तत्कालिन शासन सत्ताको बिरुद्ध नेपालमा ठुला ठुला जनआन्दोलनहरुका साथै माओवादीको नेतृत्वमा जनयुद्ध बि.स. २०४६ बाट सुरु भएर बि.स. २०६२ मा उत्कर्षमा पुगेको थियो । माओवादी जनयुद्ध बि. स. २०५२ बाट सुरु भएर बि.स. २०६२ मा समाप्त भएको थियो । पुरै राष्ट्र आन्दोलनमा होमिएको हुँदा उक्त अवधिमा नेपालमा बिकास निर्माणको कामहरु ठप्पै भएका थिए । यसो हुँदा नेपालमा लोडसेडिङको प्रकोपले चरम रुपधारण गरेको थियो । नेपाली जनताले आफ्नो व्यापार व्यवसायहरु जेनतेन बिद्युत जेनेरेटर मसिनहरु र सोलार प्यानेलहरुको उपयोग गरी काम चलाई रहेका थिए । त्यतिबेला नेपालको बिजुली उत्पादनको जडित क्षमता १००० मेगावाट पनि पुग्न सकेको थिएन भने राष्ट्रको पिकआवर बिजुलीको डिमाण्ड भने १२०० मेगावाट नाघीसकेको थियो । १२ बुँदे दिल्ली शान्ति सम्झौता भएपछि नेपालमा चुनाव भयो र त्यस पछाडि माओवादी नेतृत्वको सरकार नेपालमा बन्यो ।
शान्ति काल आएपछि सबैको ध्यान नेपाललाई कसरी लोडसेडिङ मुक्त बनाउने भन्नेमा केन्द्रित भयो । त्यहि समयमा अप्पर तामाकोशी जलबिद्युत परियोजनाको तयारी भईरहेको थियो । अति नै सस्तोमा सजिलै बनाउन सकिने भनिएको उक्त परियोजनालाई लगानी जुगाड कसरी गर्ने भन्ने बारे चर्चा परिचर्चा भई नै रहेको थियो । यहि बेला दोलखा जिल्लाका युवापिढी अप्पर तामाकोशी जलबिद्युत परियोजनालाई जसरी पनि बनाउने भन्ने अठोटका साथ जुरमुराएका थिए । दोलखा जिल्ला वतन भएका युवा अर्थशास्त्री र एक सरकारी बैंकको अधिकारी समेत रहेका श्री दिव्य ध्वज कार्कीको संयोजनमा २६ राष्ट्रिय पत्रकारहरु संलग्न भएको ठुलो डफ्फालाई अप्पर तामाकोशी जलबिद्युत परियोजनाको साईट भिजिट गराउने कार्य योजना तयार भयो ।
त्यसमा सबै स्थानिय नेताहरु र युवाहरुलाई पनि समावेश गराईएको थियो । श्री दिव्य ध्वज कार्की उक्त परियोजनाले प्रत्येक्ष प्रभावित गाउँ कै वसिन्दा हुनको साथै राजनीतिक हिसाबले पनि एमालेको मेची कोशी जोड्ने अभियानमा पैदल यात्रा गरी अमुल्य अनुभव बटुली सकेका प्रभावशाली व्यक्तित्व भएको हुँदा यो अभियानलाई ठुलो बल मिल्यो । म पनि उक्त अभियानमा उहाँ कै प्रेरणाको कारणले संलग्न भएको थिएँ ।
यो अभियानमा जोडिएका अर्का महत्वपूर्ण व्यक्तित्व नेपाल बिद्युत प्राधिकरणबाट खटिएको तत्कालिन योजना प्रमुख श्री मृगेन्द्र बहादुर श्रेष्ट पनि हुन । उहाँले परियोजना स्तरबाट समन्वयकारी भूमिका निर्बाह गर्नु भएको हुँदा यस अभियानका अभियान्ताहरुलाई धेरै सहज र सफलताको कडी बन्न पुग्यो । त्यति ठुलो डफ्फालाई परिचालन गरी बसबाट यात्रा गराएर साईट सम्म लाने काम निकै कठिन थियो । त्यो बेला दोलखा देखि सिंगटी सम्मको सडक कच्चा नै थियो भने त्यस भन्दा उताको सडक खन्ने काम भर्खरै सुरु भएको थियो । सिंगटी देखि अगाडिको यात्रा राष्ट्रिय पत्रकारहरु र अन्य अभियान्ताहरुले पैदल नै गर्नु पर्ने बाध्यता थियो । त्यति ठुलो डफ्फालाई खुवाउने र वासको व्यवस्था गर्ने काम पनि निकै चुनौतीपूर्ण नै थियो । उक्त परियोजनाको पनि सुरुवाती चरणभएको हुँदा यति धेरै पाहुनाहरुलाई खानपान र बास गराउन सक्ने पूर्वाधार बनीसकेको थिएन ।
त्यसोहुँदा श्री दिव्य ध्वाज कार्की ज्यूले बिभिन्न दलका स्थानिय नेताहरुलाई परिचालन गरी त्यसको व्यवस्थापन गरेका थिए । यसै सिलसिलामा तत्कालिन पूर्व जिल्ला सभापति श्री कृष्ण प्रसाद शिवाकोटीको अमुल्य योगदानको संस्मरण पनि गर्नै पर्ने हुन्छ । बसले उफार्दै चरिकोट पुर्याएका यति ठुलो राष्ट्रिय पत्रकारहरु र अन्य अभियान्ताहरुलाई चरिकोटको एक होटेलमा उहाँले खानाको व्यवस्था गरी स्वागत गरेका थिए । बसमा यात्रा गरी चरिकोट पुगेका भोका यात्रुहरुलाई उहाँले भव्य स्वागत गरी राम्रै सित पेटपूजा गरिदिनु भयो । दोलखा देखि सिंगटी सम्मको यात्रामा बिभिन्न दलका ठुला नेताहरु पनि समेल भएका थिए । स्वर्गिय नेता भिम बहादुर तामाङ ज्यू पनि उक्त डफ्फाको साथमा सिंगटी सम्म पुग्नु भएको थियो । यात्रामा यो दलको वा त्यो दलको भन्ने थिएन । साथै सानो ठुलोको पनि कुनै फरक थिएन । सबैको लक्ष अप्पर तामाकोशी परियोजनालाई जसरी पनि सफल बनाउने भन्ने नै थियो । त्यसको लागि स्थानिय देखि राष्ट्रिय स्तर सम्म नै परियोजना मैत्री वातावारण बनाउनको लागि उक्त अभियानका अभियान्ताहरु दत्तचित्त भएर लागी परेका थिए ।
लामो समय सम्म दोलखा जिल्लाको माननिय भएर सेवा गरेका स्वर्गिय नेता श्री ढाल बहादुर खड्काको सुपुत्र श्री सुन्दर खड्का ज्यूले पनि उक्त अभियानका अभियान्ताहरु सित दोलखा देखि सिंगटी सम्मको बस यात्रामा सहभागी बन्नु भएको थियो । सिंगटी बजारको बिकास अहिलेको अवस्थामा पुगीसकेको थिएन । सामान्य बस्ने र खानेको व्यवस्था मात्रै थियो । उक्त अभियानका अभियान्ताहरु केहीले परियोजनाको निवासमा र केहीले होटलमा बस्ने व्यवस्था गरी पहिलो रात सिंगटी बजारमा नै बिताएका थिए । दोलखा जिल्लाको उत्तरी भेगका जनता धेरैको बसोबास सिंगटी बजारमा नै भएको हुँदा उक्त अभियानका अभियान्ताहरुले मास मिटिङको आयोजना गरी स्थानिय जनता सित अन्तर्क्रिरया कार्यक्रम गरेका थिए । केन्द्रबाट गएका पत्रकारहरु र स्थानिय स्तरमा राजनीतिक नेतृत्व गर्ने नेताहरु संलग्न रहेको उक्त अभियानका अभियान्ताहरुले छोटो समयमा नै मास सूचना प्रबाह गरी सबैको मनमा परियोजना मैत्री सोचको निव राख्ने सफलता पाए । त्यसभन्दा अगाडिको यात्रा पैदल नै गर्नु पर्ने भएकाले केन्द्रिय नेताहरुको सट्टामा स्थानिय नेताहरु अभियान्ताहरुको डफ्फामा समेल भए ।
आज भन्दा २० बर्ष अगाडिको कुरा भएको हुँदा सबैको स्मरण ताजा छैन । याद भए अनुसार श्री ईन्द्र शंकर उपाध्यय, श्री बिष्णु बहादुर खड्का जस्ता स्थानिय स्तरका प्रभावसाली नेताहरुले अभियानका अभियान्ताहरु सित परियोजना स्थल लामबगर सम्म कै यात्रा गर्नु भएको थियो । श्री दिव्य ध्वज कार्की उक्त अभियानका नेता थिए भने उपनेतामा सुरीका श्री श्याम बस्नेत रहेका थिए । श्री श्याम बस्नेत ज्यू अहिले एमालेको केन्द्रिय नेताको रुपमा उदियमान हुनुभएको छ । उहाँहरु दुबैको प्रयासले गर्दा त्यस्तो अप्ठेरो परिस्थितिमा पनि एक जटिल अभियान सरल र प्रभावी बन्न पुग्यो । दोलखा जिल्लाका सबैले आआफ्नो पर्टीगत राजनीतिलाई थाती राखेर दोलखा जिल्लामा बिद्युत बिकासको लागि जोडबल लगाएको हुँदा आज आएर दोलखा जिल्ला बिद्युत बिकासको चुचुरोमा पुग्न सफल भएको छ । अब सिंगाटी भन्दा अगाडिको यात्राको संस्मरण तर्फ लागौं । उक्त अभियानका अभियान्ताहरु पैदल यात्रा गरी परियोजना स्थल जाने क्रममा सिंगटीबाट जगत बिहानको खाना खानको लागि पुगेका थिए ।
अभियानका नेता श्री दिव्य ध्वज कार्कीले आफ्नै घरमा खानाको व्यवस्था गराएका थिए । त्यहि बेलामा आभियान्ताहरुको सक्षत्कार तत्कालिन खारेका पुरानो प्रभावशाली नेता स्वर्गिय श्री जटा वहादुर कार्की सित भएको थियो । नेपालमा बहुदल आएपछि स्थानिय राजनीतिमा त्यति सक्रिय नभएपनि कैयौं दशक सम्म उहाँले नै प्रधानपंचको रुपमा खारेको नेतृत्व जिल्ला देखि केन्द्र सम्म नै गर्नु भएको थियो । उहाँ सितको त्यो भेट नै अभियान्ताहरुको अन्तिम भेट सावित भयो । उहाँको उपस्थिति अहिले यो भौतिक संसारमा नभएपनि उहाँ सित भएको भेटको स्मृति र उहाँले परियोजना स्थल वरपर परियोजनालाई सफल तुल्याउन गर्नु भएको अमुल्य योगदान अमर रहेकाछन । उहाँको घरमा बिहानको खाना खाईसके पछि फेरि अभियान्ताहरुको अगाडिको यात्रा सुरु हुन्छ ।
बेलुकी झमक्क साँझ परेपछि अभियान्ताहरु परियोजनाको पावरहाउस बन्ने स्थल गोगरमा पुगेर बिश्राम हुन्छ । भर्खरै अफिसको गेस्ट हाउस र क्वाटरहरु बन्ने क्रममा भएको हुँदा कोचकाच गरी रात त्यहाँ बिताउने व्यवस्था जेनतेन हुन्छ । यति ठुलो डफ्फालाई खानपिनको व्यवस्थापन गर्न पनि निकै नै हम्मेहम्मे नै परेको महसुस भयो । भोलीपल्ट बिहान सवेरै उठेर अभियान्ताहरुको अगाडिको यात्रा सुरु हुन्छ । मनमोहक सिमीगाउँबाट झरेको छाङालाई हेर्दै अभियान्ताहरु भिर, खोला, ओडार र जंगलको बाटो हिड्दै परियोजनाको बाँध निर्माण स्थल लामबगर पुग्छन ।
त्यो रात लामबगरमा परियोजनाले बनाएको घर टहरामा सुतेर बिताउने निधो हुन्छ र नजिकैको घरमा रायोको साग र भात पकाएर अभियान्ताहरु र साथमा आएका सबै स्थानिय नेताहरुको पेटपूजा गर्ने व्यवस्था परियोजनाका अधिकारीहरुले गर्दछन । साथमा आएका केही स्थानिय नेताहरुले भने चिनेजानेका लामबगरे स्थानिय नेताहरु कै घरमा आफ्नो बस्ने व्यवस्था छुट्टै गरेका पनि थिए । रातमा परियोजनाको तर्फबाट भोजको पनि व्यवस्था गरिएको थियो जसको प्रभावले केही केन्द्रका पत्रकारहरु र केही स्थानिय नेताहरुले आनन्द मानेका थिए । भोलीपल्ट बिहानै उठेर केन्द्रका पत्रकारहरुलाई निर्माण स्थलको भ्रमण गराउने काम भयो अनि त्यसपछि रायोको साग सित भात खाएपछि फर्किने यात्रा सुरु भयो । त्यो दिन बेलुकी सिंगटी बजार ओर्लेर रातको बिश्राम त्यहाँ नै गरियो र भोलीपल्ट सबेरै उठेर बसमा चढी दोलखा बजार पुगियो । दोलखामा एक केन्द्रिय नेताले आफ्नो रिसोर्ट जस्तो घरमा भोजको व्यवस्था गर्नु भएको थियो । त्यो अतिथि सत्कार ग्रहण गरीसकेक पछि पुनः बस चढेर अभियानका अभियान्ताहरु कठामान्डौ तर्फको यात्रा थलेका थिए । साँझमा काठमान्डौ आईपुगेर अप्पर तामाकोशी अभियानलाई बिसर्जन गरियो ।
यो कुनै सानो प्रयास थिएन किनकि नेपालमा पहिलो चोटी देशको जल्दो बल्दो समस्याको समाधान निकाल्नको लागि सबै एक ढिक्का भएका थिए । अहिले उक्त परियोजनाको पहिलो चरण पुरा भएकोछ । यसबाट ३०९ मेगावाट बिजुली उत्पादन भएको अवस्था छ भने देस्रो चरणको कामको लागि तयारी पुरा हुने क्रममा रहेकोछ । यो दोस्रो चरणमा सुरुङ मार्फत रोल्वालिङ खोलालाई हालको बाँधमा खसालिने छ र तत्पस्चाद उक्त परियोजनाबाट ४५६ मेगावाट बिजुली उत्पादन गर्ने काम सम्पन्न हुनेछन । यस्ता ठुला परियोजना बनाउनको लागि जनसहभगिता मार्फत कसरी लगानी जुटाउन सकिन्छ भन्ने वित्तिय मोडेल पनि अप्पर तामाकोशी जलबिद्युत परियोजनाको सफल निर्माण पछि स्थापित भईसकेको छ । नेपालीहरुले पनि यस्ता ठुला परियोजनाहरुको व्यवस्थापन गरी बनाउन सक्छन भन्ने नजिर पनि स्थापित भईसकेको छ । खासगरी श्री मृगेन्द्र बहादुर श्रेष्ट, श्री बिज्ञान श्रेष्ट, श्री विमल गुरङ्ग आदिको उक्त परियोजनाको राम्रो व्यवस्थापन गरी सफल तुल्याउन धेरै ठुलो योगदान रहेको देखिन्छ । सुरुमा सबै भन्दा सस्तोमा बन्न सक्ने परियोजना भनी चर्चा गरिएको अप्पर तामाकोशी जलबिद्युत परियोजना बनाउँदै जाँदा तीन दोव्वर महंगो भयो ।
एक खर्बको आसपास लगानी भईसकेको छ र पनि दोस्रो चरणको काम पुरा भएको छैन । यसैको परिणाम स्वरुप अप्पर तामाकोशी जलबिद्युत परियोजनाको शेयरको भाउ अप्रत्यासित रुपले घट्दै गएकोछ । हकप्रद शेयरको निस्काशन गरे पछि त झनै शेयर भाउमा गिरावट आएको देखियो । हकप्रद शेयरको डिमाण्ड नहुँदा अक्सनमा जानु पर्ने बध्यता पनि आईलाग्यो । परियोजानको लागत बढेको र शेयरको डिमाण्ट घटेकाले शेयर मुल्यमा गिरावट आउने क्रम जारीछ । त्यो कहिले सम्म स्थिर भएर उकालो लाग्ने हो अहिले नै यसै भन्न सकिने अवस्था छैन । यो त बजारको कुरा भयो जहाँ माग र आपूर्तिको शिद्धान्तले काम गरेको हुन्छ । सबै भन्दा खुसीको कुरा के छ भने यिनै परियोजनाहरुको योगदानले गर्दा नेपाल राष्ट्र लोडसेडिङ मुक्त भईसकेको छ ।
अहिले नेपालमा बिद्युतको जडित क्षमता तीन हजार मेगावाट पार गरीसकेको छ भने बिजुलीको पिक आवर माग २ हजार मेगावाटको आसपास पुगेको छ । मौसमी परिवर्तनको प्रभावले गर्दा नदीका पानीहरु निकै सुकेकाले हिउँदमा अझ पनि भारतबाट बिजुली आयात गर्नु पर्ने हुन्छ अन्यथा नेपाल राष्ट्र र नेपाली जनताले अब लोडसेडिङको भय र चिन्ता लिनु पर्ने अवस्था छैन । अहिले बिजुलीको उत्पादनमा निजी क्षेत्रले सरकारी क्षेत्रलाई उछिनी सकेको छ । बि. स. २०६२ पछाडि नेपालमा आएको राजनीतिक परिवर्तनले गर्दा जलबिद्युत बिकासमा राष्ट्र कै ध्यान केन्द्रित भयो र त्यसैको परिणाम स्वरुप नेपाल राष्ट्र बिजुली उत्पादनमा आत्मनिर्भर मात्र नभएर बिजुली निर्यात पनि गर्न सक्ने मुलुकमा रुपान्तरित भयो ।
यहि नै लोडसेडिङ मुक्त पार्ने अभियानकको अभियान्ताहरुको ठुलो योगदान भएको जगजाहेर नै छ । केही युवाहरुको सानो प्रयासले आज नेपाल राष्ट्रको मान र नेपाली जनताको स्वाभिमानले सगरमाथाको चुचुरो नै छुन पुगेको छ भनी दाबी गर्दा अब कुनै फरक पर्दैन । उक्त अभियानमा संलग्न राष्ट्रिय पत्रकाहरु धेरैको रिकर्ड हामी सित उपलव्ध छैन । तैपनि उहाँहरु सबैलाई नमन अर्पण नगरी यो संस्मरण पुरा भएको मानिने छैन । सबैलाई हार्दिक नमन अभिवादन अर्पण गर्दछु । अन्तिममा जलबिद्युत बिकासको लागि निरन्तर लेखी नै रहने श्री बिकास थापा ज्यूको स्मरण गर्दै उहाँ दोलखालीको यो अभियानमा नजोडिएको भएतापनि उहाँको लेखहरुले उत्प्रेरित तुल्याएको हुँदा उहाँलाई हार्दिक नमन अभिवादन धन्यवाद अर्पण गर्दै यो लोडसेडिङ मुक्त पार्ने अभियान र अभियान्ताहरुको अप्पर तामाकोशीको यात्रा संस्मरणमा पूर्णबिराम लगाउँछु ।