यातायातको डिजी बन्न बसन्तको अनेक तिकडम

राजनीति समाचार

काठमाडौं । अबको केही दिनमै एक जना बदनाम कर्मचारी यातायात व्यवस्था विभागको महानिर्देशकको कुर्सीमा पुगे अनौठो नमाने हुन्छ । हृदेश त्रिपाठीसँग अत्यन्त घनिष्ठ सम्बन्ध स्थापित गराएका सहसचिव बसन्त अधिकारीले मधेसी आयोगबाट जम्प हानेर यातायात व्यवस्था विभागको महानिर्देशकको कुर्सीमा फिट हुन लागेका हुन । कुनै समय कर्मचारी वृत्तमा किस्सा नै चल्दथ्यो, जहाँ हृदेश त्यहाँ बसन्त । हृदेश भौतिक,स्वास्थ्य हुँदै सामान्यमन्त्री हुँदा उनको हर्ताकर्ता बनेर बसे बसन्त ।

चतुर राजनीतिज्ञ त्रिपाठीसँग अर्काे चतुर कर्मचारी बसन्तको कति घनिष्ठ सम्बन्ध थियो भन्ने एउटा उदाहरण हो २०७६ मंसिर ५ गते संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका उनले बसन्तलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीबाट सीधै सामान्य काजमा तानेका थिए । हृदयेशदेखि राजेन्द्र श्रेष्ठ सामान्य प्रशासन मन्त्री हुँदा सामान्यमा बसन्तकै चकचकी चल्यो । बसन्त ०७९ भदौ १६ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गए तर बालेनको अड्डामा पाँच महिनाभन्दा टिक्दैनन् । चितवन मूल थलो भएका उनी त्यहाँबस्दा वालेनको सुराकी रेणु दाहाललाई लगाउने गरेको आरोप थियो । कीर्ते प्रकरणमा डामिएर सरुवामा परे । मधेसी आयोग पुगे । मन्त्रालयमा बसेर खेल्दै आएका बसन्तलाई आयोगमा पठाइएपछि हातखुट्टा बाँधेझैं भयो ।

उसो त यो आयोग नै कारवाहीमा परेकाहरुलाई थन्काउने ठाँउ बनेको छ । कर्मचारी वृत्तमा चतुर प्रशासकका रुपमा परिचित सहसचिव बसन्तले त्यहाँबाट फड्को हान्ने ठाँउ खोजिरहेका थिए । भौतिकमा केशव सिग्देलको आगमन,कर्मचारी प्रशासनमा रघुराम विष्टहरु भएपछि उनलाई जम्प हान्न केही सहज भएको छ । जागिरको लामो समय यातायात र स्थानीय विकासमा एकछत्र राज गरेका बसन्त फेरि यातायातमै फर्किने चाँजो पाँजो मिलाउँदै छन् । जागिरे अवधिमा झन्डै ५ महिना सुर्खेतको प्रमुख जिल्ला अधिकारी भएर काम गरेका उनलाई स्थानीय र यातायातमा ‘डन’ नै मानिन्थ्यो । जागिरे जीवनमा विभिन्न जिल्ला विकास समितिको कार्यालय गरेर ५ वर्ष र यातायातमा ५ वर्ष थर्काएर बसेका थिए । उनलाई नजिकबाट चिन्नेहरुका अनुसार हृदयेश मन्त्री हुँदा सचिवालय र ललितपुरको यातायात कार्यालय एकसाथ चलाउने गर्थे ।’ २०६९ भदौदेखि २०७४ भदौसम्म यातायातमै जमेको हुन उनी ।

एकाथरी कर्मचारीका अनुसार,छविराज पन्त भौतिकमन्त्री हुँदा पनि निजी सचिव रहेका बसन्तको राहदानी दुरुपयोग गरेर अरुलाई नै इटाली पठाएको चर्चा पनि हुने गर्दछ २०५५ जेठ १९ गते शाखा अधिकृतबाट निजामती सेवाको पाइला राखेका उनको जागिर अवधि अब थोरै समय मात्र बाँकी छ । राष्ट्रिय योजना आयोग र लोकसेवा बढी बसेका थिए । राष्ट्रिय योजना आयोगको सचिवालय र क्षेत्रीय योजना कार्यालय गरेर उनी एक वर्ष बढी बसे । २०५६ फागुनमा सुदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दिपायलबाट लोक सेवा छिरेका उनी लुम्बिनी अञ्चल कार्यालय बुटवल र केन्द्रीय कार्यालय अनामनगर गरी झन्डै ७ वर्ष लोक सेवा आयोग बसेको देखिन्छ । निजामती किताबखानाको विवरण अनुसार,लोकसेवा आयोगबाट २०६३ भदौ २३ गते उपसचिवमा बढुवा भएका बसन्त सामान्यको अतिरिक्त हुँदै भूमि मन्त्रालय पुगेका थिए ।

भूमिमा करिब १ वर्ष बसेपछि उनी २०६४ साउन २४ गते स्थानीय विकास मन्त्रालयमा सरुवा भएर जिल्ला विकास समितिको कार्यालय, मनाङमा पदस्थापन भए । स्थानीय विकास अधिकारी (एलडीओ)को रुपमा मनाङ, बर्दिया, नवलपरासी, चितवन जस्ता जिल्लामा बसन्तले झन्डै ५ वर्ष रजगज चलाएको पाइन्छ । त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुँदै उनी २०६९ साउन १० गते तत्कालीन भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालय पुगेका थिए ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २०६८ चैत १४ गतेदेखि २०६९ साउन १० गतेसम्म रहेको देखिन्छ । भौतिकबाट भने विभिन्न यातायात कार्यालय विभाग हुँदै २०७४ असोजमा उनी तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पुगेको विवरण किताबखानाको अभिलेखमा भेटिन्छ । ०७४ माघ १० गते सहसचिवमा बढुवा भएका बसन्त सामान्य प्रशासन मन्त्रालय हुँदै आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडाको सचिव बनेका थिए ।

त्यहाँबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बुटवल हुँदै २०७६ असोज ४ गते गृह मन्त्रालय छिरेका उनी सुर्खेतको प्रमुख जिल्ला अधिकारी भएको ५ महिनामै २०७६ माघ १७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका हुन् । सामान्यबाट २०७९ असोज १६ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटिएका बसन्त अहिले मधेसी आयोगमा खटाइएसँगै अहिले काम न काजको अवस्थामा छन् ।

उनै अधिकारीलाई यातायात व्यवस्था विभागको महानिर्देशक बनाउन चलखेल सुरु भएको छ । कीर्ते काण्डमा डामिएका तिनै हाकिमलाई कारवाही गर्नुको सट्टा यातायातको महानिर्देशक बनाएर पुरस्कृत गर्ने गरी रघुविर महासेठहरु लागिरहेका छन् । सरकारले एकै पटक २८ सहसचिवको सरुवा गर्दै छ । सहसचिव सरुवाको सूचीमा नवराज ढुङ्गनादेखि चक्र बूढा र बसन्त अधिकारीहरुसम्मको नाम छ । उक्त सूचीमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई फ्यालेर बसन्तलाई लैजाने तयारी हुँदैछ ।

बसन्तलाई यातायातमा लैजाने व्यवस्था हरिश भट्ट, लक्ष्मण पाण्डेहरुले मिलाएका हुन भनिदैंछ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इम्बोस्ड नम्बर प्लेट र नक्कली लाइसेन्स जारी प्रकरणमा छानबिन थालेपछि त्यसलाई प्रभावित पार्न बसन्तलाई महानिर्देशकमा ल्याउन उक्त समूह लागिपरेका हो । बसन्तलाई यातायातको महानिर्देशक बनाउन यातायातका पूर्वमहानिर्देशकहरु गोगनबहादुर हमाल, नमराज घिमिरे,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव विपिन आचार्यले समेत ठूलो हात छ भनिदैंछ । यो समूह बसन्तलाई यातायातमा लैजान ‘न्वरान’देखिको बल निकालेर लागिपरेको चर्चा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *