रामचन्द्र बस्नेत
नेपालमा जति राजनीतिक दलहरुको जन्म भएको छ विश्वका अन्य देशहरुमा त्यति छैन । अन्य देशहरुमा दुई वा तीनभन्दा बढी राजनीतिक दलहरु छैनन् । नेपालमा राष्ट्रिय, क्षेत्रीय र पहिचानवादीका नाममा साउने च्याउसरी राजनीतिक दल खडा गरिएका छन् । त्यो पनि १०, २० मात्रै होइन एक सयभन्दा माथि दल दर्ता गरिएका छन् । तीमध्ये पुराना र नयाँ गरी एक दर्जन पार्टीहरु सत्ता वरिपरि घुम्ने गरेका छन् । अन्य दलहरु दर्ता मात्रै गरेर चुनावका बेला सलबलाउने गर्दछन् ।
नाम मात्रै दर्ता गरिएका दलहरुको राष्ट्रिय राजनीतिमा कुनै भूमिका देखिँदैन । ती नाम मात्रका दलहरुले निर्वाचनको बेला पार्टी र त्यसको अध्यक्षको नाममा चन्दा उठाउने भ¥याङ बनाउने गरेका छन् । चर्चामा आएका राजनीतिक दलहरुले पनि एकलौटी बहुमत ल्याउन सकेका छैनन् । पुराना र ठूला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले २०६४ साल यता एक्लै बहुमत ल्याउन सकेका छैनन् । त्यसयता तीन ठूला दलमध्ये कांग्रेस र एमाले आलोपालो ठूलो दल बन्ने गरेका छन् तर माओवादी केन्द्र भने एक्लै चुनाव लड्ने आँट गर्न सकेको छैन । माओवादी केन्द्र कहिले कांग्रेसँग सहकार्य गरेर चुनाव लड्ने कहिले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने गर्दै आएको छ ।
माओवादीले कांग्रेस र एमालेको सहकार्यबाट चुनाव लडी तेस्रो स्थान हासिल गर्न सफल भएपछि सधैं सत्ताको बागडार सम्हाल्दै आएको छ । तर, कांग्रेस र एमाले ठूलो पार्टी भए तापनि सधैं माओवादीको पुच्छर बनिरहन्छन् । लामो समयदेखि ठूला दल सत्ता बाहिर बस्ने र तेस्रो दलले सत्ताको नेतृत्व गर्दै आएको छ । त्यसमा थपिएको छ भखरै उदायको राष्ट्रिय स्वतन्त्र पार्टी । रास्वपाले पनि निर्वाचन भएको डेढवर्ष हाराहारीमा दुई पटक सत्ता चाखी सकेको छ । क्षेत्रीय रुपमा उदायका मधेशवादी दलहरु पनि सरकार बनाउने र ढाल्ने खेलमा लागेर पालैपालो सत्तामा रमाउने गरेका छन् ।
राष्ट्रिय र क्षेत्रीय रुपमा चर्चामा आएका दलहरु देश र जनताको पक्षका काम गर्ने भन्दा पनि कसरी हुन्छ आफू सत्तामा पुग्ने र कमाउधन्दा लिप्त हुने गर्दै आएका छन् । पुराना ठूला दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्र जति पटक सत्तामा पुगे पनि देश र जनताको पक्षमा भन्दा आफ्नै स्वार्थमा रमाइरहेका छन् । ठूला र जिम्मेवारी पार्टी कांग्रेस र एमालेले राष्ट्र, राष्ट्रियता र विकास निर्माणमा ध्यान नदिई सत्ताको खेलमा मात्रै रमाउने गर्दा जनताहरु दलहरुप्रति असन्तुष्ट बन्न पुगेका छन् । त्यसको फाइदा लिँदै केही नयाँ दल, स्वतन्त्र र पहिचानवादीले टाउको उठाउन थालेका छन् ।