प्राकृतिक विपत्तिको रोकथाममा अनभिज्ञ सरकार

राजनीति समाचार

गर्मी मौसमको सुरुवात भएसँगै नेपालमा आगलागी, हावाहुरी, डढेलो, खडेरी, बाढीपहिरो, भुक्षयजस्ता प्राकृत्तिक विपत्तिहरुले असर गरेको हुन्छ । अझ तराईका जिल्लामा लामखुट्टेको टोकाईबाट हुने डेंगु, सर्पदंश, अन्य भाइरल रोगहरुले पनि सताउने गर्दछ । साथसाथै अत्याधिक गर्मीका कारण राम्रो बासस्थान नभएका कतिपय मानिसहरुले अनाहकमा ज्यान गुमाउनु परेको समाचार आउने गर्दछ । तर सरकारले भने जनताका यस्ता समस्यामा आँखा चिम्लिएको देख्न सकिन्छ ।

राजनीतिक उथलपुथल, सत्ता स्वार्थ र भागवण्डामै नेपालको राजनीतिक सीमित हुने गरेको छ । राजनीति जनताको समस्या समाधानका लागि गरिन्छ । तर नेपालको सन्दर्भमा भने राजनीतिलाई लुटतन्त्र मच्चाउने थलोको रुपमा विकास गरिएको छ । जुनै राजनीतिक दल र व्यक्तिहरु सरकारमा आएपनि जनतासँग प्रत्यक्ष र परोक्ष रुपमा जोडिएका समस्यालाई गम्भीर रुपमा लिएको पाइँदैन ।

तथ्यांकगत रुपमा हेर्ने हो भने अधिकाशं नेपालीले प्राकृत्तिक विपत्तिकै कारण ज्यान गुमाइरहेका छन् । गर्मी र बर्षाको सुरुवातसँगै जनतालाई यस्ता प्राकृत्तिक विपत्तिबाट जोगाउन र क्षति न्यूनीकरण गर्नका लागि विभिन्न योजना अगाडि सानुपर्ने हुन्छ । दमकल तथा एम्बुलेन्सको उपलब्धता, प्राथमिक चिकित्सा, प्राकृत्तिक विपत्ति हुने स्थानबाट स्थानान्तर, जोखिम मूल्यांकनजस्ता जनतासँग जोडिएका विषयमा सरकारले विशेष ध्यान दिनुपर्नेमा सरकार सत्ता भागवण्डामै रमाइरहेको छ ।

विगत लामो समयदेखि मुलुक र जनताको हितसँग जोडिएका कुनै पनि विषयमा सरकारले चासो देखाएको पाइँदैन । जनतालाई जोखिम र प्राकृत्तिक विपत्तिबारे सूचित गर्ने, राहत उपलब्ध गराउने र उपयुक्त उपाय अपनाएर यस्ता जोखिम कम गर्न काम गर्नुपर्ने हुन्छ ।
तर राजनीतिक अलमल र सत्ता स्वार्थमा रुमलिएको सरकारले जनतासँग जोडिएका यस्ता समस्यामा ध्यान दिएको छैन । यसको मूल्यांकन जनताले नै गर्न आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *