भ्रष्टाचारीहरुलाई सधैं नियमनकारी निकायको साँचो

राजनीति समाचार

कर्मचारीतन्त्रलाई नियन्त्रणमा राख्न सरकार असफल
काठमाडौं । कर्मचारी तन्त्रभित्र शक्ति र पावरको आडमा खेल्नेहरु प्रशस्तै छन् । त्यही शक्ति र पावरको आडमा खेलेर देशलाई नै तहसनहस बनाउने काम भइरहेको छ । जति पटक सरकार फेरिन्छ, त्यति नै पटक सरकारले कर्मचारी फेर्ने प्रवृत्ति हावी हुँदा न राजनीतिक दलले जस पाउँछ, न जनताले सेवा सुविधा पाउँछन् । राजनीतिक पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले पनि आफ्नो फेवरको कर्मचारी खोज्ने कारणले यस्तो भएको हो । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्मचारी तन्त्रलाई चलायमान बनाउन सकेका छैनन् ।

त्यसको असर सबै क्षेत्रमा परिराखेको छ । प्रचण्डले आफू डेढ वर्ष प्रधानमन्त्री भइसक्दा पनि कर्मचारीलाई स्थिर रुपमा काम गर्ने वातावरण बनाउन सकेका छैनन् । उल्टै पटक–पटक मन्त्रिमण्डल विस्तार गरिरहने र कर्मचारी सरुवा गरिरहने कारणले विकास निर्माण र सेवाग्राहीको काम ओझेलमा पर्ने भ्रष्टाचार, अनियमितता र कमिसनतन्त्र फस्टाउँदै जाने गरेको छ । त्यसको उदाहरण बनेको छ यतिबेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । यस मन्त्रालयका सहसचिव कमल भट्टराईलाई सम्पत्ति सुद्धिकरणमा लगिएको छ । भट्टराई तत्कालीन भन्सार विभागको महानिर्देशक हुँदा एक सय ट्रक कपडाको भन्सार छली राजश्व मार्ने व्यक्ति हुन् । त्यतिबेला अर्थमन्त्री थिए नेकपा माओवादी नेता जनार्दन शर्मा ।

अर्थमन्त्री माओवादीका शर्मा भए तापनि भट्टराई एमाले निकट कर्मचारी थिए । आफू एमाले निकट भएपनि अर्थमन्त्रीलाई रिझाएर भन्सार विभागको महानिर्देशक बन्न सफल भएका थिए । अहिले फेरि तिनै भट्टराई सम्पत्ति सुद्धिकरणको महानिर्देशक बन्न पुगेका छन् । तत्कालीन अवस्थामा भन्सार विभागदेखि विभिन्न मालदार अड्डामा बसेर अकुत सम्पत्ति आर्जन गरेपछि आफ्ना कालाकर्तुत ढाकछोप गर्नको लागि पावर र पैसा प्रयोग गरेर सम्पत्ति सुद्धिकरणको महानिर्देशक बन्न पुगेका छन् ।

अहिलेसम्म जुन पार्टीको सरकार आए पनि यस्तै विभिन्न विवादमा मुछिएका कर्मचारीहरुलाई भन्सार विभाग, सम्पत्ति सुद्धिकरण, राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, ठूला करदाता कार्यालय र निर्वाचन आयोग जस्ता महत्वपूर्ण ठाउँमा मोटो रकम असुलेर नियुक्ति गरिन्छ । त्यसले गर्दा पनि दोषी करार भएकाहरुले सफाइ पाउने र निर्दोषहरुले सजाय पाउने प्रचलन झांगिँदै गएको छ । किन कि कमल भट्टराई तत्कालीन भन्सार विभागको महानिर्देशक हुँदा एक सय ट्रक कपडा नेपाल भित्र्याउँदा भन्सार छली गरेको समाचार त्यतिबेला पत्रपत्रिकामा नआएको होइन ।

यसअघि भट्टराई राजश्व अनुसन्धान विभागको महानिर्देशक बन्न खोजेका थिए । तर, चक्र बुढा, प्रधानमन्त्री कार्यालयमा रहेका अर्जुन भण्डारी र कमल भट्टराईबीच कुरा नमिलेपछि राजश्व अनुसन्धान विभागमा चक्र बुढाले वाजी मारे । अर्जुन भण्डारी अहिले प्रधानमन्त्री कार्यालयमै छन् । भण्डारी कुनै देशको राजदूत बन्ने प्रयास गरिराखेका छन् । तर, भट्टराईले सम्पत्ति सुद्धिकरणको महानिर्देशकमा बाजी मारेका छन् । भट्टराईलाई राजश्व छलीदेखि विभिन्न काण्डमा मुछिएको आरोप लागिरहँदा सम्पत्ति सुद्धिकरण जस्तो ठाउँमा गएर कसरी निष्पक्ष छानविन गर्न सक्छन् ? भन्ने प्रश्न कर्मचारीतन्त्र भित्रै उठ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *