नेपाली कला र मनोरञ्जनको आकाशमा दिवाकर भण्डारी नौलो नाम होइन । विगत झण्डै तीन दशकदेखि व्यवसायिकरुपमा निरन्तर यसै क्षेत्रमा समर्पित उहाँ हाल मुख्यतः लोकप्रिय टेलिचलचित्र निर्देशक हुनुहुन्छ । अभिनय र लेखनमा पनि उत्तिकै माहिर भण्डारीसँग अन्य विधाको समेत दरिलो अनुभव छ । प्रस्तुत छ नेपाल टेलिभिजनबाट हरेक मंगलवार साँझ ८ः४५ देखि ९ः३० बजेसम्म प्रसारण भइरहेको चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ का कलाकार, लेखक तथा निर्देशक भण्डारीसँग कालिका महतको मन्थनः
तपाईंको परिभाषामा कलाकारिता के हो ?
कलाकारिता र मानव जीवन उस्ताउस्तै हुन् । फरक यत्ति हो कि कलाकारिताले पूरा जीवन, समाज, देश, परिस्थिति थोरै समयमा मन र प्रविधिको माध्यमबाट देखाउने गर्छ भने जीवनले पृथ्वीको रंगमञ्चमा भोगाइ देखाउने गर्छ । त्यसैले मानव जीवन र कलाकारिता एकअर्काको परिपूरक हुन् । कलाकारिता मनोरञ्जनको साधन त छँदैछ यसको अतिरिक्त मानव जीवनको प्राण पनि हो । विभिन्न अनुसन्धानहरूले देखाएका छन् कि कलाकारिताको उपयोगले दर्जनौ रोगको निदान गर्छ । निरोगी व्यक्तिको पनि क्षमतामा बृद्धि गराउँछ । कलाकारिताले गहिरो संवेदना तथा भावनाका सबै पहलूलाई जागृत गर्दछ ।
नेपालको हकमा मानिससँग कलाकारिताको कस्तो नाता छ ?
कलाकारिता र मानिसको सम्बन्ध निकै प्रगाढ छ । त्यो पनि आजदेखिको होइन, ध्वनीको आविष्कारसँगै सुरु भएको हुर्काइ निरन्तर छ । दुखमा होस् वा सुखमा मानिस कलाकारिताको सहारा खोज्छ । कलाकारिताले मानिसका कुण्ठा, मनोभाव र उत्तेजनालाई सन्तुलनमा ल्याउन वा अझ् उत्तेजित बनाउन सहयोग पुर्याउँछ । कलाकारिताले मानव शरीरमा हार्मोनको सन्तुलन कायम राख्न मद्दत गर्छ । स्वास्थ्यमा विभिन्न किसिमबाट सकरात्मक प्रभाव पार्छ । कलाकारिताले शरीरका साथै मन मस्तिष्कमा लाभ पु¥याउँछ । यसमा निरन्तर डुब्दा मनको विकार मेटिन्छ र प्राणीले स्वच्छ निर्मल भएर आनन्दिय अनुभूति गर्दछ । मुख्यतः नेपाली समाजमा कलाकारिताको इतिहास पर्वसँग बढी जोेडिएको पाइन्छ । हाम्रा आफ्नै परम्परा र तिनका चलनमा रहि कलाकारिता परिमार्जितहुँदै पुस्तान्तरण भईरहेको छ । साथै यसको नयाँ–नयाँ विधामा बलियो उपस्थिति हुँदैआएको छ । कुनै समय सडक नाटक, रेडियो, सिडि, भिसिडी, टिभीको भरमा चलेको नेपाली कलाकारिता उद्योग पछिल्लो समयमा निकै विकसित भएको छ ।
तपाईंलेचाहिँ यो क्षेत्रको यात्रा कसरी समात्नुभयो ?
हुन त यस क्षेत्रप्रति मेरो रुचि र सोख सानैदेखिको हो । गाउँघरको औपचारिक पूजाआजा, बिहेबटुलो, चाडबाड आदिमा जसरी पनि पुग्थें र रमाइलो गर्दथें । अनि विद्यालयमा हुने क्रियाकलापमध्ये गायन, नृत्य र अभिनयमा म सदा उत्कृष्ट हुन्थें । आठ कक्षासम्म पुग्दा विद्यालयको साँस्कृतिक कार्यक्रममा प्रायः प्रथम हुन थालें । अनि दशमा पुग्दा विद्यालय, अन्तरविद्यालय, क्षेत्रस्तरीय, जिल्लास्तरीय, अञ्चलस्तरीय आदिमा समेत विजेता अनि सर्वोत्कृष्ट कलाकारको रूपमा धेरै पुरस्कार पाएको छु । तर, मैले तव २०५१ सालमा घरनजिकैका श्री माछापुच्छ्रे माध्यमिक विद्यालयबाट एसएलसी पास गरें तव औपचारिक–व्यवसायिक रुपमा नै यस क्षेत्रमा लुटपुटिएँ ।
त्यसको जग कसरी बस्यो ?
सुरुमा २०५१ सालमा चेतनामूलक सडक नाटक लेखन÷निर्देशन गरें । त्यतिबेला दैनिक ८० रुपैयाँमा काम गरेको हुँ । यसरी २०५६ सम्म गरें । अनि टेलिचलचित्र ‘धुन’ मार्फत अभिनय यात्रा अगाडि बढाएँ । त्यसपछि त दर्जनौ नाटक मञ्चन, लेखन र निर्देशन गरें । २०६१ मा आइपुग्दा ‘एउटै मिल्यो हजारौं हजारमा…’ र ‘दाइ त हङकङको…’ बोलको गीत समावेश गीति एल्बम ‘एउटै मिल्यो हजारौं हजारमा’ ल्याएँ । यसरी टेलिचलचित्रमा अभिनय, सहायक निर्देशन तथा निर्देशनको पाइला बढाएँ ।
कहाँ–कहाँ, कुन–कुन भूमिकामा काम गर्नुभयो ?
क्रमशः २०६६ सालमा नेपाली चलचित्र ‘चिनो’ मा अभिनय गरें । २०६७ मा टेलिचलचित्र ‘मेरी गंगा’ को निर्देशन गरें । यसैगरी २०६८ मा चलचित्र ‘राज’, २०६९ मा ‘कन्यादान’ र २०७० मा ‘नाइँ नभन्नु ल–२’ मा अभिनयमार्फत आफ्नो कला–क्षमता माझें । ‘एके फोट्टी सेभेन’ र ‘गडबडी’ माचाहिँ अभिनयका साथै मुख्य सहायक निर्देशन गरें । यस्तै २०७२÷७३ मा टेलिचलचित्र ‘ल खत्तम’ मा ७२ भागसम्म अभिनय, लेखन र निर्देशन गरें । २०७३ सालपछि भने मुख्यतः हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय, लेखन र निर्देशन गर्दै आइरहेको छु ।
कलाकारिता क्षेत्रमा लागेर अहिलेसम्म के पाउनुभयो र के गुमाउनुभयो ?
मैले अहिलेसम्म जेजति पाएको छु, यो सवै कलाकारिता क्षेत्रबाटै पाएको हुँ । यसमा लागेर पछुताउन पर्नेगरी आजको मितिसम्म केही गुमाएको छन । बरु लाखौं दर्शकको सद्भाव, माया पाएको छु । म त अत्यन्त सन्तुष्ट छु । मेरो बुझाइमा मानिसले जे कर्म गरिरहेको हुन्छ कि त ऊ आफू खुसी हुनका लागि गरिरहेको हुन्छ कि त खुसी भएर सो कर्म गरिरहेको हुन्छ । मेरो हकमा म कलाकारितामा खुसी हुन र खुसी भएर दुवै अर्थका लागि छु । जे गरिरहेको छु, जे गर्दैछु यसमा सन्तुष्ट छु । यद्यपि कलाकारितामा मैले अझै धेरै गर्नु छ ।
यो क्षेत्रमा लागेर तपाईंले अहिलेसम्म समाज–राष्ट्रलाई के दिनुभयो
मैले कलाकारिताको माध्यमबाट अहिलेसम्म जेजति असल कर्म गरिरहेको छु पक्कै पनि यसले समाज र राष्ट्रलाई केही न केही सकारात्मक अंशहरु दिएको छ । आफ्नो कलामार्फत् दिएको योगदानका अतिरिक्त विगत ६ वर्षदेखि ५ जना अनाथ बालबालिकाको अध्ययन÷विद्यालय खर्च पनि व्यहोर्दैआएको छु । यसबाहेक भूकम्प, नाकावन्दी, कोरोना, बाढीपहिरोलगायत महामारी र संकटका बेला सहयोग, उद्धार तथा राहत वितरणजस्ता सामाजिक कार्य समेत गरिरहेको छु ।
अनि समाज–राष्ट्रलेचाहिँ तपाईंलाई के दियो त ?
समाज–राष्ट्रले मलाई धेरै चिज दिएको छ । म अहिले जुन स्थानमा छु यो सवै कलाकारितमा रहेकाले समाज–राष्ट्रले दिएको हो । जस्तो कि र त म नेपाल रेडक्रस सोसाइटी र लोकदोहोरी गीत प्रतिष्ठान नेपालको आजीवन सदस्य छु । यस्तै लाइन्स क्लब, चलचित्र कलाकार संघ अनि टेलिफिल्म कलाकर्मी मञ्चको सदस्य छु । उता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको चाहिँ सचिवालय सदस्य छु । मेरो काम, कला र क्षमताले नै विभिन्न दर्जनौँ सरकारी–गैर सरकारी संस्थाले अभिनन्दन, पुरस्कार र अवार्ड सहित सम्मान गरेका छन् । चर्चित कलाकार तथा निर्देशकको हैसियतमा मैले ‘नेशनल टेलिफिल्म अवार्ड–२०७९’, ‘नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सव सम्मान’, ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीबाट सम्मान–२०७८’, ‘ढिकुरपोखरी समाज सम्मान–२०७८’, ‘ढिकुरपोखरी युवा क्लब सम्मान–२०७६’ आदि प्राप्त गरेको छु । यसका अलावा धेरै कार्यक्रममा कुशल निर्णायकको भूमिका पनि निर्वाह गरेको छु ।