यांग्री र लार्केको पानी आइसकेपछि ५० लाख जनताले राहत पाउनेछन्

अन्तरवार्ता राजनीति

पानीको कष्ट झेल्दै आएका काठमाडौं उपत्यकावासी केहि समयदेखी मेलम्चीको पानी आएपछि खुसी देखिन्छन् । पानीमै मासिक हजारौँ रूपैयाँ खर्च गर्नुपर्ने बाध्यताबीच मेलम्ची आएपछि केही आसा उपत्यकाबासीमा पलाएको छ । मेलम्चीबाट दैनिक थपिने १७ करोड लिटर पानी काठमाडौंका सबै स्थानमा पु¥याउने सरकारको योजना छ । राष्ट्रिय गौरवकै आयोजनामा दर्ज मेलम्ची खोलाको पानी वितरण र भविष्यका थप योजनाका सन्दर्भमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाशकुमार राईसँग तामाकोशी सन्देश साप्ताहिक प्रतिनिधिले गरेको कुराकानीको अंश :

० उपत्यका खानेपानी लिमिटेडले पछिल्लो समय के कस्ता खालका कामहरू गर्दै आएका छन् ?
अहिले काठमाडौँ उपत्यकामा सुख्खा सिजन चलिरहेको छ। यो सुख्खा अवस्थामा पनि हामीले मेलम्ची आयोजनाबाट निरन्तर रुपमा दैनिक १७ करोड लिटर पानी प्राप्त गरिरहेका छौं । १७ करोडमध्ये ३ देखि ४ करोड टेस्टिङ कमिसनिङ्गमा खर्च हुन्छ। उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । तर, आसपासमा रहेका मूल मुहानबाट १२ करोड लिटर र मेलम्ची आयोजनाबाट १७ करोड लिटर गरी दैनिक २९ करोड लिटर पानी मात्रै वितरण हुन्छ । उपत्यकामा थप १४ करोड लिटर पानी आवश्यक छ । ती पानीहरूलाई केही समयको ग्याप गरेर पानी वितरण गर्ने काम गरिरहेका छौं । त्यो क्रममा पानी वितरण गर्दा पुरानै सञ्जालबाट पानी वितरण गरेको कारणले गर्दा चुहावट पनि देखिरहेका छौं ती चुहावट नियन्त्रणको कामहरू पनि हामीले गरिरहेका छौं। पानी वितरण सँगसँगै चुहावट नियन्त्रणको कार्य पनि सँगसँगै गरिरहेका छौं । पानीको मात्रा बढे पुराना संरचनाबाट पठाउँदा पाइप फुट्ने समस्या छ । परीक्षण भइरहेकामध्ये थोरै स्थानमा समस्या देखिएको छ । सडक विभाग, महानगरपालिका र विद्युत् प्राधिकरणले ढलपाइप, बिजुलीको तार भूमिगत गर्दा पाइप फुटाएकाले समस्या देखिएको छ ।

० केयुकेएलले कति स्थानबाट पानी वितरण गरिरहेको छ ?
केयुकेएलले उपत्यकाका १० वटा शाखा कार्यालयअन्तर्गतबाट पानी वितरण गर्छ । ललितपुर, नयाँ बानेश्वर, भक्तपुर, क्षेत्रपाटी, महांकालचौर, महाराजगन्ज, कीर्तिपुर, मध्यपुर थिमीमा केयुकेएलका शाखा कार्यालय छन् । यी कार्यालयहरूले महाकाल चौर, पानीपोखरी, बाँसबारी, बालाजु, त्रिपुरेश्वर, अनामनगर, मीनभवन, बोडे, भैँसेपाटी, हरिसिद्धिमा रहेका रिजर्भ ट्यांकीबाट पानी वितरण गर्छ । पुरानो पाइपलाइन पिआइडीले बिछ्याएको पाइपलाइनभन्दा मसिनो छ । जसका कारण ठाउँ–ठाउँमा पाइप फुटेको छ । रिजर्भ ट्यांकीहरूमा पर्याप्त पानी भएकाले अहिले पुरानै पाइपलाइनबाट पानी वितरण भइरहेको हो । पिआइडीले नयाँ पाइपलाइन परीक्षण गरिसकेपछि केयुकेएललाई हस्तान्तरण गर्नेछ र नयाँ तालिका जारी गरी वितरण सुरु हुनेछ । प्रायजसो चुहावटको घटनाहरू पुरानै वितरण सञ्जालको प्रयोग गरेर पानी वितरण गरिरहेको कारणले प्रायजसो सबै ठाउँमा लिकेज देखिन्छ नै। पाइपहरू पुरानो भएको ठाउँमा ज्वाइनहरु कमजोर भएको ठाउँमा हेभी गाडी कुद्ने ठाउँहरूमा यस्ता समस्याहरु आइपरेको छ ।

० काठमाण्डौंको कुन क्षेत्रमा खानेपानीको अभाव बढी छ ?
मेलम्चीको खानेपानी आएपछि कतिपय क्षेत्रमा खानेपानी फालाफाल भए पनि केही ठाउँमा भने झनै हाहाकारको अवस्था छ । अलि बढी जनसंख्याको चाप रहेको स्थानमा पानीको समस्या रहेको छ जस्तो ः कोटेश्वर, सिमामंगल, पुरानो बानेश्वर, क्षेत्रपाटी, टेकु, कालीमाटी, बालाजुलगायत क्षेत्रमा खानेपानीको निकै संकट छ । चाबहिल क्षेत्र, नयाँ बसपार्क, कलंकी क्षेत्रमा खानेपानी अभावको समस्या सुधार भएको छैन । पाइपलाइन पुरानो भएकाले र कतिपय ठाउँमा पाइप थुनिएकाले समान रूपले पानी नपुगेको अवस्था छ । बबरमहल र अनामनगर क्षेत्रमा भने नयाँ पाइपलाइनद्वारा खानेपानी पठाइएको छ । यस क्षेत्रमा पुरानो पाइपलाइन बिग्रिएको थियो । केयुकेएलको पाइपलाइन बिग्रिएका कारण अनामनगर क्षेत्रमा यसअघि खानेपानी वितरणमा समस्या हुँदै आएको थियो ।

० कहाँ कहाँ चुहावट भएका छन् विशेष गरि ?
मेलम्ची पानी वितरण हुन थालेसँगै एउटै सडकका पाँच–सात ठाउँमा चुहावट भएको देखिएको छ । लाजिम्पाट, लैनचौर, रत्नपार्क, अनामनगर, बानेश्वर, थापागाउँ, सिंहदरबार, सातदोबाटो, लगनखेल, कुमारीपाटी सडकखण्डका ठाउँठाउँमा चुहावट भएको देखिएको छ । पानी लिकेज हुँदा सडकको सुन्दरतासमेत बिग्रिएको छ । यसमा हामी चुहावट नियन्त्रणको लागि हामी लागि परेका छौं । हालसम्म उपत्यकाका साढे तीन सयभन्दा धेरै ठाउँमा पानी चुहावट भएको छ । करिब साढे दुई सय भन्दा बढी ठाउँमा मर्मतको कामसमेत भइसकेको छ । ती सबैको मर्मत गर्ने काम तदारुकताका साथ गरिरहेका छौँ । हाल साढे तीन सयभन्दा धेरै ठाउँमा लिकेज भएकोमा करिब दुई सय स्थानमा मर्मत भइसकेको छ । पानी वितरणका क्रममा लिकेज हुने र मर्मत कार्यलाई निरन्तरताको प्रक्रियाको रूपमा हेर्नुपर्ने छ । सडक विभागसँग अनुमति लिएर मर्मतको काम पनि जारी राखेका छौं । अहिले समस्या बढ्नु स्वाभाविक पनि हो । हाम्रो पुरानो वितरण प्रणालीमा पानी पनि थपियो । पानी थपिएसँग भोलुम बढ्यो । पाइपमा पनि प्रेसर बढ्यो । यी कारणले गर्दा लिक त भइहाल्छ । देखिएको ठाउँमा दैनिक रूपमै मर्मत गर्छाैं । दिउँसो सहरी आवागमनमा अवरोध गर्ने गरी मर्मत गर्न मिल्दैन । प्रायः मर्मतको काम राति गरिरहेका छौँ । लिकेजको समस्या आउनेबित्तिकै सडक विभागसँगको समन्वयमा काम भइरहेको छ ।

० उपत्यकामा दैनिक कति करोड लिटर पानी माग छ ?
काठमाडौँ उपत्यकामा अहिले दैनिक ४७ करोड लिटर पानीको माग छ । मेलम्चीबाट कुल १७ करोड लिटर दैनिक आउने क्षमता छ। दैनिक चार करोड लिटर परीक्षण वितरण रहेकाले खेर जाने गरेको छ। मेलम्चीको पानी पूर्ण रूपमा वितरण हुँदा पनि दैनिक २७ करोड लिटर पानी वितरण हुनेछ । परम्परागत स्रोतबाट १० र मेलम्चीबाट १७ करोड गरी कुल २७ करोड लिटर पानी वितरणको क्षमता हुनेछ । जब कि त्यो समयसम्म यसको दोब्बर खानेपानी माग पुग्नेछ। हरेक वर्ष उपत्यकामा खानेपानीको माग करिब १० प्रतिशतका दरले बढ्छ । खानेपानीको अभाव रहेपछि केयुकेएलले निरन्तर ट्यांकरबाट पनि पानी वितरण गरिरहेको छ । ट्यांकरबाट पनि वर्षमा २१ हजार ३ सय ट्रिप पानी आपूर्ति हुन्छ। दैनिक औसत ५८ ट्रिप ट्यांकरको पानी काठमाडौंमा माग हुने गरेको छ। तर तथ्यांक राख्ने व्यवस्थित प्रणाली नभएकाले योभन्दा दोब्बरसम्म ट्यांकरको पानी खपत भइरहेको हुनसक्छ ।

० कर्मचारी संगठनहरुको ज्यादती छ भन्छन् नी ?
त्यस्तो त छैन् । कर्मचारी संगठनले कर्मचारीहरुको हक हितको लागि कुरा उठाउने हुन् । तपाइले भने जस्तो ज्याजती छ्रैन् ।

० पानी त आयो तर मेलम्ची ढिलाइ हुनुका कारण के–के थिए ?
ढिला हुनुको मुख्य कारण हो व्यवस्थापन । निर्माण कम्पनीहरू अन्तर्राष्ट्रिय भए, कन्सल्टेन्टहरू पनि अन्तर्राष्ट्रिय नै भए । सक्षमताका हिसाबले समस्या होइन यद्यपि, व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती हो । यो तहको निर्माण कार्यको व्यवस्थापन गर्न हामी एक किसिमले सफल भएको मान्नुपर्छ । नेपालकै सबैभन्दा ठूलो टनेल निर्माणका लागि हाम्रै जनशक्तिमा पनि क्षमता विकास भइसकेको थिएन । काम गर्दै, सिक्दै जानुपर्ने अवस्था छ । सरुवा–बढुवाका कुरा आदि कारणले गर्दा पनि र सिकिसकेको कुरालाई फेरि नयाँ टिम जाने, फेरि सिक्नुपर्नेजस्ता कुराले पनि ढिला हुन गएको अवस्था हो । मुख्य त सम्झौता तोड्नु नै ढिलाइको कारण हो ।

० यांग्री र लार्के आइसकेपछि उपत्यकाको खानेपानीको अवस्था कस्तो हुने देख्नुभएको छ ?
यो महत्वपूर्ण प्रश्न हो । यांग्री र लार्केसमेत आइसकेपछि उपत्यकाको करिब ५० लाख जनसंख्यालाई प्रतिव्यक्ति प्रतिदिन सय लिटर पानी उपलब्ध गराउन सकिन्छ । त्यसमा प्रणालीमा विद्यमान हुने १० प्रतिशत चुहावट कटाउने हो भने प्रतिव्यक्ति प्रतिदिन ९० लिटर पानी उपलब्ध हुनेछ । हाम्रो आनीबानी, रहनसहन र जीवन शैलीलाई हेर्ने हो भने ९० लिटर पर्याप्त हुन्छजस्तो लाग्छ मलाइ । तसर्थ ५० लाख जनसंख्यालाई मेलम्चीले धान्छ ।

० सबै उपभोक्ताले अझै पनि पानी पाइरहेका छैनन् नि ?
उपत्यकाभित्र खानेपानी विगतमा हाहाकार थियो । जनसंख्याको अनुपातमा पानी उपलब्धता अत्यन्त न्यून थियो । आम उपभोक्ताले धैर्यधारण गरेर मेलम्चीलाई कुरेर बस्नुभयो, म उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु । यो धैर्यताको लागि सराहना गर्छु । अबका दिनमा नयाँ युगमा प्रवेश गरेको अवस्था छ । पुरानो प्रणालीबाट पानी दिइरहेका छौँ । जुन ठूला पाइप अगाडि छन्, त्यसमा पर्याप्त पानी आइरहेको छ । त्यहाँ पम्प गरिदिँदा पुछारको घरमा पानी पुगेको छैन । हामी सबैले विगतका दिन सम्झेर पुछारका उपोक्तालाई पानी दिनुपर्छ । पुरानो पाइप नहटाएसम्म ४० प्रतिशतसम्म चुहावट छ, त्यो पछि हट्छ । समानरूपले सबैलाई वितरण गरिदिनु हुन म आग्रह गर्न चाहन्छु ।

० पानी आइसकेपछि यसको व्यवस्थापन के भइरहेको छ ?
अबको काम एकदमै चुनौतीपूर्ण छ । पानी आएन भन्दा एउटा मात्र समस्या थियो । अब झन् सयौँ समस्या आइपर्छन् । यत्रो जनघनत्व भएको ठाउँमा पानी वितरण गर्नुपर्नेछ । हाम्रो नयाँ पाइप लाइनहरूको परीक्षण गरेर त्यसबाट वितरण गर्नुपर्नेछ । पानी आइसकेको र रिजर्भवायर भइसकेका कारण ‘इन्टरकनेक्सन’ गरेर पुरानो पाइपबाट वितरण गरेका छौँ । चुनौतीपूर्ण त छ । सिक्दै अनुभव गर्दै सुधार गर्दै लिएर जाने प्रयास गरिरहेका छौँ । बिहान ६ः०० बजेदेखि राति १०÷११ बजेसम्म साथीहरू खटिराख्नुभएको छ, रिजर्भवायर पाइप लाइनहरूमा उपस्थित भइरहनुभएको छ । लेबल नापिराख्नुभएको छ । यद्यपि जनताका आसा र आवश्यकताअनुसार पानी वितरण गर्न सकिरहेका छैनौँ । कतै धेरै पानी गइरहेको छ कतै थोरै गइराखेको छ । यी सबै समस्यालाई विस्तारै हामी समाधान गर्दै जानेछौँ । वितरणमा असमान गर्ने हाम्रो नियत होइन । व्यवस्थापनकै क्रममा कतिपय लाइन ठूलो लाइनमा जोडिएका छन् । ती ठूलो लाइनबाट सानासाना लाइनको पुच्छारमा पर्नेहरूका लागि त्योभन्दा अगाडि मोटर चलाइदिएर पानी तानेका कारण केही उपभोक्ता मारमा परेको हामीले बुझेका छौँ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *