काठमाडौं । वैशाख १९ गते विश्वका मजदूरहरुले १३५ औं मजदूर दिवस मनाइरहँदा नेपालमा मजदूरबिनाको नेता दिवस मनाइएको थियो । नेपाली मजदूरलाई नेपाल सरकारले काम दिन नसकेपछि विदेशमा गएर पसिना बगाइरहेका छन् । तर, मजदुरी भनेको कुन चरीको नाम हो भनेर नचिन्ने पार्टीका कार्यकर्ताले भने नेपालमा मजदूर दिवस मनाएर संसारलाई चकित पारिरहेका थिए । ती कार्यकर्ताले मजदूर दिवस मनाइरहँदा उता श्रमिकहरुले काम गरिरहेका देखिन्थे साहुँहरु मजदूर दिवस मनाइरहेका थिए ।
नेपालका उद्योगी, व्यवसायीहरुले आफ्ना मजदूरलाई समयमा उचित पारिश्रमिक दिएका छैनन् । तर, मजदूर दिनवसको बेला तिनै उद्योगी, व्यवसायीहरु मजदुरको नाममा गरिएको जुलुसमा “मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान” भन्ने नारा लगाइरहेका थिए । तर, जुलुसमा सहभागी अधिकांश मजदुर नभएर विभिन्न पार्टीका कार्याकर्ता र मजदुर ठग साहुहरु देखिन्थे । नेपाली श्रमिकहरुलाई एकातिर उद्योगी, व्यवसायीहरुले समयमा उचित पारिश्रमिक नदिएर ठगिरहेका छन् भने अर्कोतिर सामाजिक सुरक्षाको नाममा सरकारले ठगिगरिराखेको छ ।
होइन भन कुनै प्राइभेट कम्पनीबाट तलब खाएबापत सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसाको हिसाब किताब खोइ ? त्यो पनि गैरसरकारी संघसंस्था र प्राइभेट कम्पनीका स्थायी कर्मचारीहरुले मात्रै सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसाको हिसाब किताब हुन्छ । अन्य करार र ज्यालादारी कर्मचारीको तलबबाट काटिएको सामाजिक सुरक्षा कोष कहाँ गएर जम्मा हुन्छ र उसले त्यो पैसा कुन माध्यमबाट पाउँछ ? त्यो अहिलेसम्म एकिन छैन ।
कुनै पनि सरकारी, गैरसरकारी संस्थाले मजदुरले त्यो संस्थामा काम गरेको पारिश्रमिक, सेमिनार गोष्ठीमा सहभागी भएको भत्ता, सुविधा दिँदा सामाजिक सुरक्षा कोष भनेर सम्बन्धित व्यक्तिको प्यान कार्ड मागिन्छ । त्यसरी प्यान कार्डमा जम्मा भएको रकमको हिसाब किताब खोइ कहाँ छ ? अर्कोतिर अधिकांश सरकारी कार्यालयमा ज्यालादारी र मजदुरहरुले बिहानबेलुका नभनी सरकारी कार्यालय कुरेर बसेका हुन्छन् । उनीहरुले समयमा तलब पाउने गरेका छैनन् । पाइहाले तापनि श्रमिकहरुको ठेक्का लिने ठेकेदारहरुले कमिसन खाने गरेका छन् । सरकारदेखि गैरसरकारी संघसंस्थाहरुले पदबिहीन कर्मचारीहरु ठेकेदार मार्फत राख्ने गरेका छन् । उनीहरुको जागिरको ग्यारेन्टी पनि हुँदैन । र, अन्य स्थायी कर्मचारी पाउने सेवासुविधा पनि पाउँदैनन् । पाइहाले पनि ठेकेदारमार्फत पाउने र ठेकेदारले आफ्नो कमिसन कटाएर न्यून पारिश्रमिक दिने गर्दै आएका छन् ।
त्यस्ता पदविहीन कर्मचारी र मजदूरहरुलाई जीवन यापन गर्न पुग्ने पारिश्रमिक पनि दिइएको पाइँदैन । अहिले निम्नतम पारिश्रमिक भनेर पत्रकारहरुको मात्रै संस्था खडा गरिएको छ । अन्य उद्योग, व्यवसाय, प्राइभेट अस्पताल, विभिन्न होटेल, रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थाहरु, सहकारी संस्था, निजी स्कुल, कलेजलगायतमा श्रेणीबिहीन कर्मचारी र मजदुरहरुलाई उचित पारिश्रमिक दिइएको पाइँदैन । अधिकांश होटेल, रेष्टुरेन्टहरुमा रिसेप्सनिष्ट, एकाउन्टेन, किचेन हेल्पर, भाँडावर्तन सरसफाई गर्नेलाई रु. १५ हजार तलब दिइएको पाइन्छ ।
तर सरकारी कार्यालयमा त्यही प्रकृतिको काम गर्नेलाई १८ देखि २४ हजारसम्म पारिश्रमिक दिइएको पाइन्छ । नेपालका मजदुरहरुको लागि राज्यले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्नेमा त्यो नगरी उद्योगी, व्यापारीहरुले आफ्नो मनलाग्दी तरिकाले तलब दिने गरेका छन् । यसले गर्दा नेपालका मजदुरहरु ठगिइरहेका छन् । जब मजदुरहरुले उचित पारिश्रमिक समयमा पाउँदैनन् भने मजदूर दिवस मनाउनुको के अर्थ ?