महत्वपूर्ण ठाउँमा विवादित व्यक्तिलाई नियुत्ति गर्दा, सरकार आलोचित

राजनीति समाचार

टेलिकम र धितोपत्र बोर्डको नियुक्तिमा ठूलै रकमको चलखेल
काठमाडौं । पाँच दलीय गठबन्धन सरकार बनेको सय दिन नपुग्दै नेकपा एमाले र माओवादी केन्द्रबीच मुनमुटाव सुरु भएको छ । मनमुटाव सुरु हुनुको मुख्य कारण एउटा बजेटलाई लिइएको छ, अर्को रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछालेमाथि सहकारी ठगी काण्डको छानविन समिति बनाएको विषय हो । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रविलाई सहकारी ठगीकाण्डबाट जोगाउनको लागि हरेक पहल गरिरहेका छन् ।

ओलीले रविलाई जोगाउन मरिहत्ते गर्नुको मुख्य कारण रास्वपाका कार्यकर्ता एमालेतिर तान्न खोज्नु हो भने अर्कोतिर सहकारी ठगीमा रविलाई दोषी देखाउँदा एमालेका धेरै नेता, कार्यकर्ता फस्ने डर छ । त्यसैगरी जनमत पार्टीका अध्यक्ष सिके राउतलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउन खोज्नुको कारण तराइँमा एमालेको बिग्रिएको सम्बन्ध सुधार्नु हो । ओलीको त्यस्ता हर्कतले गर्दा गठबन्धन सरकारभित्र खटपट सुरु भएको छ ।

यो गठबन्धन सरकारले तीन महिना पार गरी सक्दा पनि देश र जनताको लागि स्पष्ट खाका ल्याउन सकेको छैन । उल्टै यौनकाण्डमा मुछिएका कृष्णमान प्रधानलाई निर्वाचन आयोगको रिक्त सदस्य पदमा नियुक्त गरिएको छ । त्योसँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा मोलमोलाईबीच खटपट भएको छ । त्यस्तै भ्रष्टाचारको आरोपमा अदालतले सजाय गरेका डा. रमेशप्रसाद सिंहलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ति गरिएपछि एमाले र माओवादीबीच विवाद सिर्जना भएको छ । प्रधानमन्त्रीले सुशासनको विषय उठाइरहँदा महत्वपूर्ण निकायमा विवादित छवि भएका पात्रहरुलाई नियुक्ति गरिनुले गठबन्धन सरकारभित्र असन्तुष्टि बढ्दै गएको देखिन्छ । उता नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा पनि पैसाको आडमा सम्बन्धित क्षेत्रको अनुभव नभएका व्यक्ति ल्याउन खोज्नुले पनि सरकारभित्र खटपट सुरु हुनु हो ।

एकातिर यो अवस्था छ भने अर्कोतिर भ्रष्टाचार र बेथितिले मुलुक डामाडोल भइरहेको छ । वर्षायाम नजिकिएसँगै बाढीपहिरोको भय त्यत्तिकै छ । त्यो जोखिमबाट कसरी जनतालाई जोगाउने भन्नेतिर सरकारको ध्यान गएको छैन । सरकारमा सामेल दलहरु खाली कमिसन खान र सत्तालिप्साको भागबन्डामै व्यस्त रहेका छन् । महंगी र बेथितिले जनताहरु सधैं प्रताडित भइरहँदा नेताहरुको काम सत्ता कसरी जोगाउने र कार्यकर्ता कहाँ सेटिङ गर्ने भनेर समय बिताइरहेका छन् । त्यसले गर्दा पनि नेपालमा विकास निर्माणका योजनाहरु सधैं अलपत्र पर्ने गरेका छन् । अलपत्र मात्रै परेका छैनन् ठेक्कापट्टामा सेटिङ गरेर आफ्नो पार्टीलाई चन्दा र कार्यकर्तालाई फाइदा पु¥याउने काम गर्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *