जनताले महसुस गर्न नसकेको गणतन्त्र

राजनीति समाचार

वि.सं. २०६२÷६३ को जनआन्दोलनले नेपालमा राजनीतिक व्यवस्था परिवर्तन गर्न सफल त भयो, तर खराब कार्यान्वयनको कारण गणतन्त्र जनताका लागि उपलब्धिमुलक अहिलेसम्म पनि साबित हुन सकेको छैन । गणतन्त्रका नाममा ‘जे मन लाग्यो त्यही तन्त्र’ अहिले नेपालमा लागू छ । वास्तविकता त के छ भने गणतन्त्र केवल नेता र तिनका कार्यकर्ताका लागि उपलब्धिमुलक साबित भएको छ । हिजो नेपालमा १७औं गणतन्त्र दिवस मनाइयो । त्यसैगरी यसै दिनलाई शुभ अवसर पारेर हरेक वर्ष सरकारले बजेट सार्वजनिक पनि गर्ने गर्दछ ।

वि.सं. २०६५ जेठ १५ गतेको संविधानसभाको पहिलो बैठकले नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको र त्यसै दिनको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाउँदै आइएको छ । वास्तविक गणतन्त्रले जनतालाई सेवा, सुविधा र राहत दिन्छ । तर नेपालमा गणतन्त्रले जनतालाई महंगीको मार, श्रमको पलायन, भ्रष्टाचार र बेथिति, शक्तिको दुरुपयोगजस्ता दुष्प्रभावको गोलचक्रमा फसाउने काम ग¥यो । वास्तवमा गणतन्त्र आफैंमा गलत होइन । यसले त विधिको शासन, मुलुकको समृद्धि र विकास, कानूनी राज्यको परिकल्पना गरेको छ । तर यसको गलत व्याख्या र गलत कार्यान्वयनका कारण मुलुक झन् अधोगतितर्फ लागेको देख्न सकिन्छ ।

गणतन्त्र र संघीयता सीमित व्यक्तिलाई फाइदा दिने र राज्यको स्रोत साधनमाथि आफन्त, निकट र कार्यकर्ता भर्ती गर्ने जस्ता पछिल्लो राजनीतिक अभ्यासको रुपमा कार्यान्वयनमा आएको छ । वास्तवमा यो जनताको आन्दोलनको उपेक्षा र अपहेलना पनि हो । देशलाई समृद्ध बनाउने, लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यताको विकास गर्ने ठूलो सपना र परिकल्पना गरिएको गणतन्त्र जनताका लागि फुस्स भएको छ । राजनीति गर्ने, सरकारमा जाने, सत्ताको दुरुपयोग गर्नेका लागि गणतन्त्र ठूलो उपलब्धी बनेको छ । गणतन्त्रको मूल्य र सिद्धान्तमा मुलुक चल्नुपर्छ ।

तबमात्र जनता र देशले निकास पाउन सक्छन् । तर गणतन्त्रको गलत अभ्यास र कार्यान्वयनका कारण मुलुक नै शोषित हुन पुगेको छ । हरेक वर्ष गणतन्त्र दिवस मनाउँदै आइएको छ । तर जनताले वास्तविक गणतन्त्रको महसुस गर्न सकेका छैनन् । सर्वसाधारण जनताले गणतन्त्रलाई नेताहरुको लुटतन्त्रको रुपमा पनि व्याख्या गर्न थालेका छन् । गणतन्त्रको उपलब्धी, यसको मूल्य मान्यता र सिद्धान्तलाई शिरोपर गर्दै राजनीतिक दल, नेता र तिनका कार्यकर्ताले सही कार्यान्वयन गरुन र गणतन्त्रलाई जीवित राख्दै सर्वसाधारण जनता र मुलुकका लागि गणतन्त्र फलदायी होस् भन्ने सबैको कामना रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *