इलाम र बझाङको उपनिर्वाचन एमालेलाई फलिफाप

राजनीति समाचार

कांग्रेसलाई जनताको चेतावनी
काठमाडौं । नयाँ गठबन्धन सरकार बनेपछि देश र जनताको काममा भन्दा इलाम र बझाङको उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई कसरी जिताउन सकिन्छ भनेर सरकारपक्ष र प्रतिपक्ष दल सामदाम, दण्डभेदसहित होमिएका थिए । ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसलाई ठाडै चुनौती दिँदै स्वतन्त्र र पहिचानवादीहरु हावी भएका थिए । तर, इमाला र बझाङका जनताले स्वतन्त्र, जातीय, भेगीय, क्षेत्रीय र पहिचानवादीलाई गतिलो झापड दिएका छन् । भूइँफुट्टा झाक्री झैं चितवनबाट एक्कसी उदायको रवि नेतृत्व रास्वपाले पनि राम्रै गोदाइ खाएको छ ।

उता इलाममा जातीय पहिचानको नारा लिएर उम्मेदवार बनेका मिलन लिम्बुले पनि नराम्रोसँग हार खाएका छन् । तर, स्वतन्त्रबाट मुडा चिन्ह लिएर उठेका डेकेन्द्र थेगिनले मुन्टो उठाउने संकेत देखाएका छन् । त्यसबाट कांग्रेस र एमालेले पाठ सिकेर देश र जनताको हितमा काम गर्दै संगठनलाई चुस्तदुरुस्त बनाएर अगाडि बढ्नुपर्ने चुनौती थपिएको छ । इलाम र बझाङको उपनिर्वाचनमा एमालेले सफलता हासिल गरे तापनि मिसन ८४ को लागि संगठन बलियो बनाउन मेहनत गर्नुपर्ने देखिन्छ । संगठन बनाउनुको साथै कार्यकर्तालाई जिम्मेवारीपूर्वक परिचालन गर्नुपर्ने आवश्यकता पनि त्यत्तिकै छ । पुराना र छरिएर बसेका इमानदार कार्यकर्तालाई गोलबद्ध गरी एक ठाउँमा ल्याएर गुटउपगुट नगरी समान हैसियत दिएर परिचालन गर्नुपर्ने हुन्छ ।

तर, एमालेमा अहिलेको नेतृत्वबाट त्यो सम्भव देखिँदैन । यो नेतृत्वले एमालेलाई एक ढिक्का बनाएर अगाडि बढाउनेभन्दा पनि गुटउपगुट जन्माउने खतरा बढेर गएको छ । त्यसलाई नियन्त्रण गर्न पनि नेतृत्वले गम्भीर भएर सोच्न जरुरी छ । एमालेले अन्य साना दललाई उचालेर सरकारमा सामेल भएर मात्रै हुँदैन । विकास निर्माण र जनजीवीको काममा लाग्न जरुरी छ । सरकारमा बसेका एमालेका मन्त्रीहरुले कुनै ठोस काम गरेको देखिँदैन । मन्त्रालयको ओझअनुसारको ठोस र परिणाममुखी काम नगरेपछि पार्टी बद्नाम हुने बाहेक अन्य उपलब्धी छैन ।

त्यसैले एमालेले अब अन्य दलको सहयोगी नबनी आफैले सरकारको नेतृत्व गर्नुपर्ने मत जनताले दिएका छन् । त्यस विषयमा एमालेका शीर्ष नेताहरुले ध्यान दिन जरुरी छ । सरकार बनेको दुईमहिना पुग्न लागिसकेको छ । तर, सरकारमा सामेल भएका मन्त्रीहरुले न त जनजीवीकाको बारेमा आवाज उठाएका छन् न त महंगी र भ्रष्टाचारविरुद्ध काम गरेका छन् न त कर्मचारीहरुलाई सतर्क बनाएर काममा लगाउन सकेका छन् । खाली मन्त्रालय धाउने, कार्यम, गोष्ठी र समिनारमा सहभागी हुने रिबन काट्ने र राज्यको पैसामा विदेश घुम्ने काम गरेर समय बिताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *