सत्ता प्राप्तिको लागि दलहरुले नेपाली जनतालाई विकास र समृद्धिको ठुलो सपना देखाएर भ्रमित तुल्याएका थिए । त्यस्तो सपना देखाउने दलका नेताहरु आफै नेपालको विकास गर्न सक्ने कारागार नीति र योजना बिहिन भएको कुरा उहाँहरु सत्तामा पुगेपछि मात्रै नेपाली जनतालाई अनुभूति भयो । संधै क्रान्तिको कुरा मात्रै गरी हिडेका दलका नेताहरु वास्तविक रुपमा विकास नीति र योजना बारे अनविज्ञ नै थिए । भाषण गर्नु र सोभाषण अनुसार काम गरी देखाउन सक्नुमा ठुलो अन्तर हुन्छ । शैद्धान्तिक ज्ञान मात्र भएर पुग्दैन सोअनुसार अभ्यास पनि गरी अनुभव बटुलेको हुन जरुरी हुन्छ । राजनीतिक दलका नेताहरु सत्तामा पुगेपछि व्यावहारिक ज्ञानको अभावमा विकास नीति र योजना बारे बिदेशीका दलालहरुबाट प्रभावित भए । फलस्वरुप नेपालको मौलिक विकास गर्ने तर्फ दलका नेताहरुको ध्यान गएन । दलका नेताहरुले विदेशीले मार्गदर्शन गरे अनुसारको विकास नीतिहरु र योजनाहरु माथि नै निर्भर बन्दै गए ।
बिदेशीले नेपालको विकासमा भन्दा पनि आफ्नो मुलुकको व्यापार व्यवसायहरु बढाउनको लागि मात्रै धेरै चासो राख्दै नेपाल राष्ट्र र नेपाली जनतालाई दान, अनुदान र ऋणको जालोमा फसाउँदै लगे । परिणाम स्वरुप नेपाल राष्ट्र र नेपाली जनता माथि बिदेशी ऋणको भारी बोक्नै नसक्ने गरी एकातिर बढ्यो भने अर्को तिर आर्थिक संकटको राप पनि बढ्दै गयो । मौलिक विकास नै दिगो विकास हो भन्ने कुरा दलका नेताहरुले कहिले पनि महसुस गर्न सकेन । नेपालमा आज बनेका विकासका पूर्वाधारहरु भविष्याका सन्ततीहरुको लागि उपयोगी हुनुपर्दछ । राष्ट्रिय ऋणको भारी यसरी बढाउँदै लगेमा भविष्यका नेपाली जनताले तिर्न सक्दैन किनकि दलका नेताहरुले नेपालमा बनाएका पूर्वाधार संरचनाहरु राष्ट्रको खर्च मात्रै बढाउने तर आम्दानी नहुने खालका मात्रै छन् ।
दलहरुको विकासले नेपालका युवापिढीलाई बिदेश पलायन हुनबाट रोक्न सकिरहेको छैन । नेपाली युवाहरु निरास भएर आफ्नो सुन्दर भविष्य खोज्न हुलका हुल बिदेशिने क्रम नेपालको भविष्यलाई नै जोखिम पार्ने गरी बढेको छ । दलका नेताहरुले “ रोम एक दिनमा बनेको होइन “ भन्ने स्थापित उदाहरणलाई नेपालको विकासको सन्दर्भमा उपयोगी बनाउन असफल भए । जल,जमिन, जंगल, जनावर र जनशक्तिले नेपाल राष्ट्र भरपुर भएतापनि दलहरुको कमजोर राजनीतिक नेतृत्वको कारण त्यसबाट फाईदा बिदेशीका दलालहरुले उठाएकाछन । बिभिन्न काल खण्डमा नेपालको शासन सत्ता चलाएका नेपाली राजनीतिका पूर्वजहरुले नेपालको विकासको आधारलाई बलियो बनाउने काम गरेका थिए । अहिलेका शासक वर्गले सोही पुराना धरोहरहरुको पनि संरक्षण गर्न सकिरहेको छैन ।
काठमाडौंका मेयर बालेन शाहाले नेपाली जनताका पूर्खाले बनाएको सोही धरोहरहरुलाई खोज्ने र पुनरस्थापित गर्ने अभियान थालेको हुँदा नेपालका युवापिढीले उहाँलाई आफ्नो नेता मानेका छन । दलका नेताहरु एकातिर नेपालमा आउने पर्यटकहरुको संख्य बढाउन चाहन्छन भने अर्कातिर नेपालमा पर्यटकहरु आउने कारणहरुको बिनास पनि गर्दै लगेकाछन । नेपालको जल, जमिन, जंगल र जनावारहरु हेर्नको लागि पर्यटकहरु नेपाल आउने गर्दछन । त्यस्तै पर्टकहरु नेपाली जनताका पूर्खाले नेपालमा निर्माण गरेका पुराना धार्मिक र साँस्कृतिक धरोहरुहरुको अवलोकन गर्न रुचाउने गर्दछन । संसारमा भएका हरेक राष्ट्रको आआफ्नो धार्मिक र साँस्कृतिक पहिचानहरु हुन्छन जसको अवलोकन गर्नको लागि पर्यटकहरु पैसा खर्च गरी गरी पुग्दछन ।
नेपालको धार्मिक धरोहरहरु वेजोडको भएको हुँदा नेपाललाई पवित्र भूमि देव भूमि पनि भन्ने गरिन्छ । नेपालमा ठुला ठुला ऋषीमुनीहरुको जन्म भएको कुरा धार्मिक ग्रन्थ, वेद् पुराणहरुमा उल्लेख भएको पाईन्छ । नेपाललाई ठुला ठुला ऋषीमुनीहरुले आफ्नो तपोभूमि र कर्मभूमि बनाएको कुरा वेद् पुराणमा उल्लेख गरिएकाछन । सनातनी वैदिक हिन्दूधर्मालम्बीहरुको चार पवित्र क्षेत्र मद्धे दुई क्षेत्र जस्तो मूक्ति क्षेत्र र बराह क्षेत्र नेपालमा छन । भगवान पशुपति नाथको मन्दिरको बारेमा त के कुरा गर्नु त्यो संसार भर प्रख्यात छ । नेपाल राष्ट्रको पहिचान भनेको नै भगवान पशुपति नाथको मन्दिर हो । नेपाल भगवान बुद्धको जन्मभूमि पनि हो ।
संसारले एशियाको उज्यालो मानेको भगवान बुद्धले लगभग २६ सय बर्ष अगाडि नेपालको लुम्बिनीमा जन्म लिनु भएको थियो । यो पनि नेपाल राष्ट्र र नेपाली जनताको ठुलो पहिचान हो । वैदिक सनातनी हिन्दूराष्ट्र भनेर चिनिदै आएको नेपाल राष्ट्रलाई एकाएक दलका नेताहरुले मनमौजी किसिमले धर्मनिरपेक्ष राष्ट्र बनाएपछि नेपालमा धार्मिक विबाद चर्किएको छ । दलहरुले नेपालबाट हटाएको राजतंत्र वैदिक सनातनी हिन्दूधर्मको संरक्षक पनि हो । संसारले यो कुरा माने पनि इसाई धर्मबाट प्रेरित दलका नेताहरुले हिन्दूधर्मलाई राष्ट्रधर्म हुनबाट रोकेकाछन । राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मलाई हटाएपछि पनि नेपालको विकास हुन सकेको छैन । यसबाट के कुरा प्रष्ट हुन्छ भने दलका शिर्ष नेताहरु नेपालको विकास गर्नको लागि सक्षम छैनन् ।
पालैपालो शासन सत्ता सम्हालेको भए पनि दलका शीर्ष नेताहरुले विकास बारे आफै भ्रमित छन । नेपाली जनतालाई भ्रमित तुल्याउँदा तुल्याउँदै दलका नेताहरु अफै भ्रमित भएका छन । उहाँहरु विकास र बिनासको बिचको अन्तरलाई नै चाल पाउन सकेको देखिन्न । दलका नेताहरुले सिंहापुर देखि लिएर स्वीटजरलैंड सम्मलाई आफ्नो विकासको मोडेल मानेका छन । कम्युनिष्टको खाल ओडेका दलका नेताहरु पश्चिमी पुँजीवादी अर्थ व्यवस्था देखि धेरै नै प्रभावित भएकाछन । दलका शीर्ष नेताहरु बेलाबेलामा आफुले विकासको मोडेल मानेका मुलुकहरुको अवलोकन भ्रमणमा जान्छन र उक्त मुलुकहरुको नीति र योजनामा भन्दा भौतिक संरचनामा आफ्नो ध्यान केन्द्रित गर्दछन् ।
त्यसैबाट प्रभावित भएका दलका नेताहरुले नेपालमा फर्के पछि कसैले विकास भनेको सुरुङ मार्गहरु हो भन्छन भने कसैले विकास भने कंक्रिटका अग्ला टावरहरु हो भन्छन । सोही अनुसार नेपालको विकास गर्नको लागि विकास नीतिहरु र योजनाहरु बनाउने गरेकाछन । स्वीटजरलैंड घुमेर फर्केका दलका नेताहरुले नेपालको अविकासको कारण सुरुङ मार्गहरु नभएकाले हो भन्छन । त्यस्तै गरी इन्डोनेशियाको ट्वीनटावर हेरी फर्केका दलका शीर्ष नेताहरुले नेपालको अविकासको कारण त्यस्ता टावरहरु नभएकाले हो भन्ने गरेकाछन । यस्तो प्रभावमा परेका दलका नेताहरुले बनाएका विकास नीतिहरु र योजनाहरुको परिणाम स्वरुप नेपालमा डाँडाको टुप्पो टुप्पोमा अनेक कंक्रिट र स्टीलका टावहरु बनीसकेका छन । अब तिनै नेताहरुको ध्यान सुरुङ मार्ग बनाउने तिर मोडिएको देखिन्छ । केही बर्ष भित्रै नेपाल सुरुङ मार्गमय हुने तरखरमा रहेको देखिन र सुनिन थालेको छ ।
दलहरुको शासन कालमा अनेकौं फजुलका परियोजनाहरुमा राष्ट्रिय ऋणको पैसा लगानी भएकाछन । त्यस्तो फजुलको परियोजनामा रेल मार्ग देखि लिएर अन्तर्राष्ट्रिय विमानस्थलहरु समेत पर्दछन । सिंचाईको लागि भनी बनाईएका रिभरडाईभर्सन परियोजनाहरुमा राष्ट्रिय ऋणको पैसा लगानी भएर निस्क्रिय बनेकाछन । नेपालका मध्यपाहाडमा बनेका ६० प्रतिशत घरेलु विमानस्थलहरुमा व्यापारिक उडान सेवा कहिले पनि भएको छैन । त्यस्ता विमानस्थलहरु बनाउन गरिएको राष्ट्रिय ऋणको लगानी अब भुष हुने अवस्थामा पुगेको छ । त्यसकारण दलका नेताहरुले नेपालको सन्दर्भमा जरुरी विकास भनेको के हो भन्ने कुरालाई पहिले बुझ्नु पर्दछ ।
बिदेशीका दलालहरुले जे जे भन्यो त्यसैलाई विकास सम्झेर आँखा चिम्लेर त्यसमा राष्ट्रिय ऋण लिएर लगानी गर्ने बानी दलहरुले त्याग्नु पर्छ । चली रहेको सडकलाई भत्काएर झन चौडा गर्न जरुरी छ कि छैन भन्ने कुरा दलहरुले विज्ञहरु सित सल्लाह लिएर मात्रै निर्णय लिनु पर्दछ । नेपालको समृद्धि र नेपाली जनताको सुःखका लागि भन्दै बन्ने गरेका परियोजनाहरुले गर्दा नेपाली जनताले नै धेरै दुःख भोगीरहेका छन । तोकिएको समय र पैसामा कहिले पुरा नहुने नेपालको परियोजनाहरुले गर्दा आम नेपाली जनताको जीवन महाकष्टकर बनाउदै लगेको छ । पूर्वमा सुर्यविनायक–धुलीखेल–पाँचखाल सडक खण्डको चौडा गर्ने परियोजनाको कारण धेरै बर्ष देखि त्यो सडक भएर यात्रा गर्ने आम नेपाली जनता साह्रै नै पीडित भईरहेका छन ।
त्यसैगरी काठमान्डौ–पोखरा, मुगलिन– नरायणघाट, नरायानघाट– बुटवल राजमार्गहरु पनि चौडा गर्ने परियोजनाहरुको कारण त्यसतर्फ यत्रा गर्ने नेपाली जनताहरु धेरै बर्ष देखि पीडित भएकाछन । उक्त योजनाहरुको ठेकेदारहरु, कन्सल्टैंटहरु र क्लाईन्ट सडक बिभागको खराब व्यवस्थापनले गर्दा कुनै पनि काम समयमा पुरा हुने गरेको छैन । त्यस्त खराब व्यवस्थापन भएका परियोजनाहरुकै कारण नेपाली जनता पीडित भएका छन । नेपाली जनताको जीवनस्तर उकास्नको लागि भन्दै बनाइएका परियोजनाहरुले गर्दा नै धुलो खान बाद्य नेपाली जनताको जीवन नारकिय बन्न पगेको छ । स्थानीय जनताले सडकको काम चाँडो पुरा गराउनको लागि दबाब हाल्दा समेत पनि संबन्धित सरकारी निकाय सडक बिभागले कुनै वस्ता गरिएको देखिन्न । धुलीखेलका जनताले भत्काएको सचकमा नै बर्षे धान रोपेको पनि धेरै बर्ष बिती सक्यो तर उक्त सडक बनेको छैन र यो साल झनै बिजोग हुने अवस्था देखिन्छ ।
नेपालको अस्थिर राजनीतिबाट उव्जेको अस्थिर नेपाल सरकारको कारण निजामति कर्मचारीहरु काममा भन्दा दाम कमाउन तिर ध्यान लगाउने गर्दछन । परियोजनाको व्यवस्थापन गर्ने भनेको ठेकेदारहरु र कन्सल्टैन्टहरुको समय थप्ने बाहेक अन्य बिषयमा सडक बिभागको ध्यान गईरहेको छैन । उक्त परियोजनाहरुमा सडक बिभागले परियोजनाहरुको व्यवस्थापकिय क्षमता झल्किने गरी काम गरी देखाउने कहिले हो ? अस्थिर सरकार भए पनि त्यसको प्रभावमा सडक बिभाग पर्नु भएन । दलका शीर्ष नेताहरुको मानसपटलमा विकास बारे भ्रान्ति भएपनि विज्ञहरु भएको सडक विभागले दलका शीर्ष नेताहरुको वा बिभागिय मन्त्रीको मार्ग निर्देशन गरी देखाउन सक्नुपर्दछ ।