संघीय मन्त्रालयमा कर्मचारी र मन्त्रीबीच टसल

राजनीति समाचार

काठमाडौं । एकीकृत समाजवादीबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका भानुभक्त जोशीले करिव १५, २० जनाको हुल आफ्नो सचिवालयमा राखेको चर्चा छ । मन्त्री जोशीले दुई सयभन्दा बढी स्थानीय तहमा कर्मचारी खटन्पटन गर्न नसकेको आरोप पनि लाग्न थालेको छ ।

मन्त्री जोशीले निजी सचिवालयमा आफ्नी छोरीलाई राखेका छन् । मन्त्री जोशीकी छोरी कृषि मन्त्रालयमा प्रशासकीय अधिकृत थिइन् । आफू मन्त्री भएपछि जोशीले छोरीलाई कृषि मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफ्नो निजी सचिवको रुपमा तानेका हुन् । मन्त्री जोशीले निजी सचिवमा आफ्नी छोरीलाई ल्याएपछि उनी विवादमा तानिएका छन् । जोशी तत्कालीन वनमन्त्री हुँदा पनि सचिवालयमा आफन्त, नातागोता र आसेपासेलाई भरिभराउ गर्ने गरेको आरोप उनीमाथि थियो ।

अहिले जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएपछि पनि त्यसैलाई निरन्तरता दिएको बताइन्छ । मन्त्री जोशीले अझै आफन्त र आसेपासे १० जना शिक्षकहरुलाई पनि आफ्नो सचिवालयमा ल्याउने तरखर गरिराखेका छन् । उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिव ८ वर्षदेखि कर्मचारी प्रशासनमा हालीमुहाली गर्दै आएका उपसचिव दशरथ वडले सामान्यका कर्मचारीलाई मोटो रकम लिएर सरुवा, बढुवा गर्दै आएको बताइन्छ । उपसचिव दशरथ वड कहिले कांग्रेस, कहिले एमाले, कहिले माओवादी त कहिले समाजवादी बनेर सामान्य प्रशासनमा कर्मचारी सरुवा, बढुवाको नाममा कमिसन खाइरहेका छन् ।

वड उपसचिव भइरहँदा अन्य उपसचिवहरुलाई टेरपुच्छर लगाउँदैनन् । उल्टै अन्य उपसचिवहरुलाई अपमानजनक ढंगले थर्काउने र आफू हिरो पल्टिने काम गर्दै आएको स्रतको भनाइ छ । उपसचिव वडले पावरको आडमा समान हैसियत भएका अन्य उपसचिवहरुलाई अपमान गरिरहँदा मन्त्री जोशीले चासो नदेखाएको बताइन्छ ।

संघीय मामिला तथा सामान्य प्रशानमा जुनसुकै पार्टीबाट मन्त्री बनेता पनि अहिलेसम्म विवादमा नपरेका मन्त्री विरलै छन् । मन्त्री जोशीले एउटै मन्त्रालयमा ८ वर्षसम्म हालीमुहाली गर्ने र मर्यादाको ख्याल नराख्ने कर्मचारीलाई कसरी नियन्त्रण गर्छन् भन्दै कर्मचारीले मन्त्रालयमा हल्लीखल्ली मच्चाउन थालेका छन्् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *