भौतिक मन्त्री महासेठ कामभन्दा कर्मचारी सरुवा र कमिसनमा लिप्त

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका रघुवीर महासेठ जति पटक भौतिक मन्त्री बन्छन् त्यतिनै पटक एउटा न एउटा फन्डा ल्याइहाल्छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री हुँदै नेपालबाट तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेका थिए । त्यतिबेला पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ नै थिए । तत्कालीन प्रधानमन्त्री ओलीले तुइन विस्थापित गर्ने घोषणा गरेको पनि ५ वर्ष बित्न लागेको छ । तर, पनि नेपालका तुइनहरु व्यवस्थापन हुन सकेका छैनन् ।

कांग्रेससँगको गठबन्धन टुटाएर वाम गठबन्धनको सरकार बनेको पनि ४ महिना पुग्न लागिसकेको छ । तर, नेपालका अधिकांश ठाउँमा रहेका तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्न सकेको छैन । अहिले पनि कतिपय ठाउँमा तुइनबाट जोखिमपूर्ण यात्रा गरिराखेका छन् । तुइनबाट जोखिमपूर्ण यात्रा गर्दा कतिपय विद्यार्थीहरुले अकालमा ज्यान गुमाउन वाध्य भएका थिए । अझै पनि यस्ता जोखिमहरु ननिम्तिएलान् भन्न सकिँदैन । तर, नेकपा एमालेबाट भौतिकमन्त्री बनेका रघुवीर महासेठले त्यस्ता जोखिमप्रति ध्यान दिएका छैनन् । रघुवीर जति पटक भौतिकमन्त्री बन्छन् फन्डा ल्याइहाल्छन् । मन्त्री महासेठले भने नयाँ–नयाँ फन्डा ल्याउने, कर्मचारी सरुवा गर्ने, ठेक्कापट्टा आफ्नो हातमा ल्याउने, कमिसन बटुल्ने र पार्टीलाई चन्दा उठाउनेभन्दा अन्य काम गर्न सकेका छैनन् । रघुवीर महासेठ भौतिकमन्त्री बनेको ४ महिना पुग्दानपुग्दै पटक–पटक कर्मचारी सरुवा गरेर जात्रा देखाएका छन् । कर्मचारी सरुवा भदौ, असोजमा मात्रै गर्नुपर्नेमा महत्वपूर्ण ठाउँका कर्मचारी बिनासिजन सरुवा गरिराखेका छन् ।

त्यो गर्नु भनेको कमिसनको भागबन्डा नमिल्नु नै हो । सडक डिभिजन क्षेत्रीय निर्देशनालय काठमाडौंका सुई अर्जुन अर्याललाई रिपमा सरुवा गरिएको छ । त्यस्तै ज्ञानेन्द्र झालाई क्षेत्रीय निर्देशनालयमा ल्याइएको छ । त्यो पनि आर्थिक वर्षको अन्त्यतिर आएर । त्यसैगरी मध्येपहाडी लोकमार्ग आयोजनाका कुवेर नेपालीलाई करिरोडमा सरुवा गरिएको छ भने थानेश्वर गौतमलाई मध्येपहाडी लोकमार्ग आयोजनामा लगिएको छ । भौतिक मन्त्रालय अन्तर्गत पर्ने विभिन्न आयोजना र योजना प्रमुखहरु कतिबेला कहाँ सरुवा भइन्छ भन्दै थर्कमान भएका छन् । मन्त्री महासेठले ठेक्का लागेर निर्माणाधीन रहेका आयोजना, योजनाको काम छिटोछरितो ढंगले गर्नुपर्ने ठाउँमा उल्टै बेसिजनमा कर्मचारी सरुवा गरेर विकास निर्माणलाई अलपत्र पार्ने काम गर्दै आएका छन् ।

त्यसैगरी आर्थिक वर्षको अन्त्य हुन लाग्दासमेतं डिभिजन सडक कार्यालय दाङ, पोखरा र डुम्रेवेशी जस्ता ठाउँका सडक निर्माणको ठेक्का यो वर्ष लाग्न सकेन । वर्षायाम सुरु भइसकेको छ, सडकमा खाल्डाखुल्डी त्यत्तिकै रहेका छन् । त्यसैगरी धुलिखेलबाट सिन्धुली, रामेछाप, ओखलढुङा, खाटाङहुँदै पूर्व जाने र सिन्धुली, डकाहाहुँदै पूर्व जाने सडक मर्मत सम्भार नभएर लथालिङ्ग अवस्थामा गुज्रिइरहेका छन् । त्यस्तै थानकोटबाट पोखरा, बाग्लुङ, रुकुम, रोल्पा, सल्यान, प्युठानहुँदै पश्चिमतिर जाने सडकहरु पनि मर्मत सम्भार नहुँदा जिर्ण अवस्थामा गुज्रिइरहेका छन् । तर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले भने त्यतातिर ध्यान नदिएर खाली कर्मचारी सरुवा गर्ने, नयाँ ठेक्का नलगाउने, पुराना ठेकेदारहरुबाट कमिसन खाने काम गर्दै आएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *