमा प्रस्तुत गरिएको छ ।
हंश वहादुर शाही र म थिन्ले वस्ने घरमा पुग्यौं । घरको अगाडी ढुँङ्गा ओछ्याएका थिए । प्लाष्टिक कुर्सीहरु त्यही थिए । हामी वस्यौं । हामी आएको खवर भित्र पठायौं । केही वेरमा उनी निस्कीए । दुई हात जोडेर नमस्कारका भन्यौं । उनीले मलाई चिन्ने कुरै भएन तर उनका नेतालाई नचिन्ने पनि कुरा भएन । थिन्लेले हंश वहादुर शाहीलाई केही सोधें । सायद यो मान्छे को हो किन आएको मलाई किन भेट्न खोजेको भने होलान् । स्थानीय भाषामा वोलेका थिए । नेपाली नैं वोलेको भए पनि मैले वुझ्न कठिन नैं हुन्थ्यो । लवज फरक थियो ।
हंश वहादुर शाहीले थिन्ले र मेरो विचमा परिचय गराएर पुल वाँधी दिए । हामी विच गफ गर्न सहज भयो । थिन्लेले काठमाडौंबाट आएको हो ? भन्दै मलाइ किन भेट्न खोजेको भने । मैले उनको प्रशंसा गर्दै अली अली फूल वुट्टा भर्दै तपाइ जस्तो विश्व परिचित मान्छेसँग भेट्न रहर लागेको थियो त्यही रहर मेट्न अली अली गफ गर्न अनी तपाइसँग वसेर फोटो खिच्न आएको भनें।
कुनै वेलाका उनका नेतासँग म गएकोले अटेर गर्ने संभावना कम थियो नैं । तैपनी उनीले मलाई एक शर्त राखे । तिमि लेख्ने पनि गर्दा रहेछौं काठमाडौंवाट आएका भने पछि तिम्रो संगत देश चलाउनेसँग पनि होला मेरो एक काम गरिदिन्छौ ? भनी सोधे । मेरो देश चलाउनेसँग त्यत्रो संगत कहाँ थियोर ? तैपनि उनीसँग गफ गर्ने फोटो खिच्ने रहर थियो नैं । गोलमटोल पाराले भनें “मैले के गर्नु प¥यो ? ” तिमिले स्वास्थ्य मन्त्री चिनेका छौ ? भनेर सोधे । मैले इमान्दारपूर्वक जवाफ दिएँ “मैले त चिन्छु तर उनले मलाई चिन्दैनन् होला”ं ।
त्यो वेलामा उपप्रधान तथा स्वास्थ्य मन्त्री अमिक शेरचन थिए । तैपनि मैले तपाइको कुरा पत्रिकामा छापेर त्यो एक प्रति मन्त्रीकोमा र एक प्रति तपाइलाई पठाउने काम चाँही गर्न सक्छु भनी आश्वस्त पार्ने कोशीस गरें ।
थिन्ने वोल्न थाले “मेरो सालदाङ गाविसकालागि एक स्वास्थ्य चौकि मागेको थिँए । हुन्छ भने तर दिएनन्, ढाँटे ।” यस विषयमा उनीले अलि लामै व्याख्या गर्न आग्रह गरें । उनी केही महिना अघि काठमाडौं आएका रहेछन् । (त्यो समयमा राष्ट्रियस्तरको टिभीमा उनको अन्तरवार्ता हेर्ने मौका मिलेको थियो । त्यही अन्तरवार्ताको आधारमा मलाइ पनि उनीसँग गफ गर्ने रहर जागेको थियो ।) उनीले काठमाडौंमा भेटघाट गर्दा ज्ञानेन्द्र शाहको शासन नैं थियो ।
काठमाडौंमा योजना आयोग, मन्त्री देखि जिम्मेवार पदाधिकारीहरुलाई भेटेर साल्दाङ गाविसमा एक स्वास्थ्य चौकि माग गरेका रहेछन् । सायद त्यो बेलामा राजालाई पनि भेटेका थिए कि त्यो कुरा वताउन चाहेनन् । उनीले भेटेका सवै पदाधिकारीहरुले अन्तराष्ट्रिय हिरोको माग पूरा गरिदिने भनि आश्वासन दिएछन् । उनी खुसी हुँदै घर फर्किएछन् ।
उनी काठमाडौंवाट नेपालगँज, दुनैं तिर अल्मलिँदै साल्दाङ पुगे । उनी भन्दा पहिला नैं साल्दाङमा एक खवर पनि पुगेछ, काठमाडौंवाट । त्यो खवरको व्यहोराले थिन्लेलाई भाउन्न बनाएछ । आशा र भरोषा माथि तुषारापात नैं भएछ । साल्दाङ गाविसमा पहिला नैं एक स्वास्थ्य चौकि भएको हुँदा कानूनले एक गाविसमा २ वटा दिन वा राख्न नमिल्ने भन्ने खबरको सार रहेछ ।
अनी मैले सोधें
तपाईको गाविसमा स्वास्थ्य चौकि नैं छैन ?
एक गाविस एक स्वास्थ्य चौकी वा उपस्वास्थ्य चौकि त नेपालभर हुने कुरा थियो त्यहाँ किन भएनछ भन्ने कौतुहलता थियो, मेरो मनमा । उनले भने “छ नि” । मैले अलि फुर्ति गरेजस्तो गरी तुरुन्तै प्रश्न गरें “किन चाहियो त दुइवटा ? हाम्रो तिर पनि एउटा मात्र त हुन्छ नी ।”
पहिला पहिला गाउँको विचमा पोखरी खन्छु भनी पैसा ल्याउने । नखन्ने । अनी अर्कोले पोखरीमा गाइवस्तु डुवेर मरे, वच्चाहरुलाई पनि खतरा भयो । त्यसैले त्यो पोखरी पुर्ने योजना ल्याएर ल्याएर झ्वाम पारेको कथा सुनिन्थ्यो । त्यस्तै पो हो की भन्ने मेरो आशंका थियो ।
मेरो प्रश्नले उनी रिसाए । “तिम्रो काठमाडौंको वुद्धि ” भनेर गालि पो गरे । म प्रश्न सोध्ने भनेर कस्सीएको उनले पो प्रश्न बर्षाउन थाले ।
तिम्रो गाविसमा रहेको स्वास्थ्य चौकि पुग्न कति समय लाग्छ भनेर प्रश्न गरे । मैले भनें “ १ घण्टा” । मेरो साल्दाङको मान्छे त्यही गाविसमा रहेको स्वास्थ्य चौकिमा पुग्न कति हिड्नु पर्दछ ? थाहा छ ? भने । मेरो दिमाखले सोचेको भन्दा थपेर १० घण्टा लाग्ला भनें । उनले भने तिम्रो वुद्धि भन्दै के के नवुझने गरी गालीको वर्षा नैं पो गर्न थाले । “थाहा पाउन मन छ कति लाग्छ मेरो गाविसको मान्छे स्वास्थ्य चौकी पुग्न ?” भनेर प्रतिप्रश्न गरे । मैले थाहा पाउन चाहेको टाउकोले सूचित गरें । उनले भने ३ दिन लाग्छ । म छक्क मात्र हैन अवाक भएँ ।
अरु थप सोध्न थाले ।
तिमीहरु सदरमुकाम पुग्न कति घण्टा लाग्छ भने मैले भनें “१ घण्टा” । उनले फेरी थपे साल्दाङको मान्छे सदरमुकाम आउन कति लाग्ला नी ? मेरो अनुमान भन्दा थपेर भनें ५ दिन लाग्ला । उनीले झोक्कीदैं भने यो पटक सात दिन घोडामा चढेर यहाँ हिजो आइपुगेको ।
म उनको प्रश्न देखि अतालिन लागिसकेको थिएँ । अर्को प्रश्न सोधी हाले “तिम्रो घरवाट मोटर वाटो भेट्न कति हिड्नु पर्दछ ?” मैले पनि लाग्ने भन्दा एक घण्टा भन्दा पनि वढि थपेर भनें “२ घण्टा” । उनले भने साल्दाङको मान्छेलाई कति लाग्ला ? मसँग अनुमान गर्ने तागत सकिएको थियो र “खैं” मात्र भनें ।
सुर्खेत पुग्नु पर्दछ मोटर वाटो भेट्नलाई । १७ दिन लाग्छ भने । केही दिन थपेर भने होलान् । तैपनि मेरो कल्पना भन्दा वाहिरको कुरा हो त्यो ।
अनी टेलिफोन गर्न यहि सदरमुकाम दुनैंमा आइपुग्नु पर्दछ भन्दै थिए । तिम्रोमा एसएलसी पास गर्ने कति छन् भनी सोधे । म सँग कुनै आंकडा नैं थिएन, धेरै छन् भन्ने जवाफ फर्काएँ । उनको सालदाङमा त्यसता मान्छे नैं छैनन् जस्तो गरे । तिम्रामा त डाक्टर पढेका पनि होलान् नी ? साल्दाङमा त संझिने मात्र हो भने ।
उनीले थप प्रश्न गरे “तिम्रोमा चिनी किलोको कति रुपैया पर्छ ?”
मलाई ठ्याक्कै थाहा नभए पनि ६० रुपैया पर्छ भनिदिएँ ।
साल्दाङमा त १८० रुपैँया पर्छ भने
अनी सोधे तिम्रो सरकारले हाम्रो साल्दाङ गाविसलाई कती वजेट दिन्छ ?
मैले १० लाख दिन्छ होला भनि दिएँ । उनीले थपे तिम्रोमा नी ? त्यती नैं हो भनें
अनी तिम्रो सरकारले वृद्ध भत्ता कति वर्षमा दिन्छ ?
मेरो जवाफ ७० वर्षमा भन्ने थियो ।
अनी कर्णाली अञ्चलको सरदर आयु कती छ ? थाहा छ ? मैले थाहा नभएको सूचक सहित टाउको हल्लाए ।
उनले भने ३९ वर्ष । अनी उनले थपे तिम्रो तिर श्राद्ध गर्ने चलन छ नी ? छ भन्दै टाउको हल्लाएँ । त्यो वेलामा पिण्ड दिने चलन पनी छ नी ? फेरी टाउको हल्लाएँ । अब भन त ? कति वटा पिण्ड खाए पछि हामी कर्णालीवासी वृद्ध भत्ता खान लायक हुने ? तिम्रो सरकारको नियमले कर्णालीवासी मरेको ३१ वर्ष पछि भत्ता खान लायक हुने रहेछौंं भन्दै उनी हाँसे म चाँही निलो कालो भैसकेको थिएँ ।
उनीले थपे । यही हो तिम्रो सरकारको सोच ? यो तरिकाले अव तिम्रो गाउँको जस्तो मेरो साल्दाङ कहिले हुन सक्छ ? भने ।
“अव भन त साल्दाङमा २ वटा स्वास्थ्य चौकी चाहिन्छ कि चाहिदैन ?” अव कति वर्षमा भत्ता दिनु पर्ने होला ? यो तरिकाले सन्तुलित विकास संभव छ ? उनीले प्रश्न माथि प्रश्न गरिरहे ।
उनले थप भने “समान गर्ने तिम्रो सरकार र तिमि वेइमान हौ ।” मसँग जवाफ थिएन । म झरीमा रुझेको विरालो झैं लुतुक्क पर्नको विकल्प भएन ।
माथि उल्लेख गरेको अनौपचारिक संवाद गरे पछि उनी र म दुवै एक आपसमा खुली सकेका थियौं । वर्षौ देखिका परिचित जस्ता भैसकेका थियौं । उनी नेपालगञ्ज तिर जान हतार छ, आधा घण्टा मात्र गफ गरौं भनेका थिए । थप समय गफिन राजी भए । क्रमसः