थिन्ले र डोल्पाको संझनामा

अन्तरवार्ता

यस स्तम्भको अघिल्ला केही श्रृखला देखि क्याराभान चलचित्रका नायक थिन्लेसँग २०६३ सालमा भेटका संझनामा केन्द्रीत रहेका छन् । दुर्गम क्षेत्रलाई सरकारले कानून वनाएर पाखा लगाउँछन् भन्ने उनको वुझाइ थियो । त्यस प्रति उनीले केही कोशीस गरे । थिन्ले कमजोर वर्ग केन्द्रीत अभियानका नायक पनि हुन् । भुगोलका आधारमा कमजोर डोल्पा हो ।

त्यसकालागि विशेष प्राथमिकता हुनु पर्दछ भन्ने उनको मान्यता रहेको थियो । उनीसँग मेरो त्यो भेट पहिलो र अन्तिम पनि भयो । उनी अहिले यो धर्तिमा छैनन् तर उनको योगदान अझै जिवित छ ।

थिन्ले र वन

उनीसँग १० मीनेट जती समय मागेर पत्रिकाका लागि आवश्यक पर्ने एक अन्तरवार्ताका लागि छोटो प्रश्नहरुको सूची वनाउन लागें । त्यस समयमा फेकोफनवाट सामयिक प्रकाशन हुने गर्दथ्यो । त्यो पत्रिकामा छाप्ने सोचका साथ उनीसँगको छलफललाई निरन्तरता दिएँ ।
मेरो पहिलो प्रश्न थियो ।

तपाइको गाउँमा सामुदायिक वन छ ?
छैन ।

तपाइको गाउँ छेउमा वन नैं छैन ?
छ, घाँस अली अली पाइन्छ तर काठ पाइन्न ।

काठ कहाँवाट ल्याउनु हुन्छ त ?

निकुञ्जको वनवाट । निकुञ्जले पुर्जी दिन्छ । फोक्सुण्डोवाट काठ ल्याइन्छ ।
सामुदायिक वन उपभोक्ता महासंघ भन्ने सुन्नु भएको छ ?
सुनेको त हो तर खासै चासो लिएको छैन ।

वनमा तपाइहरु केही काम गर्नु हुन्न त ?

गर्छौं । हाम्रो मुख्य काम भनेको नैं चौरी पालन हो । चौरी पालन गर्दै हिउँदमा जुम्लाको सिमानासम्म पुग्छौं । फेरी उकालो लाग्छौं । चौंरी चराउँदा पहिला पहिला पैसा तिर्नु पर्दथ्यो । २ वर्ष भयो तिर्नु परेको छैन ।

कस्लाई पैसा तिर्नु पर्ने ?

खै गाउँलेलाई हो की निकुञ्जलाई हो मेसो पाइन ।

चौरी चराउँदा केही अप्ठ्यारो पर्दैन ?
परेर के गर्नु ? तपाइलाई भनेर के हुन्छ ? निकुञ्जसँग हानाहानै प¥यो । निकुञ्ज जनताको हुनु पर्ने, कर्मचारीको पो हुँदो रहेछ । कर्मचारी आएर सिमा लगाउँछ । यसो गर उसो गर भन्यो पहिला पहिला निकुञ्जले । एरिक (क्याराभान सिनेमाको निर्माता निर्देशक) लाई पनि निहुँ खोज्यो, दुःख दियो ।

किन निहुँ खोज्यो ?
तपाईसँग निहुँ खोज्न अहिले केही कारण चाहिन्छ ?
तपाईको जिल्लामा जीवन वुटी (यर्सागुम्वा) पाइन्छ रे नी ?
पाइन्छ । हाम्रा गाउँका पनि टिप्न जान्छन् । तर म जान्न । आँखाले देख्दीन । आँखा वुढो भैसक्यो । फेरी जीवनवुटी टिप्ने चलन ८,९ वर्ष अघिवाट मात्र थाहा भएको हो । पहिला चलन थिएन ।

जीवन वुटीको कर तिर्नु पर्दैन ?
तिर्नु पर्ने हो तर तिर्ने चलन छैन । गान्द्राङ्गगुन्दु्रङ्गलाई १,२ सय दिए पुग्छ ।
वन सम्वन्धी नियम कस्तो चाहिन्थ्यो होला ?

मैले भनी होलें नी । जनताको निकुञ्ज हुनु पर्ने कर्मचारीको हुँदो रहेछ । यस्तो नियम चाहिन्छ भनेर के भनौं । एउटाले नियम वनाउँछ अर्कोले मान्दैन । त्यसकारण अहिले केही नभनौं ।

केही त मनमा लागेको होला नी ?
मनमा त कती छ कती । स्थायी छैन, स्थायी सरकार छ भने भन्नुस ? अबको कार्तिक देखि पौष सम्म काठमाडौंमा वस्छु । त्यही वेला गफ गरौला । भनेर मात्र के गर्नु । अघि नैं भनें हाले नी, मन्त्री, योजना आयोगलाई भेटेर स्वास्थ्य चौकी मागेको थिएँ । दिएनन् । कानूनले मिलेन भन्दीन्छन् ।

तपाइलाई राष्ट्रिय अन्तराष्ट्रियस्तरमा सवैले चिन्छन् । विदेशीहरु त खुव भेट्न आउँदा हुन् नी ?
आउँछन् । एरिक पनि गएको फाल्गुणमा आएर भेटेको थियो । काठमाडौं पुगेपछि कता कता लाग्छन् थाहै हुँदैन ।

क्याराभान फ्लीम हेर्दा कस्तो लाग्यो ?
त्यो फ्लीम वनाउन १० महिना काम गरियो । हेर्दा खेरी डर लाग्यो । त्यस्तो पनि गरियोर भने जस्तो भयो । हिउँमा डुवेको, लडेको फ्लीममा हेर्दा पो डर लाग्दो रहेछ ।

फेरी पनि फ्लीम खेल्ने वीचार छ की ?
अस्ती एरिकसँग भेट्ने बेलामा अव के गर्ने ? काम गरौं भन्दै थियो ।
तपाइलाई टिभी र सिनेमा मात्र देखेको अहिले भेट्ने मौका पाइयो ।

तपाईको र तपाइसँग वसेर फोटो खिचौं हैं ?

यत्रो गफ गरिसक्यौं । अव नखिचौं भन्न मिल्दैन होला (हास्दै) लौ खिचौं ।
नोट ः यो अन्तरवार्ता फेकोफनको प्रकाशनका प्रकाशित भएको थियो ।
समानताका लागि असमान वितरण

थिन्लेसँगको कुराकानीमा व्यक्त हरेक वाक्य मेरा लागि तिखो वाण नैं थियो । थिन्लेसँगको त्यो संवाद पछि मेरो दृष्टिकोणमा रुपान्तरण आएको छ । पैरवीका केही अवधारणा उनले सिकाई दिएका छन् ।

हाम्रा गतिविधिहरु असमान हुन्छन् तर उल्टो सोचका साथ । धनी वा सम्पन्नलाई धेर कमजोर वर्गकालागि थोर वितरण प्रणाली हुने गर्दछन् । समानताका लागि असमानता छैन । असमानताका लागि असमानता नैं छ । हदै भएको भए पनि समान मात्र छ । साल्दाङ र सुगम (जहाँ पहिला देखि नैं भौतिक लगायतको पूर्वाधार रहेको छ) ती दुवैलाई वरावरी गरिएको छ ।

विपन्न वृद्धले पाएको भत्ताले उस्को नून भुटन चिया चिनीमा खर्च गर्दछ तर सम्पन्नले पाएको त्यो पैसा पूजा पाठमा खर्च होला । वा अरु कुनै कार्यमा । सम्पन्नले ज्येष्ठ नागरिक भत्ता जीउनका लागि धेरैले प्रयोग गरेको पाइन्न । विपन्नका लागि सो भत्ता सम्मानपूर्वक वाँच्न सक्ने साधान भएको छ ।

थिन्लेका हरेक वीचारमा न्यायोचितलाई जोड दिएको पाइन्छ । उनी भन्दै थिए । हेलिवाट वाकसमा पैसा आउँछ प्लेनवाट नेपालगञ्ज झर्छ । डोल्पामा अडिदैन । अधिकांश सरकारी जागिरे स्थानीय वा जिल्लावासी छैनन् । भए पनि अलीअली कमाएर तराइतिर वसोवास मिलाइसकेका हुँदा रहेछन् । त्यो वेलामा २३ वटा गाविसको जनसंख्या २९ हजार ५ सय मात्र भएको आंकडा देखाए । उनी भन्दै थिए, जिविस र अर्को एक परियोजनाको वजेट डोल्पावासीलाई भाग लगाउने हो भने प्रति महिना प्रतिव्यक्ती १२ हजार भन्दा वढि पर्न आउँछ रे ।

जीवनवुटीको राजश्व मात्र सहि किसिमले उठ्ने हो भने ३७ करोड भन्दा माथि उठ्ने आंकाडा सुनाए । त्यसको मूल्यको त लेखाजोखा नैं छैन । त्यो वर्ष मुस्कीलले १० लाख मात्र जीवनवुटीवाट राजश्व उठेको थियो रे । उनीमा दिक्दारी थियो । तर आशा मारेका थिएनन् । स्रोतमा पनि कमी छैन भन्दै थिए । खाँचो व्यवस्थापन र नेतृत्वको छ भन्ने उनको धारणा थियो । त्यसैले उनको क्रियाशिलतामा कमी थिएन । कुनै दिन सदरमुकाम दुनैं मात्र होइन उत्तरी डोल्पा सालदाङमा पनि मोटर पुग्नेछ भनेर विश्वास पालेका थिए ।

केन्द्रीकृत सत्तामा मात्र देख्न पाए, उन्ले । संघीय संरचनाको उपयोग गर्न पाएनन् । विक्रम सम्वत २०७३ सालमा ७४ वर्षको उमेरमा उनको देहान्त भयो । क्याराभान सिनेमा भएको दृश्य जस्तै गरी खच्चडको धक्काबाट घोडा सहित लडेर मृत्यूको मुखमा पुगे ।

उनीसँगको छोटो कुराकानी मेरो मानसपटल ताजै छ । मेरो लागि थिन्ले पैरवीका एक गुरु थिए । जस्ले तथ्य सहित भनेका थिए “समान गर्ने तिम्रो सरकार वेइमान हो” । सरकार मात्र हैन हाम्रा सवै जसो सामाजिक संरचना नैं समान भन्दा माथी उठ्न सकेका छैनन् ।

सवैलाई वरावर गरेमा न्याय हुन्छ भन्ने सोच छ । निष्पक्ष वन्नु पर्दछ भन्ने नैै छ । सामाजिक न्यायका लागि पक्षपाती र न्यायोचित गरिनु पर्दछ भन्ने चेत अझैसम्म आएको छैन । केही हदसम्म सामुदायिक वनको अभ्यासको सोचले सम्वोधनको कोशिस गरेको जस्तो लाग्दछ त्यो पनि प्रकृयामा हराइरहेको देखिन्छ ।

हाम्रो सरकार र हाम्रो काम गराइले थिन्लेको आक्रोस मिश्रीत दावीलाई चुनौती दिन सक्ने सामर्थ थिएन । तथापी पछिल्लो अवस्थामा कर्णाली क्षेत्रका नागरिकलाई ६० वर्षमा नैं भत्ता दिने भनिएको छ । त्यो चाँही समानताका लागि केही हदसम्मको कोशीस भन्न सकिएला ।

सामाजिक न्यायका लागि पक्षपाती वन्नु पर्ने अवस्था अझै वाँकी नैं छ । समानताका लागि असमान व्यवहार आवश्यक देखिन्छ । कम्तीमा पनि डोल्पा र काठमाडौंलाई एउटै चस्मा लगाएर हेर्ने काम चाँही फेर्न पाए पनि हुन्थ्यो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *