कर्मचारी वृत्तमा कसैलाई माथैमाथ, कसैलाई पुर्परोमा हात

राजनीति समाचार

काठमाडौं । एउटा कर्मचारीप्रति राज्य कतिसम्म उदार भइदिइरहनु पर्ने हो ? नेतासँग जोडिएको नाममा न त तिनले सिंहदरबारको घेरा छोडेर कतै जानुपर्दछ । बरु २० महिनासम्म हाजिर मात्र गरेर,घुमिफिरी जागिर खान पाएका छन् । त्यो पनि बाहना बनाएका छन्,सरकारी जागिरे पत्नी विरामी भएका नाममा,उनले त्यस्तो उन्मुक्ति पाएका हुन । कर्मचारी ट्रेड युनियनका नाममा सरुवाको धन्दा चलाउने,आफूले खटाएका कर्मचारीहरुबाट मासिक उठाउने धन्दा चलाउँदै आएका मोहन घिमिरे हुन,२० महिनादेखि सामान्य प्रशासनमा हाजिर गर्दै तलब पकाउँदै आएका । कर्मचारीलाई जे गरे पनि छुट हुने मुलुक हो यो ?

सोझा,सिधा कर्मचारीले पाँच सय घुस खाँदा पनि पक्राउ गर्ने र तिनलाई झुण्डिएर,हामफालेर मर्न बाध्य बनाउने अख्तियार,राष्ट्रिय सतर्कता केन्द्र के हेरेर बसिरहेका छन् ? के कोही कर्मचारीलाई ज्वाईलाई पाले÷पोसे जसरी पोस्न पर्ने हो ? यो राज्यको स्रोत साधनको दुरुपयोग हो कि होइन ? भ्रष्टचारको परिभाषाभित्र पर्दछ कि पर्दैन ? काम नगरी खानु भ्रष्टाचार हो कि होइन ? अहिले तिनै मोहन र गगनसिंह विष्ट,यामबहादुर खत्रीहरुले मन्त्रालयमा मन्त्रीलाई गुमराहमा राखेर सरुवा धन्दा चलाउँदै आएको एकीकृत सरकारी कर्मचारी संगठनकै नेताले आरोप लगाउँदै हिड्न थालेका छन् ।

उनले विज्ञप्ती नै जारी गरेर एकीकृत कर्मचारी संगठनको नेता मैं हुँ,कर्मचारी सरुवा गराउने विभागीय जिम्मेवारी मलाई दिएको छ भन्दै मोलाहिजा गर्न थालेको आरोप विज्ञप्ती नै निकालेर लगाएका हुन । अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एकीकृत समाजवादीको कोटामा छ । आफ्नै पार्टीको मन्त्री भए पछि मोहन,गगनहरु झन राजा भइहाले ।

तिनलाई छुने चलाउने कस्को आँट ? यस अघि अमनलाल मोदीले रौतहट जिल्लामा खटाएका थिए प्रमुख प्रशासकीय अधिकृत बनाएर तर त्यहाँ टेक्नै गएनन् । कर्मचारी नेतालाई जहाँ भन्यो त्यही जुन खोज्यो त्यही कार्यालय दिनुपर्ने हो ? जागिर खाँदा खटाएको ठाँउमा जान्छु लगाएको जिम्मेवारी पूरा गर्दछु भनेर प्रतिवद्धता जनाएका कर्मचारी खटाएको ठाउँमा नजाँदा खै त हायर एण्ड फायरको व्यवस्था ? केही दिन अगाडि मन्त्री जोशी आफ्नो निर्वाचन क्षेत्रमा गएका थिए उक्त समयमा झण्डै एक दर्जन प्रमुख प्रशासकीय अधिकृत यता उता पार्दा मोहनहरुको समूहले चलखेल गरेको शरण गुरुङ्गको आरोप छ । मन्त्रीलाई गुमराहमा राखेर कर्मचारी सरुवा गर्दा रकम उठाइएको बिषय पार्टी अध्यक्ष माधव नेपालसमक्ष पुगिसकेको छ ।

मन्त्रीले आफूलाई जानकारी नदिई कर्मचारी सरुवा गरिएको बिषयमा यस्मा जोडिएका कर्मचारीहरुलाई झाँको झारेको चर्चा छ । अहिले सामान्य प्रशासनमा कप्र हेर्ने जिम्मेवारी रामकुमार महतोको अलवा दशरथ ओडलाई ल्याइएको छ उनी समाजवादी निकटकै हुन भन्ने गरिन्छ । यस्तै प्रकाश ज्वालाको नीजि सचिव बसेर कुस्त कमाएका रामहरि शर्मालाई स्थानीय तहका कर्मचारी सरुवा हेर्ने गरी भित्र्याइएको छ । रामहरि अर्काे अर्जुन भण्डारी हुन भन्ने गरिन्छ ।

उनी अहिलेसम्म ९ जना मन्त्रीको पिए बसेर जागिर खाइरहेका छन् । यिनै कर्मचारीहरुलाई अगाडि सारेर पछिल्लो समय सामान्य प्रशासनले गर्ने सरुवामा गोलमाल हुने गरेको बताइन्छ । शरण गुरुङले संगठनको नाम बेचेरै केही कर्मचारीहरुले विचौलियाको काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् । मन्त्रीलाई गुमराहमा राखेर कर्मचारी संगठनका नेताहरुले विचौलियागिरी गर्दै कर्मचारी सरुवा गर्न थालेको भन्दै कार्यबहाक अध्यक्ष शरण गुरुङले विज्ञप्ती जारी गरेका हुन ।

उनको विज्ञप्तीसँगै मोहनहरुको धन्दा छरपष्ट भएको छ । मोहन तिनै कर्मचारी हुन,जस्ले पर्यटन मन्त्रालयमा हुँदा आफ्नो बुवा आमाको नाममा शालिक बनाउन समेत मन्त्रालयबाट बजेट पारेको पर्यटन मन्त्रालयका कर्मचारीहरु बताउने गर्दछन् । यस्ता डन कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीले खटन पटन गर्न सक्लान ? चासोको बिषय हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *